मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रेम चन्द काठमाडौं
२०७६ चैत ३ सोमबार १९:०३:००
Read Time : > 4 मिनेट
अर्थ

पेट्रोलियम पदार्थको अभाव : व्यवसायीको बदमासी, अनुगमन निगमको डिपोमा 

Read Time : > 4 मिनेट
प्रेम चन्द, काठमाडौं
२०७६ चैत ३ सोमबार १९:०३:००

नेपालमा पनि कोरोनाको प्रकोप बढ्न सक्ने डब्ल्युएचओको चेतावनीपछि नेपाली बजारमा ग्यासलगायतका उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरिएको छ । 

कोरोनाकै कारण पेट्रोलको माग घटेकाले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटिरहेको छ । तर, नेपालका उपभोक्ता भने ग्यास र पेट्रोल लिन घन्टौँ लाइनमा बस्न बाध्य हुन थालेका छन् । 

अन्तर्राष्ट्रिय बजारको प्रभावस्वरूप नेपाली बजारमा पनि मूल्य घट्ने भएपछि यहाँका व्यवसायीले पेट्रोलको समेत कृत्रिम अभाव सिर्जना गरी मौकाको फाइदा उठाउन थालेका छन् । 

पेट्रोलियम पदार्थको सरकारी आपूर्तिकर्ता नेपाल आयल निगमले दैनिकजसो पेट्रोलियम पदार्थको पर्याप्त आपूर्ति भइरहेको जनाए तापनि उपभोक्तामा कुनै राहत हुन भने सकेको छैन । 

एकातर्फ पर्याप्त आपूर्ति भएको दाबी र अर्काेतर्फ उपभोक्ता लाइनमा सेकिनुपर्ने अवस्थालाई सम्बोधन गर्न निगमसहित कुनै पनि सरकारी निकायले अनुगमन थालेको छैन । 

नियामक नेपाल आयल निगम भने ग्यास र पेट्रोलको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई कारबाही गर्नुको सट्टा उल्टै उनीहरूसँग मिलेर अनियमितता गर्ने विक्रेताको ढाकछोपमा लागेको उपभोक्ता अधिकारकर्मीले आरोप लगाएका छन् । 

नाफाको लोभले पेट्रोल ठप्प
नेपाल आयल निगम र नियामक उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मुलुकभरि नै सबै वस्तुको आपूर्ति व्यवस्था सहज रहेको दाबी गर्दै आएको छ । 

आपूर्तिमन्त्री लेखराज भट्टले आइतबार अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ग्यास, पेट्रोललगायतका कुनै पनि वस्तुको अभाव नरहेको दाबी गरेका थिए । 

सबै वस्तुको आपूर्ति व्यवस्था सहज रहेको मन्त्री भट्टको दाबी थियो । उनको भनाइअनुसार उपभोक्ताले ग्यास र पेट्रोल सहजै पाउनुपर्ने हो । तर, अवस्था सोमबारसम्म पनि त्यस्तो भने छैन ।

सरकारले उपभोक्ता दिवस मनाइरहँदा पेट्रोल व्यवसायीले पेट्रोलको कारोबार नगरेर काठमाडौं उपत्यकामा पेट्रोलको कृत्रिम अभाव सिर्जना गरिदिए । 

उक्त समस्या सोमबार पनि देखियो । तर, नेपाल आयल निगमले सामान्य अवस्थामा जस्तै आइतबार पनि पेट्रोल व्यवसायीले निगमको थानकोट डिपोबाट पेट्रोल वितरण गरिएको तथ्यांक देखाएको छ । 

निगमका अनुसार आइतबार निगमको डिपोबाट आठ लाख ३२ हजार किलोलिटर पेट्रोल वितरण गरिएको थियो । आइतबार वितरण गरिएको उक्त पेट्रोल यसअघिका दिनहरूमा गरिने वितरणको परिमाणकै हाराहारीमा हो ।

यसअघि शुक्रबार नौ लाख ३३ हजार लिटर र बिहीबार ६ लाख १७ हजार लिटर पेट्रोल थानकोट डिपोबाट वितरण गरिएको डिपो प्रमुख विनीतमणि उपाध्याय बताउँछन् ।

निगमले दिएको तथ्यांकअनुसार त उपत्यकाका उपभोक्ताले पेट्रोल सहज रूपमा पाउनुपर्ने थियो । तर, व्यवहारमा भने त्यस्तो देखिएको छैन । 

निगमको डिपोबाट वितरण गरिए पनि बजारमा अधिकांश पेट्रोलपम्पहरूले ‘पेट्रोल छैन’ उल्लेख गरिएको स्टिकर टाँस गरेका थिए । केही पम्प त बन्द थिए । 

जानाजान पेट्रोल उपलब्ध नगराउने र सेवा बन्द गर्ने त्यस्ता पम्पहरूमाथि सरकारी निकायको हस्तक्षेप हुन सकेको छैन । 

व्यवसायीले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटिरहेकाले नेपालमा पनि मूल्य घट्ने आकलन गर्दै आइतबार र सोमबार पेट्रोलको कारोबार झन्डै ठप्पजस्तो पारेका हुन् । 

सोमबार भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलको नयाँ मूल्यसूची पठाउने व्यवसायीलाई थाहा नहुने कुरै भएन र मूल्य घटेर आउने सम्भावना पनि निश्चितजस्तो देखिन्छ । 

यद्यपि यसबारे निगमले निर्णय गर्न भने बाँकी छ । मूल्य घटेपछि पुरानो पेट्रोललाई नयाँ मूल्यसूचीअनुसार बिक्री गर्नुपर्ने र त्यसो गर्दा नाफा कम हुने भएकाले व्यवसायीले पेट्रोलको कारोबार ठप्प पारेका हुन् । 

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि यहाँका व्यवसायीले निगमका कर्मचारीलाई प्रभावमा पारेर ठूलो परिमाणमा इन्धन मौज्दात राखेर यसअघि पनि विक्री ठप्प पारेका थिए । नाफाका लागि मात्र व्यवसायीले दिनदहाडै गैरव्यावसायिक गतिविधि गर्दा गर्दै पनि आपूर्तिजस्तो संवेदनशील विषयमा सरकारी मौनतालाई रहस्यका रूपमा हेर्न थालिएको छ । 

मौकाको फाइदा उठाउँदै व्यवसायीले गरेको गैरव्यावसायिक गतिविधिमा सरकारी निकायका अधिकारीको संलग्नता रहेको ठहर केही उपभोक्ता अधिकारकर्मीले गरेका छन् । 

कहाँ जाँदै छ ग्यास ?
कोरोनाकै कारण बजारमा अत्यधिक माग बढेकाले उपभोक्ताले सहज रूपमा ग्यास पाउन छोडेका छन् । 
ग्यास आपूर्तिमा पनि पेट्रोलको अवस्थाजस्तै हालत देखिएको छ । सरकारले पर्याप्त मात्रामा ग्यासका बुलेटले आपूर्ति गरिरहेको बताए तापनि उपभोक्ता एक सिलिन्डर ग्यास पाउन दौडिरहेका देखिन्छन् । 

निगमले उपलब्ध गराएको ग्यास आयातको अवस्था हेर्दा बजारमा ग्यासको अभाव हुनै नपर्ने हो । 

आइतबार मात्रै विभिन्न कम्पनीका गरी एक सय ५६ बुलेट ग्यास नेपाल भित्रिएका छन् । १८ हजार किलोग्राम ग्यास क्षमताको एक बुलेट हुने गरेको छ । त्यसरी २८ लाख आठ हजार किलोग्राम ग्यास आयात भएको थियो । 

एउटा ग्यास सिलिन्डर १४ दशमलव २ किलोग्राम क्षमताको हुन्छ । आइतबार मात्रै आयात ग्यासले एक लाख ९७ हजार सात सय ४६ ग्यास सिलिन्डर मज्जाले भर्न सकिन्छ । आइतबार आयातीत ग्यासबाट करिब तीन लाख सिलिन्डर बजारमा पठाउन सकिन्छ । 

त्यसबाहेक बिहीबारदेखि आइतबारसम्म कुल पाँच सय चार बुलेट ग्यास मुलुकभरि नै बजारमा पठाइएको निगमको दाबी छ । ग्यासको उक्त परिमाणअनुसार बिहीबारदेखि आइतबारसम्म मात्रै ६ लाख ३८ हजार ८ सय ७३ सिलिन्डर भरिएका छन् । 

हाल नेपालमा प्रमाणीकरण भएका कुल सिलिन्डर संख्या एक करोड दुई लाख २२ हजार सात सय ४३ वटा रहेको छ ।

मुलुकमा रहेका कुल सिलिन्डरको करिब ६ प्रतिशत सिलिन्डर चार दिनमा मात्रै भर्न सकिने परिमाणमा ग्यास आयात भएको तथ्यांकले देखाए तापनि बजारमा आपूर्ति सहज भने हुन सकेको छैन । आखिर यसमा रहस्य के छ ? भन्नेमा कसैले भेउ पाउन सकेका छैनन् । 

विगतका कठिन क्षणको अनुभवलाई हेर्दा यसमा पनि व्यवसायी र निगमका अधिकारीकै मिलोमतोमा ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको हुन सक्ने आशंका उपभोक्ता अधिकारकर्मीको छ । 

सर्वसाधारणले ग्यास नपाउने अवस्था रहे पनि ग्यास व्यवसायीले होटेल, रेस्टुरेन्ट क्षेत्र र पहुँचवालाहरूलाई मौज्दात राख्ने गरी ग्यास उपलब्ध गराइरहेको स्रोतले जनाएको छ । 

मिलेमतोमा बदमासी ढाकछोप गर्ने प्रपञ्च
पहुँचवालालाई ग्यास उपलब्ध गराउने र मूल्य घट्ने भनेर पेट्रोलको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई निगमले कारबाही गर्न कुनै पहल गरेको छैन । 

उल्टै व्यवसायीको मिलेमतोमा विक्रेताको बदमासी ढाकछोप गर्ने प्रपञ्च आयल निगमले रचेको छ । बदमासी ढाकछोपकै प्रयासस्वरूप निगमले सोमबार संसदीय समितिलाई हातमा लिएर थानकोटस्थित निगमकै डिपो अनुगमन गर्न पुग्यो । 

ग्यास र पेट्रोल वितरण गरिसकेपछि उपभोक्ताले सहज रूपमा नपाएको गुनासो बढेपछि त्यसको अनुगमन गरी आवश्यक कारबाही गर्ने दायित्व स्वाभाविक रूपमा आयल निगमको हो । 

‘आयात भएको ग्यास र वितरण गरिएको पेट्रोल कहाँ गइरहेको छ ?’ भन्ने चासो निगमलाई हुनुपर्ने हो । तर, निगम भने संसदको उपभोक्ता समितिलाई प्रभावमा पारी थानकोटस्थित आफ्नै डिपो अनुगमन गर्न लागेर व्यवसायीले गरिरहेको बदमासी ढाकछोपमा लागेको छ । 

यद्यपि यसलाई व्यवसायीको बदमासी ढाकछोप गर्ने अर्थ लाउन नमिल्ने बताउँछन् निगमका निमित्त निर्देशक नेत्र काफ्ले । ‘ढाकछोप भन्न मिलेन,’ काफ्ले भन्छन्, ‘संसदीय समितिले नै मागअनुसार वितरण भए–नभएको हेर्छौँ भनेको हो ।’

व्यवसायीले बदमासी गरिरहेको उपभोक्ताको गुनासोबीच संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बद्ध समितिका सदस्यहरू विमल श्रीवास्ताव, देवेन्द्र पौडेल, प्रकाश रसाइलीलगायतको एक समूह सोमबार थानकोटतिर सोझियो । र, थानकोट डिपोबाट पेट्रोलियम पदार्थ वितरणको तथ्यांक संकलन गरेर फर्किएको समितिले बताएको छ ।

समितिका सदस्य एवं अनुगमनमा सहभागी सांसद प्रकाश रसाइलीले सोमबार डिपोबाट केही तथ्यांक संकलन गरेर ल्याइएको र त्यसको आधारमा विक्रेताहरूमा पनि अनुगमन गरिने बताए । 

‘पहिले सरकारले वितरण गरेको छ कि छैन ? भनी हेरेर आयौँ,’ उनले भने, ‘पेट्रोल वितरणमा सरकारको कुनै कमी पाइएन । अर्को दिन ग्यासको तथ्यांक पनि लिएर सबै विक्रेताकहाँ अनुगमनमा जान्छौँ ।’