मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ३ सोमबार १५:२४:००
Read Time : > 1 मिनेट
अर्थ

असिनापीडित किसानलाई विचलित नहुन मन्त्री अर्यालको ढाडस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ३ सोमबार १५:२४:००

कृषि बालीमा असिनाले पुऱ्याएकाे क्षतिलाई लिएर नआत्तिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कृषकसँग आग्रह गरेकी छिन् ।

स्याङ्जाको फेदिखोला गाउँपालिकामा शनिबार राति परेको असिनापानीले कृषकको बालीमा पुर्याएकाे क्षतिको सोमबार स्थलगत निरीक्षण गर्दै मन्त्री अर्यालले कृषकसँग यस्तो आग्रह गरेकी हुन् ।

शनिबार राति आएको हावाहुरीसहित परेको असिनापानीले गाउँपालिकाका वडा १, २, ३, ४, ५, ९ क्षेत्रमा क्षति पुऱ्याएकाे थियो ।
 
टनेल बनाएर खेती गरिएको काउलीलगायत सागसब्जी, सुन्तलाका रूख र डालेघाँसका बोटमा असिनापानीले क्षति पुर्याएकाे छ ।

असिनापानीले क्षति पुऱ्याएकाे स्थानमा पुगेर मन्त्री अर्यालले कृषकलाई क्षतिबाट विचलित नहुनसमेत आग्रह गरेकी छिन् ।

‘तपाईंहरू कृषि क्षेत्रमा ऊर्जाका साथ लाग्नुभयो । यो कार्यको म उच्च प्रशंसा गर्दछु । अहिले प्राकृतिक विपत् आएर ठूलो क्षति पुऱ्याएकाे छ,’ मन्त्री अर्यालले भनिन्, ‘यो क्षतिबाट तपाईंहरू कत्ति पनि विचलित नभई फेरि पनि ऊर्जाका साथ लाग्नुस् । राज्यले तपाईंहरूलाई सहयोग गर्छ ।’

कृषिमा निर्धक्क लगानी गर्दै कृषिमार्फत देशलाई समृद्धितर्फ लान फेदिखोलावासी कृषिमा लागेको भन्दै उनले कृषकको हौसला बढाइन् ।

मन्त्री अर्यालले गाउँपालिकाको सबै क्षेत्रमा पुगेको क्षतिको मूल्यांकन गरेर विवरण पेस गर्न प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, कृषि कार्यालयका प्रमुख, गाउँपालिका प्रमुखलाई निर्देशन दिएकी दिएकी छिन् ।

क्षतिको सम्पूर्ण विवरण आइसकेपछि संघ, प्रदेश र स्थानीय तहको समन्वयमा कृषकलाई उचित क्षतिपूर्ति दिइने मन्त्री अर्यालले प्रतिबद्धता व्यक्त गरिन् । 

वडा ४ का अध्यक्ष माधव शर्माका अनुसार असिनापानीले वडा १ मा ६० प्रतिशत, वडा २ मा ५५ प्रतिशत, वडा ३ मा ५० प्रतिशत कृषि बालीमा क्षति भएको छ ।

वडा ४ मा सबैभन्दा बढी र ५ मा सबैभन्दा कम क्षति भएको तथा १–२ वटा घरमा चट्याङ परे पनि क्षति नभएको वडाध्यक्ष शर्माले जानकारी दिए ।