मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७६ चैत ४ मंगलबार १३:३१:००
Read Time : > 2 मिनेट
समाचार

सम्पत्तिका कारण छोराले बाबु र सौतेनी आमाको हत्या गरेको खुल्यो

Read Time : > 2 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७६ चैत ४ मंगलबार १३:३१:००

सम्पत्तिका कारण आफ्नै छोराले बाबु र सौतेनी आमाको हत्या गरेको खुलेको छ । गत १४ फागुनमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ झलारी कलुवापुरका भण्डारीदम्पतीको बीभत्स हत्या भएको थियो । 

५२ वर्षीय जयलाल भण्डारी र २२ वर्षीया उनकी कान्छी श्रीमती धनादेवी भण्डारीको हत्या उनकै जेठा छोराले गरेको खुलेको हो । भण्डारीकी जेठी श्रीमतीपट्टिका २६ वर्षीय छोरा भरतबहादुर भण्डारीले नै सौतेनी आमा र बाबुको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

जयलालको नाममा पूर्वपश्चिम महेन्द्र राजमार्गसँगै जोडिएको दुई बिघा जमिन थियो । करोडौँको अचल सम्पत्ति भएका भण्डारी परिवारमा सम्पत्तिबारे किचलोसमेत थियो । उनको पहाडमा समेत लाखौँको अचल सम्पत्ति थियो ।

सोही सम्पत्तिको किचलोका कारण आफ्नै पिता र सौतेनी आमाको हत्या उनका छोराले गरेका प्रहरीले जनाएको छ ।

घटनाको २० दिनमा अभियुक्त सार्वजनिक
घटना घटेको २० दिनमा कञ्चनपुर प्रहरीले सो घटनाका मुख्य अभियुक्त भरतबहादुर भण्डारीलाई सार्वजनिक गरेको हो । सोमबार भण्डारीदम्पती हत्याका मुख्य अभियुक्त भरतबहादुर भण्डारीलाई कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको हो । 

‘घटना घटेलगत्तै प्रहरीको निगरानीमा रहेका भरतलाई आइतबार डडेल्धुराबाट पक्राउ गरेर कञ्चनपुर ल्यायौँ,’ कञ्चनपुर प्रहरी प्रमुख मुकुन्द मरासिनीले भने, ‘मुख्य अभियुक्त उनलाई अनुसन्धानपछि सार्वजनिक गरेका हौँ ।’ 

घटनाको अनुसन्धानका लागि कञ्चनपुरका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायक उपरीक्षक रवीन्द्र पौडेलको कमाण्डमा प्रहरी निरीक्षकद्वय सुरज कार्की र धर्मेन्द्र रावलसहितका प्रहरी अधिकृत एवं कर्मचारी खटिएका थिए । 

भरतलाई अमरगढी नगरपालिका– २ जुगेनास्थित घरबाटै पक्राउ गरेर कञ्चनपुर ल्याइएको हो । 

प्रहरीसँग भरतले हत्या गरेको स्वीकार गरेका छन् । प्रहरी प्रमुख मरासिनीले प्रतिवादी भरतसँगको प्रारम्भिक सोधपुछका आधारमा अंशबन्डा, सम्पत्ति भोगचलन, पारिवारिक झगडा, बेमेल, घरायसी सल्लाहबिनै बाबुले दोस्रो विवाह गरेकोजस्ता विषयमा भण्डारी परिवारमा विवाद चुलिएको थियो । 

चार वर्षअघि बाबुविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा 
बाबुसँग चार वर्षअघि ०७३ सालमा पनि भरतको झगडा भएको थियो । मृतक जयलाल भण्डारीले छोरालाई खुकुरी प्रहार गरेपछि भरतले बाबुविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेका थिए । 

मुद्दा दर्ता भए पनि उनीहरूबीच पछि मिलापत्र भएको प्रहरीले जनाएको छ । बाबुसँग त्यतिवेला मिलापत्र गरेर भरत वैदेशिक रोजगारीमा गएका थिए । जयलाल भण्डारीकी श्रीमतीको क्यान्सरबाट मृत्यु भएपछि उनले दुई वर्षअघि धनादेवीसँग विवाह गरेका थिए । 

धनादेवीबाट ६ महिने छोरी ममता भण्डारी छिन् । बाबुले दोस्रो विवाह गरेपछि भरत पुख्र्र्यौली घर डडेल्धुरा बस्दै आएका थिए ।

मदिरा सेवनपछि बाबुआमाको हत्या
डडेल्धुरामा तरकारी खेती गर्दै आएका भरत १३ फागुनमा सवारीचालक अनुमतिपत्रको परीक्षा दिन मोटरसाइकलमा महेन्द्रनगर आएका थिए । १४ गते बिहान ट्रायल परीक्षा दिएर अनुत्तीर्ण भएपछि उनी घरका आफन्तसँग भेटघाट गरी घर जान्छु भन्दै डडेल्धुरा हिँडे । 

अत्तरिया पुगेर उनी पुनः सम्पत्तिको विषयमा कुराकानी गर्छु भन्दै फर्किर बाबुकोमा पुगेका थिए । बीचबाटोमा मदिरा सेवन गरेका भरतले बाबुसँग सम्पत्तिको विषयमा कुराकानी गरेको प्रहरीले जनाएको छ ।

राति ८ः३० देखि ९ बजेको बीचमा घटना भएको प्रहरीले जनाएको छ । 

बाबु पल्लो घरमा सुत्न गएपछि भान्साकोठामा रहेकी सौतेनी आमासँग विवाद हुँदा भरतले उनीमाथि ढुंगा प्रहार गरेर घाइते बनाए । लगत्तै घाँटीमा हँसिया प्रहार गरेर हत्या गरिदिए । सौतेली आमाको हत्या गरेर उनले सुतिरहेका बाबुलाई समेत सोही हतियार प्रयोग गरेर हत्या गरेको प्रहरीको भनाइ छ । 

बाबुआमाको हत्या गरेपछि उनी सोही राति भरत डडेल्धुरा लागे । हातमा पञ्जासहित रहेका भरतले हतियारसमेत कपडामा लुकाएर डडेल्धुरातर्फ गएको र हतियार भासुको भिरमा फालिदिए । 

आफूले लगाएका लुगासमेत डडेल्धुरास्थित आफ्नो घरनजिकै जलाएका थिए । 

हत्यारा छोराले नै गरे बाबुआमाको किरिया 
आफ्नै बाबु र सौतेनी आमाको हत्या गरेर पहाडको घर डडेल्धुरा पुगेका भरत १५ फागुन साँझ पुनः कलुवापुर आए । दोस्रो दिन शनिबार बनहरानदीमा शव अन्त्येष्टि गरेपछि दुवै छोराहरू किरियाका लागि पुनः डडेल्धुरा गए । 

अभियुक्त भरत र उनका भाइ जगदीश दुवैजना किरिया गर्न डडेल्धुरा गएका थिए । भरतले बाबुआमाको किरिया गरेका थिए । किरिया संस्कार सकेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

हेडफोनको सहायताले प्रहरी हत्यारासम्म पुग्यो 
भरतले सौतेनी आमा धनादेवीसँग भान्साकोठामा झगडा गरेर हत्या गरेका थिए । भरतले बोकेको हेडफोन त्यहीँ खस्यो । घटनालगत्तै प्रहरीले घटनास्थल सिल गरेपछि हेडफोन फेला पारेको थियो ।

‘हामीले घटनास्थलमा हेडफोन फेला पारेका थियौँ,’ कञ्चनपुरका प्रहरी प्रमुख मराीिनीले भने, ‘हेडफोनलाई भरतको मोबाइलसँग भिडाइयो र मिल्यो, एकै कम्पनीका रहेछन् ।’ 

यसलगायत अन्य प्रमाणका आधारमा हत्या भरतले नै गरेको देखिएको उनले बताए । 

‘घटना घटेको दिन लगाएको कपडा खोइ ? भन्दा अभियुक्तले हामीलाई दिन सकेनन्,’ उनले भने, ‘भरतले घटना घटाएकै दिन लगाएका कपडा जलाइसकेका रहेछन् ।’ विभिन्न कोणबाट अनुसन्धान गर्दा भरत नै हत्यामा संलग्न देखिएको र उनले स्वीकारसमेत गरेपछि प्रहरीले उनलाई सार्वजनिक गरेको उनले बताए ।