मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
डा. पारसमणि श्रेष्ठ, मिर्गौला शल्यचिकित्सक वीर अस्पताल
लक्ष्मी बलायर काठमाडाैं
२०७६ चैत ५ बुधबार १०:४७:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

किन हुन्छ मिर्गौलामा पत्थरी ?

Read Time : > 1 मिनेट
लक्ष्मी बलायर, काठमाडाैं
२०७६ चैत ५ बुधबार १०:४७:००

मिर्गौला (किड्नी) हाम्रो शरीरको महत्वपूर्ण अंग हो । यसमा पत्थरी (स्टोन) हुँदा अत्यधिक दुखाइ हुन्छ । मिर्गौलामा पत्थरीको समस्या सबै उमेरसमूहका मानिसमा देखा पर्न सक्छ । ३० देखि ६० वर्षको उमेरसमूहका व्यक्तिमा भने बढी नै देखिन्छ ।

कारण

  • पानी कम पिउने मानिसलाई मिर्गौलाको पत्थरी हुने सम्भावना हुन्छ ।
  • नुन र प्रोटिन धेरै भएका खानेकुरा खाने व्यक्तिमा पत्थरी हुने सम्भावना हुन्छ ।
  • वंशानुगत कारणले पनि पत्थरी हुने गर्छ ।
  • भौगोलिक कारणले नेपालमा पत्थरीको समस्या देखा परेको छ । जस्तै– नेपालमा पश्चिमका मानिसलाई पूर्वको तुलनामा पत्थरीको समस्या धेरै देखिने गरेको छ । 

लक्षण

  • कोखातिर अत्यधिक दुखाइ हुनु ।
  • पत्थरी हुँदा दुखाइ एकनासको हुँदैन । कुनै वेला धेरै दुख्छ भने कुनै वेला कम दुख्छ ।
  • पिसाबमा रगत देखा पर्र्छ, इन्फेक्सन हुन्छ र पिसाब फेर्न कठिनाइ हुन्छ ।
  • मिर्गौलामा इन्फेक्सन भएर पिपसमेत आउने गर्छ ।
  • दुख्दा वाकवाकीसमेत लाग्छ ।

बच्ने उपाय 

  • अत्यधिक प्रोटिन भएका खानेकुरा धेरै नखाने । 
  • समय–समयमा शुद्धीकरण गरेको पानी पिइराख्ने गर्नुपर्छ ।
  • मोटोपन घटाउने ।
  • जीवनशैलीमा ध्यान दिने, सधैँ सक्रिय रहने । 
  • कागती, सुन्तला, मौसम, ज्यामिर, भोगटे आदि केस्रा जातका फलफूल हुन् । यिनीहरूमा साइटिक एसिड हुन्छ । यसले पत्थरी हुन दिँदैन । त्यसैले यस्ता फलफूल प्रशस्त खाने गर्नुपर्छ ।
  • ताजा फलफूलको जुस खाने ।
  • पत्थरीको समस्या देखिनेबित्तिकै अस्पताल जाने ।

किन हुन्छ अत्यधिक दुखाइ ?

- मिर्गौलामा पत्थरी हुँदा ढुंगा गएर पिसाबथैलीसम्म पिसाब जाने बाटो छेकिदिन्छ । जसका कारण पिसाब राम्रोसँग बाहिर आउन पाउँदैन र दुखाइ हुन्छ । यद्यपि, ढुंगा मिर्गौलाको कुनाकाप्चामा भएको वेला भने दुखाइ हँुदैन । तर, ढुंगा मिर्गौलाबाट पिसाब फाल्ने मुखमा पुगेपछि अत्यधिक दुखाइ हुने गर्छ । यो दुखाइलाई ‘सबैभन्दा ठूलो दुखाइ’ मानिन्छ । यस्तो वेला महिलाले बच्चा जन्माउँदाको व्यथाभन्दा पनि बढी दुखाइ हुन्छ । मिर्गौलामा हुने पत्थरीले दैनिक जीवनलाई निकै कठिन बनाउने गर्छ ।

- यदि मिर्गौलाको पत्थरी चार–पाँच एमएमभन्दा सानो छ भने औषधि र पानीको प्रयोगले बगेरै जाने सम्भावना हुन्छ । तर, बगेर जाने पक्का भने हुँदैन । जब त्यही ढुंगा मिर्गौलाबाट बगेर तल आउँछ, तब पिसाब फाल्ने बाटो हुन्छ । सोही बाटो छेकिएपछि दुखाइ हुने गर्छ ।

- हाम्रो रगत फिल्टर गरेर विकारयुक्त पदार्थ बाहिर निकाल्ने काम मिर्गौलाले गर्छ । पत्थरी हुँदा पनि मिर्गौलाले पिसाब बनाउन छोड्दैन । यद्यपि, पिसाबद्वार ढुंगाले छेकेपछि पिसाब बाहिर आउन पाउँदैन र दुख्न थाल्छ । केही पिसाब बाहिर निस्कन्छ भने केही भित्रै हुन्छ । जसले गर्दा इन्फेक्सन भई मिर्गौला सुन्निन जान्छ । मिगौैलालाई समेत पातलो बनाउँदै लैजान्छ । यस्तो अवस्थामा मिर्गौला फेल भएर फाल्नुपर्ने अवस्था पनि आउन सक्छ । 

- मिर्गौलाको पत्थर निकालेपछि पनि त्यो फेरि भित्र रहन्छ भन्ने आमधारणा पाइन्छ । यो गलत हो । तर, जुनसुकै प्रविधिबाट उपचार गरेर पत्थर फालिए पनि आफ्नो जीवनशैलीमा परिवर्तन गरिएन भने फेरि पत्थरी हुन सक्छ । यसप्रति भने सावधान हुन आवश्यक छ ।