मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ३ सोमबार २०:२१:००
Read Time : > 1 मिनेट
समाचार

कन्चनपुरको सुख्खा क्षेत्रमा यसै वर्ष सिँचाई पुर्‍याउँछौं : प्रदेश सांसद प्रकाश रावल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ३ सोमबार २०:२१:००

 कन्चनपुर निर्वाचन क्षेत्र नम्बर–३  ‘क’ का सांसद् प्रकाश रावल भीमदत्त नगरपालिकाका सुक्खा क्षेत्रमा सिँचाई लग्ने योजना बनाउन संघीय राजधानीमा दौडधुप गरिरहेका छन् ।

अनामनगरको चिया पसलमा त्यो योजनामा उनका केही सहयोगीले सघाइरहेका थिए । कालो चियाको चुस्की लगाउँदै उनले सहयोगीलाई योजना सुनाउँदै थिए, ‘भीमदत्त नगरपालिकाको उत्तरी क्षेत्रमा यसै वर्ष सिँचाई पुर्‍याउनु छ, ता कि बाँझो बसेको जमिन प्रयोगमा आओस् ।’

भीमदत्त नगरपालिकाको वडा नम्बर १, २, ७, ८, ९ र १० मा सिँचाई अभावका कारण धेरै जमिन उपयोग हुन सकेका छैनन् । जति उपयोग भएका छन्, त्यहाँ आकाशे वर्षाबाहेक अर्को विकल्प छैन । त्यसले गर्दा किसानले उचित उत्पादन लिन सकेका छैनन् । कृषिबाट आम्दानी हुन नसकेपछि भारतमा मजदुरी गर्नुपर्ने बाध्यता छ ।

रावल ती जमिनमा सिँचाई पुर्‍याएर कृषि उत्पादन बढाउनुपर्ने योजनामा छन् । जसले गर्दा भारतका विभिन्न सहरमा मजदुरी गर्नुपर्ने बाध्यताबाट उनीहरूले मुक्ति पाउन सकुन् । समस्याको पोयो खोल्दै गर्दा रावल एकाएक गम्भीर बने । भने, ‘उत्पादनसँग नजोडी स्थानीयको दुःख दूर हुन्न । यसको दीर्घकालीन समाधान सिँचाई नै हो । वर्ष दिनभित्र नै यहाँका जमिन पूर्ण सिञ्चित क्षेत्र बन्ने छन् ।’

प्रदेश सांसदले निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट तीन करोड रुपैयाँ खर्च गर्न सक्ने कानुनी प्रावधान छ । यसमध्ये रावलले सिँचाईका लागि मात्रै दुई करोड रुपैयाँ विनियोजन गरेका छन् । जसबाट सुक्खा क्षेत्रमा प्राथमिकताका आधारमा ३४ वटा डिप बोरिङ भइसकेको छ । बाँकी रहेका क्षेत्रमा यसै वर्ष डिप बोरिङ गरिसक्ने उनको लक्ष्य छ ।

उनले भने, ‘यस क्षेत्रमा पानीको आफ्नै स्रोत छैन । महाकाली वा कर्णाली नदीबाट सिँचाईको पानी त्यहाँ लग्न सकिन्न । त्यसो हुँदा डिप बोरिङको विकल्प छैन । यसका लागि दुई करोड रुपैयाँ विनियोजन भइसकेको छ । सोही रकमबाट ३४ स्थानमा डिप बोरिङ भइसकेको छ । बाँकीमा यही आर्थिक वर्षभित्र डिप बोरिङ भइसक्ने छ ।’

भीमदत्तका गाउँमा शुद्ध पिउने पानीको उत्तिकै समस्या छ । प्यास मेट्न सर्वसाधारण अशुद्ध पानी पिउन बाध्य छन् । जसबाट वर्सेनि धेरैले अकालमै ज्यान गुमाउछन् । डिप बोरिङको पानी प्रशोधन गर्न सकिए मात्रै पनि शुद्ध पिउने पानीको अभाव मेटिने थियो । स्थानीयको प्यास मेटाउने अर्को योजना अघि सार्दै रावलले भने, ‘पानी समेत खान नपाउनु भनेको आधारभूत अधिकारबाट पनि वञ्चित हुनु हो । तर, भीमदत्तका सर्वसाधारण यो समस्याबाट वर्षौंदेखि आक्रान्त छन् । डिप बोरिङको पानी मात्रै प्रशोधन गर्न सकिए पनि यो समस्या हल हुने थियो । हामी अहिले यसैमा लागेका छौँ ।’