मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७६ चैत ५ बुधबार ०७:०८:००
Read Time : > 2 मिनेट
राजनीति

प्रदेश २ को नाम र राजधानीमा शक्ति परीक्षण

दुईतिहाइ नपुग्दा टुंगिएन नाम र राजधानी

Read Time : > 2 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७६ चैत ५ बुधबार ०७:०८:००

प्रदेश २ को नामका लागि पेस गरिएका चारवटै प्रस्ताव अस्वीकृत भएका छन् । प्रदेश सभामा मंगलबार भएको गोप्य मतदानमा कुनै पनि प्रस्तावको पक्षमा दुईतिहाइ नपुगेपछि सबै पक्ष अस्वीकृत भएका हुन् । सबैभन्दा पहिले जानकी, दोस्रोमा मिथिला–भोजपुरा, तेस्रोमा मध्यमधेस र चौथोमा मधेस प्रदेश प्रस्ताव गरिएको थियो । १ सय ७ सांसद रहेको प्रदेश २ मा नाम र राजधानीका लागि ७२ मत आवश्यक पर्छ ।

सतारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रस्ताव गरेको मधेस प्रदेशको पक्षमा ६० र विपक्षमा ४६ मत परेको छ भने एक मत बदर भएको छ । प्रदेशको सबैभन्दा ठूलो दल नेकपाले प्रस्ताव गरेको जानकी प्रदेशको पक्षमा ३७ र विपक्षमा ७० मत परेको छ । कांग्रेसले प्रस्ताव गरेको मिथिला–भोजपुरा प्रदेशकोे पक्षमा २८ र विपक्षमा ७९ मत परेको छ । कांग्रेसकै सांसद नागेन्द्र यादवले प्रस्ताव गरेको मध्यमधेस प्रदेशको पक्षमा ४२ र विपक्षमा ६५ मत परेको छ ।
प्रदेश सभामा नेकपाको ३२, समाजवादीको ३०, राजपाको २५, कांग्रेसको १९ र रिजवान अन्सारी नेतृत्वको संघीय समाजवादी पार्टीको एक सिट छ । 

कांग्रेस सांसदले धोका दिएको सत्तारुढ दलको आरोप
सत्तारुढ दल समाजवादी र राजपाका नेताहरू आफ्नो प्रस्तावमा कांग्रेसले सहयोग गर्नेमा विश्वस्त थिए । समाजवादी, राजपा र कांग्रेसका शीर्ष नेताहरूबीच दुई दिनअघि भएको छलफलमा कांग्रेसले आन्तरिक रूपमा सहयोग गर्ने आश्वासन दिएको थियो । नेकपाका नेता प्रभु साहनिकटका केही सांसदले पनि सत्तारुढ दललाई सहयोग गर्ने आश्वासन दिएको स्रोतको दाबी छ ।

मतदान गोप्य हुने भएकाले प्रस्ताव पास हुने विश्वास सत्तारुढ दलहरूको थियो । तर, प्रदेश सभा बैठकअघि नेकपा र कांग्रेसले दलको बैठक राखेर पार्टी निर्णयभन्दा तलमाथि नगर्न निर्देशन दिएका थिए । नेकपा संसदीय दलको बैठकमा सांसदहरूलाई पार्टीको झन्डा नै छुवाएर मधेस प्रदेशको विपक्षमा मतदान गर्न शपथ खुवाइएको एक सांसदले बताए । नेकपाले पार्टीका सबै सांसदलाई एकैचोटी मतदानमा सहभागी हुनसमेत निर्देशन दिएको थियो । सुरुमा मतदान गर्न गएका नेकपा सांसदद्वय किशोरी साह र दिलीप साहले एक–अर्कालाई ब्यालेट देखाउने प्रयास गरेका थिए । त्यसको सत्तारुढ दलले विरोध जनाएपछि एक–अर्कालाई ब्यालेट देखाउने काम रोकिएको थियो । 

प्रदेशको नाम र राजधानीको विषयमा सहयोग गर्न कांग्रेसले मुख्यमन्त्री मोहम्मद लालबाबु राउतसँग सत्तामा शेयर मागेको स्रोतको दाबी छ । तर, मुख्यमन्त्री राउतले आफू एक्लैले निर्णय गर्न नसक्ने र त्यसका लागि सत्ता सहयात्री दल राजपासँग पनि राय लिनुपर्ने जवाफ दिएका थिए । कांग्रेसका एक सांसदले भने, ‘हामी सरकारलाई प्रदेश सभादेखि संघीय संसद्मा पनि मधेसवादी दलहरूलाई सहयोग गर्न तयार थियौँ । तर, जुन प्रस्ताव गरेका थियौँ, त्यो प्रस्तावमा प्रदेश सरकारले कुनै रेस्पोन्स नै दिएन ।’

मधेस प्रदेशको प्रस्तावमा कांग्रेसका सांसदहरूले सबभन्दा पछि मतदान गरेका थिए । ती सांसदले भने, ‘अन्तिम समयसम्म पनि सरकारको जवाफको प्रतीक्षामा थियौँ, तर सरकारबाट कुनै रेस्पोन्स नै नआएपछि हामी बाध्य भएर आफ्नै एजेन्डामा कायम रह्यौँ ।’ पार्टीले कडाइ गरेपछि मध्यमधेस प्रदेशको प्रस्ताव गरेका सांसद पनि पार्टीकै एजेन्डामा सहमत भई मधेस प्रदेशको विपक्षमा मतदान गरेको उनले बताए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादवले कांग्रेस पनि मधेसविरोधी पार्टी भएको आरोप लगाए । ‘नेकपाले हामीलाई सहयोग गर्दैन भन्ने थाहा थियो,’ उनले भने, ‘तर, मधेस र मधेसी जनतासँग राम्ररी भिजेको कांग्रेसले मधेसी जनताको भावना र मधेसी सहिदको अपमान गर्छ भन्ने लागेको थिएन ।’ 

सत्तारुढ र विपक्षीको राजधानीसम्बन्धी संयुक्त प्रस्ताव पनि अस्वीकृत
प्रदेश २ को स्थायी राजधानीका लागि चारवटै दलले संयुक्त रूपमा गरेको प्रस्तावसमेत अस्वीकृत भएको छ । सत्तारुढ दल समाजवादी र राजपा तथा विपक्षी दल नेकपा र कांग्रेसले संयुक्त रूपमा जनकपुरसहित मिथिला माध्यमिकी परिक्रमा ढल्केवर पूर्वमा लोकमार्ग र दक्षिणमा भारतीय सिमानासँग जोडिएको क्षेत्रलाई राजधानीका रूपमा प्रस्ताव गरेका थिए । तर, मंगलबार राति भएको मतदानमा पक्षमा ५२ र विपक्षमा पनि ५२ मत परेको छ भने तीन मत बदर भएको छ ।

प्रदेशको नामकरणमा विपक्ष दलहरूले सहयोग नगरेपछि सत्तारुढ दल राजधानीसम्बन्धी आफ्नै प्रस्तावको विपक्षमा उभिएको छ । राजधानीको सम्बन्धमा  विपक्षी दल नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, कांग्रेस संसदीय दलका नेता रामसरोज यादव र सत्तारुढ दलको तर्फबाट राजपा सांसद परमेश्वर साहले संयुक्त रूपमा प्रस्ताव पेस गरेका थिए ।

समाजवादी सांसद सिंहासन सा कलवारले पेस गरेको राजधानीको प्रस्तावमा वीरगन्जदेखि विन्धवासिनी, पोखरिया, सखुवा, पर्सागढी, जितपुर हुँदै सिम्रौनगढसम्म क्षेत्र तोकिएको छ । कांग्रेस सांसद राजेश्वरप्रसाद साहले समेत वीरगन्ज महानगरपालिका क्षेत्र तोकेर राजधानी प्रस्ताव गरेका थिए ।

नामसम्बन्धी चार प्रस्ताव 

  •  मधेस       पक्ष ६० र विपक्षी ४६ बदर १ 
  •  जानकी      पक्ष ३७ र विपक्ष ७०
  •  मिथिला–भोजपुरा    पक्ष २८ र विपक्ष ७९ 
  •  मध्यमधेस      पक्ष ४२ र विपक्ष ६५ 

राजधानीसम्बन्धी तीन प्रस्ताव

  •  जनकपुर पक्षमा ५२ विपक्षमा ५२ बदर ३ 
  •  वीरगन्जदेखि सिम्रौगढसम्म पक्ष ३७ विपक्ष ६९ गयल १ 
  •  वीरगन्ज महानगरपालिका पक्ष ३३ विपक्ष ७४