१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
पुरुषोत्तम गिरी
२०७५ माघ ७ सोमबार १०:५७:००
Read Time : > 1 मिनेट
प्रदेश

गाउँपालिकाले ल्यायो ‘कृषि कपुरकोट’ एप्स

Read Time : > 1 मिनेट
पुरुषोत्तम गिरी
२०७५ माघ ७ सोमबार १०:५७:००

कपुरकोट गाउँपालिकाले कृषकलाई लक्षित गरी आइतबारबाट मोबाइल एप्लिकेसन सुरु गरेको छ । ‘कृषि कपुरकोट’ नाम रहेको मोबाइल एप किसानले आफ्नो स्मार्टफोनमा डाउनलोड गरेर मौसम, कृषि र प्रविधिसम्बन्धी जानकारी लिन सक्नेछन् । 

इन्टरनेट भएको स्थानमा पुगेर एकपटक डाउनलोड गरेपछि अफलाइन सेवामार्फत घरमै बसी किसानले विविध जानकारी लिन सक्ने प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले जानकारी दिए । एप्समा कृषि प्रविधि, विज्ञ सुझाब तथा च्याट, कृषि सूचना–समाचार, बजार भाउ, मौसम पूर्वानुमान, कृषि तालिम, कृषि दस्ताबेज, ग्यालरी, अत्यावश्यक फोन नम्बर तथा विज्ञ विवरणसम्बन्धी जानकारी उपलब्ध छ । 

‘एप्समार्फत किसानले कृषिविज्ञसँग च्याट गरी आफ्ना समस्या राख्न तथा फोन गरेर पनि समाधानका उपाय पहिल्याउन सक्छन्,’ प्रमुख प्रशासकीय अधिकृत रिजालले भने, ‘कपुरकोट क्षेत्रको कृषिलाई माथि उठाउन एप्लिकेसनले ठूलो सहयोग पु-याउने हाम्रो अपेक्षा छ ।’ ताजा तरकारी र फलफूल खेतीका लागि ख्याति कमाएको कपुरकोटका किसानलाई नयाँ–नयाँ प्रविधिबारे जानकारी गराउन र खेती गर्दा आइपर्ने समस्या तत्काल समाधान गरी घाटा हुन नदिन एप्स उपयोगी हुने गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले बताए । 

सूचना तथा सञ्चार प्रविधिमा आएको परिवर्तनसँगै किसानको हातहातमै सूचना पु-याउन आफ्नै लगानीमा गाउँपालिकाले ‘कृषि कपुरकोट’ एप्स बनाएको हो । अध्यक्ष सेनले भने, ‘किसानका लागि यो एउटा महत्वपूर्ण एप्स हो । सबैले आफ्नो स्मार्टफोनमा डाउनलोड गर्ने तथा अरूलाई पनि यो एप्स राख्न सूचना प्रवाह गर्ने काम गर्नुपर्छ ।’ एप्स सार्वजनिक गर्न आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष सेनले एप्लिकेसनमा नयाँ–नयाँ जानकारी तथा विवरण थप गर्न र किसानका समस्या समाधान गर्न कृषि, पशुसेवा शाखाका प्राविधिकहरूलाई निर्देशन दिए । 

अनुसन्धानबाट प्राप्त उन्नत तथा उत्पादनशील कृषि प्रविधिको जानकारी र असल सिकाइहरू किसानबीच हस्तान्तरण गर्न एप्स उपयोगी मानिएको छ । कृषकलाई प्रविधिसँग जोड्न ल्याइएको यस एप्सले किसानले कुनै समस्याको प्रश्न पठाए उत्तर पनि दिने भएको हुँदा किसानलाई सहज बनाउने कपुरकोट गाउँपालिकाको अपेक्षा छ ।

कृषि साथीका रूपमा आएको यस एप्सलाई प्रयोग गरेर किसानहरूले प्रविधिको विकाससँगै आफूलाई पनि अपडेड गर्नुपर्ने गाउँपालिकाका सूचना प्रविधि अधिकृत बुद्धिराज पौडेलको धारणा छ । उपसर्ग टेक्नोलोजी प्रालिका म्यानेजिङ डाइरेक्टर युवराज आचार्यले कृषिसँग सम्बन्धित मोबाइल एप्स अन्य निकायले ल्याए पनि स्थानीय तहमध्ये नेपालमै पहिलोपटक यस्तो एप्स सार्वजनिक भएको दाबी गरे ।