१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २ आइतबार १८:१९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

कोरोना भाइरस नियन्त्रण गर्न स्वास्थ्य सामग्रीको अभाव भएको मुख्यमन्त्रीहरुको गुनासो   

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २ आइतबार १८:१९:००

नोभल कोरोना (कोभिड १९)बाट हुुन सक्ने सम्भावित संक्रमण नियन्त्रणका लागि सवास्थ्य सामग्रीहरुको अभाव रहेको प्रदेश सरकारहरुले बताएका छन् ।

नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा प्रदेश सरकारका मुख्य मन्त्रीहरुले कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य सामग्रीहरुको अभाव रहेको बताएका हुन् । 

नजिकको बजारमा तत्काल स्वास्थ्य सामग्रीहरु उपलब्ध नहुने र खरिद प्रकृया पनि झण्झटीलो र जटिल भएकाले छोटो विधिबाट खरिद गर्ने व्यवस्था मिलाउन उनीहरुले आग्रह गरे। त्यस्तै स्वास्थ्यकर्मिहरुको बीमा देखि अन्य सामाजिक सुरक्षाका कुराहरु व्यवस्थित गर्न समेत माग गरेका छन् ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबाहदुर शाहीले भाइरस परिक्षणका लागि काठमाडौं ल्याउनुपर्ने अवस्थामा देशभर कोरोना भाइरस फैलिएमा सम्भव नहुने भन्दै प्रत्येक प्रदेशमा एउटा ल्याबको व्यवस्था गर्नुपर्ने माग राखेको बताए । 

उपचारमा प्रयोग हुने सवास्थ्य सामग्रीको अभाव भएको र कोरोना संक्रमण भएकालाई उपचार गर्न छुट्टै अस्पतालको व्यवस्था गर्नुपर्ने विषयमा समेत छलफल भएको उनले जानकारी दिए ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले व्यवस्थित ढंगबाट संघ, प्रदेश र स्थानीय तहको बीचमा समन्वय गरेर प्रभावकारी रुपबाट सावधानी अपनाउने र उपचारको लागि तयारी गर्ने विषयमा छलफल केन्द्रीत भएको बताए । 

प्रधानमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयका सचिव नारायण प्रसाद बिडारीले संघ, प्रदेश र स्थानीय तहले कोरोना भाइरस संक्रमणबाट बच्न अझ प्रभावकारी रुपमा काम गर्ने एकवद्धता जनाएको जनाए ।  नागरिक सचेतना कार्यक्रम गर्ने, कोरोना भाइरसबाट संक्रमण भएको पाइए उपचारलाई व्यवस्थित बनाउने, नाकाको आवागमनमा निगरानी र कडाई गर्ने विषयमा छलफल भएको उनले जानकारी दिए ।

स्वास्थ्य निगरानी र प्रयोगशालाको स्थितिलाई अझ सुधृढ पार्दै लैजाने र सातै प्रदेशमा प्रयोगशाला बनाउने तर्फ योजनावद्धरुपमा काम अगाडि बढाउने निर्णय भएको उनले बताए । त्यस्तै आपूर्ति व्यवस्थालाई सहज र नियमित राख्न तीन वटै तहबाट नियमित अनुगमनको काम गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो । 

बैठकमा अन्तर्राष्ट्रिय नाका र हवाई अड्डाहरुमा अपनाइएको सुरक्षाको विषयमा समेत छलफल भएको थियो । त्यस्तै प्रदेशहरुमा आइसोलेटेड बेडहरुको व्यवस्था गर्ने विषयमा गरिएको तयारीका विषयमा मुख्यमन्त्रीहरुले जानकारी गराएका थिए । त्यस्तै क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा गरिएको पूर्वतयारीका विषयमा समेत छलफल भएको थियो ।