१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
पुरातत्व विभागले पुनर्निर्माण गरिरहेको दोलखाको बिगु गुम्बा ।
२०७६ चैत २ आइतबार १८:४६:००
Read Time : > 1 मिनेट
अर्थ

भारतीय बैंकले जिम्मा लिएको ५५ गुम्बाको पुनर्निर्माण अनिश्चित

Read Time : > 1 मिनेट
२०७६ चैत २ आइतबार १८:४६:००

भूकम्पपछि दोलखाका ५५ वटा गुम्बाको पुनर्निर्माण गर्ने जिम्मा भारतको एक्जिम बैंकले पाएको थियो तर बैंकले बजेट उपलब्ध नगराएपछि ती गुम्बाहरूको पुनर्निर्माण अनिश्चित भएको छ । 

एक्जिम बैंकले भूकम्पबाट भत्किएका दोलखाका ८६ गुम्बामध्ये ५५ वटा गुम्बाको पुनर्निर्माण गर्ने जिम्मा लिएको थियो । तर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको दोलखास्थित अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयले एक्जिम बैंकले बजेट उपलब्ध नगराएपछि गुम्बा पुनर्निर्माणको काम अघि बढ्न नसकेको जनाएको छ ।

प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले एक्जिम बैंकको सहयोगमा दोलखाका ५५ वटा गुम्बा पुनर्निर्माण गर्न १९ करोड ८५ लाख ४५ हजार बजेट उपलब्ध हुने विवरण पठाएको थियो । जिल्ला आयोजना कार्यान्वयन इकाई दोलखाका लेखा अधिकृत लालबहादुर रायका अनुसार उक्त बजेट प्राप्त नभएपछि प्राधिकरणले स्रोतान्तर गरेर बजेट व्यवस्था गर्ने विषयमा छलफल भइरहेको छ ।

कार्यालयका प्रमुख गणेश अर्यालका अनुसार प्राधिकरण आफैँले १० वटाको मर्मत कार्य गरिरहेको छ । त्यस्तै केही गुम्बाको भने पुनर्निर्माण पुरातत्व विभागले गरिरहेको छ । पुरातत्वले भिक्षु उत्पादन गर्ने नेपालकै पहिलो बिगु गुम्बा र विशेष महत्वको चरीघ्याङ गुम्बाको निर्माण व्यवसायीमार्फत पुनर्निर्माण गरिरहेको छ ।

एक्जिम बैंक र पुरातत्व विभागबाहेक प्राधिकरण आफैँले पुनर्निर्माण गर्ने भनिएका करिब डेड दर्जन गुम्बाको समेत काम सुरु हुन सकेको छैन । बिगुस्थित मगर गुम्बा भवन नहुँदा कटेरोमा मुर्ति राखेर नियमित पूजापाठको काम भइरहेको स्थानीय निमटासी शेर्पाले बताए ।

सात स्वास्थ्य संस्थाको पुनर्निर्माण पनि अन्योलमा 
एक्जिम बैंकको सहयोगमै पुनर्निर्माण गर्ने सम्झौता भएका जिल्लाका सातवटा स्वास्थ्य संस्थाहरूको समेत पुनर्निर्माण अन्योलमा परेको छ । दोलखाको सिंगटी र सुरीमा निर्माण हुने भनिएका प्राथमिक स्वास्थ्य केन्द्र भवन एक्जिम बैंकले बजेट उपलब्ध नगराएकै कारण अन्योलमा परेको प्राधिकरणको जिल्लास्थित भवन कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख इन्जिनियर अर्जुन तामाङले चारवटा स्वास्थ्य चौकी भवन, दुई प्राथमिक स्वास्थ्य केन्द्र र एक आयुर्वेदिक औषधालय निर्माणका लागि एक्जिम बैंकले बजेट पठाउने विवरण आएको थियो । तर अहिलेसम्म पनि बजेट उपलब्ध नहुँदा काम अघि नबढेको भन्दै उनले एक्जिम बैंककै सहयोगमा पुनर्निर्माण हुने भनिएका केही विद्यालय भवनको काम पनि ठप्प रहेको बताए । स्वास्थ्य संस्थाहरूका लागि स्थानीयले जग्गा उपलब्ध गराइसकेकोसमेत इन्जिनियर तामाङले जानकारी दिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सह–प्रवक्ता मनोहर घिमिरेले एक्जिम बैंकसँग आवश्यक परामर्श भइरहेको भन्दै सरकार र बैंक मिलेर बाँकी संरचना पुनर्निर्माणको काम अघि बढाउने बताए । उनले केही समयभित्रै ती संरचनाहरूको पुनर्निर्माणको काम अघि बढ्ने पनि दावी गरे ।