मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तस्बिर : कर्फ्यु पश्चात सुनसान पनौती बसपार्क
२०७६ चैत ४ मंगलबार ११:४७:००
Read Time : < 1 मिनेट
समाचार

टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि पनाैती तनावग्रस्त, झडपमा ७ जना घाइते

Read Time : < 1 मिनेट
२०७६ चैत ४ मंगलबार ११:४७:००

पनौती बसपार्कमा सोमबार अपरान्ह टिपरले ठक्करबाट आमा–छोरीको मृत्यु भएको घटनालाई लिएर आक्रोसित भिडले ढुंगामुढा गरेपछि प्रहरीले हवाई फायर, अश्रुग्याँस र गोलीसमेत चालाएर स्थिति नियन्त्रणमा लिएकाे छ ।

भिडलाई नियन्त्रणमा लिने क्रममा सुरुमा प्रहरीले १२ राउण्ड हवाई फायर र १७ सेल अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले बताए ।

सो क्रममा दोहोरो झडप हुँदा प्रहरी र सर्वसाधारण गरी सातजना घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले मंगलबार बिहान ९ बजेदेखि अनिश्चितकालिन कर्फ्यु घोषणा गरेको छ । 

झडपमा घाइते भएकामध्ये चारजना उपचारपछि घर फर्केका छन् । तीनजनाकाे उपचार जारी छ । डिएसपी थापाले भने ‘गोली एकतर्फी चल्यो वा दुवैतर्फ चल्यो भन्ने विषयमा हामी अनुसन्धान गर्दैछौं ।’

सोमबार भएको घटनाले मंगलबार पनि तनाव बढ्नेभन्दै कर्फ्यु जारी गरेकाे काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । ‘परिस्थिति फेरि भड्कन सक्ने भएकाले बिहान ९ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यु लगाएका छौं,’ उनले भने । 

पनौतीमा सोमबार दिउँसो टिपरको ठक्करबाट पैदलयात्री आमा–छोरीको मृत्यु भएको थियाे । बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा.५ख ५४८० नम्बरको टिपरले पनौती नगरपालिका–५ बसपार्कमा ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका खानिखोला गाउँपालिका– १ बस्ने २६ वर्षीया जुनीमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिका तामाङको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।