Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ चैत ४ मंगलबार १७:००:००
Read Time : > 1 मिनेट
समाचार

लागुऔषध कारोबारी पक्राउ

Read Time : > 1 मिनेट
२०७६ चैत ४ मंगलबार १७:००:००

लागुऔषध कारोबारमा वर्षौंदेखि सक्रिय रहेकी वीरगञ्जकी ५२ वर्षीया मैयादेवी श्रेष्ठलाई लागुऔषध नियन्त्रण ब्युरो काठमाडौंको कलंकीबाट पक्राउ गर्न सफल भएको छ । 

गत शनिबार दिउँसो लागुऔषधसहित पक्राउ परेकी मैयादेवीलाई प्रहरीले लामो समयदेखि नियन्त्रणमा लिने प्रयास गरेको थियो । प्रहरीले उनीसँगै नेपालमा लामो समयदेखि लागुऔषधको कारोबारमा सक्रिय दुई भारतीयलाई पनि पक्राउ गरेको छ ।

को हुन् मैयादेवी श्रेष्ठ ?

लागुऔषध नियन्त्रण ब्युरोका निमित्त प्रमुख एसएसपी वसन्त लामाका अनुसार नेपालमा लामो समयदेखि लागुऔषधको कारोबार गर्नेमा पर्छिन् मैयादेवी । शनिबार पक्राउ परेकी मैयादेवी खानेतेल राख्ने (फ्चयुन लेखिएको ) ग्यालिनमा लुकाएर काठमाडौं ल्याउँदै गरेको तीन हजार थान लागुऔषधसहित पक्राउ परेकी हुन् । 

२०७० मा लागुऔषधसहित पक्राउ परेकी उनले दुई वर्ष जेलजीवन पनि बिताएकी हुन् । त्यसयता पनि उनले लागुऔषधको कारोबार निरन्तर जारी राखेको प्रहरीले जनाएको छ । 

ब्युरोले मैयादेवीलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ । पर्सा वीरगञ्ज महानगरपालिका– १४ स्थायी घर भएकी श्रेष्ठ लागुऔषधसहित यसअघि पनि पटकपटक पक्राउ पर्दै छुट्दै गरेकी थिइन् ।

नेपालमा लागुऔषध भित्रिने प्रमुख नाकाहरूमा वीरगञ्ज नाका एक मानिन्छ । मैयादेवीले यही नाका हुँदै भारतीय व्यापारीको मिलोमतोमा लागुऔषधको कारोबार गर्दै आएकी थिइन् । 
मैयादेवीसँगै पक्राउ परेका अन्य दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएपछि कारोबारीको थप जालोसम्म पुग्न सकिने आशा प्रहरीले गरेको छ । 

यसरी पुग्यो तस्करसम्म प्रहरी 
प्रहरीले विशेष सूचनाका आधारमा गत २० फागुनमा काठमाडौंको बालाजुबाट लागुऔषध कारोबारी नुवाकोट सूर्यगढी– ५ का २५ वर्षीय सरोज पौडेल, सिन्धुपाल्चोक इन्द्रावती– ४ का २२ वर्षीय उर्मिला तामाङ, धादिङ नीलकण्ठ– १ का २१ वर्षीय राजकुमार गुरुङ, महोत्तरी मटिहानी– ८ का ३८ वर्षीय इम्तियाज नदाफलाई पक्राउ गरेको थियो । उनीहरूले प्रहरीलाई अन्य दुईजनाबारे जानकारी दिए । 

त्यसका आधारमा प्रहरीले २२ फागुनमा सिन्धुपाल्चोक थाङपाल ७ का राजीव तामाङ र ओखलढुंगा सिद्धिचरण– ७ का सरोज राईलाई पक्राउ ग¥यो । उनीहरूले नै मैयादेवीबारे जानकारी दिएपछि प्रहरी उनलाई पक्रन सफल भएको हो । 

मैयादेवीसँगको बयानपछि प्रहरीले भारत बिहार मोतीयारी चम्पारणका विशाल कुमार र रामविकास कुमार रामलाई नियन्त्रणमा लिन सक्यो । उनीहरूसँग सोधपुछ जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुई भारतीय नागरिक ठूलो परिमाणमा लागुऔषध कारोबारमा सक्रिय भएको प्रहरीको अनुमान छ । 

१० दिनमा १२ जना पक्राउ
लागुऔषध नियन्त्रण ब्युरोले पछिल्ला १० दिनमा गरेको अपरेसनमा १२ जना लागुऔषध कारोबारी तथा मतियारलाई नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट ठूलो मात्रामा लागुऔषधसमेत बरामद भएको प्रहरीले जनाएको छ ।