मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन प्यासी काठमाडाैं
२०७६ चैत २ आइतबार ११:०४:००
Read Time : > 3 मिनेट
नयाँCity

नेपाली सिनेमा : मेकिङमा अझै आलोकाँचो शैली

Read Time : > 3 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७६ चैत २ आइतबार ११:०४:००

भर्खरै ओस्करमा सर्वोत्कृष्ट अवार्ड जितेर बोंग जु–होको दक्षिण कोरियन सिनेमा ‘प्यासाराइट’ले इतिहास लेख्यो । यसअघि नै सिनेमाको सर्वत्र चर्चा भइसकेको थियो । सिनेमालाई लिएर अनेक कोणबाट समीक्षा भए । सबैभन्दा बढी वर्तमान पूजीवादी राज्यव्यवस्था र त्यसले सृजित जीवनबारे बढी समीक्षा भए ।

सिनेम्याटोग्राफीको पनि चर्चा उस्तै भयो । सिनेमाको कथा बुझ्न सब–टाइटल नचाहिने दृश्यहरुको निर्माणमा सिनेम्याटोग्राफीको देन हुने नै भयो । ‘प्यारासाइट’ले ओस्करभन्दा अघि नै क्यान्स जितेको थियो । क्यान्समा प्रमुख जुरी थिए अलेकजान्द्रो गेन्जालोज इनारितु । इनारितु उनै हुन्, जसले सन् २०१५ मा सर्वोत्कृष्ट निर्देशकको ओस्कर अवार्ड जितेका थिए, ‘बर्डम्यान’ मार्फत् ।

बर्डम्यानमा मुख्य कलाकार मनोवैज्ञानिक रोग सिजोफ्रेनियाको विरामी छ । सिजोफ्रेनियाको विरामीले सोच्दा निरन्तर सोच्छन् । उसको त्यही निरन्तर सोचाइअनुसार इनारितुले क्यामेरा निरन्तर चलाए । इनारिताको सबैभन्दा सवल पक्ष यसैलाई मान्ने समीक्षकहरु धेरै छन् ।

क्यामेरा, लाइट, सम्पादन अनि जीवन र संसारलाई हेर्ने सौन्दर्यशास्त्रबारे बहस हुँदै गर्दा हाम्रो नेपाली सिनेमा उद्योगमा भने ‘कथा गतिलो भएन, पटकथा त हुँदै भएन’ भन्ने गुनासो सुन्ने गरिन्छ । केही समय अघि एक कलाकार तथा निर्माताले राम्रो स्क्रिप्ट लेख्नेलाई राम्रै रकम दिने भनेर मिडियामै बोलेका थिए ।  

नेपाली सिनेमा उद्योग जुर्मराउँदै गर्दा भ्रुणमै रहेका संसारका अन्य सिनेमा उद्योगहरु आफ्नो सिग्नेचर स्थापित गर्न सफल भइसके । हामी चाहिँ जहाँको तहीँ किन छौं ?

निर्देशक दिपेन्द्र लामा निर्देशक नै गतिलो नै नभएको बताउँछन् । भन्छन्, ‘त्यो सिनेमामेकरसँग सबै पक्षको ज्ञान राम्रोसँग नभएर हो । हामी सिनेमाको कथाभन्दा बाहिर निस्कन सकेका छैनौँ ।’ ज्ञान नै नभएको भए वर्षका सयको हाराहारीमा सिनेमा कसरी बनिरहेका छन् त ? सय सिनेमा बन्दा पनि सिनेमाले नेपाली दर्शकलाई अपनत्व महसुस नगराउनुका कारण केही त होला नै ।

‘नुमाफुङ’ फेम्ड निर्देशक नवीन सुब्बा भन्छन्, ‘हाम्रो सिनेमामा आलोकाँचोपन एकदमै ज्यादा छ ।’ गत वर्ष ‘बुलबुल’ सिनेमा रिलिज भयो । सिनेमाले बक्स अफिसमा खासै व्यापार गर्न नसके पनि समीक्षकबाट राम्रै तारिफ पायो । पश्चिमेली मेकिङ शैलीबाट प्रभावित रहेको भनेर आलोचना पनि भयो । पटकथालाई लिएर पनि समीक्षा भए ।

बुलबुल निर्देशक विनोद पौडेल भन्छन्, ‘पटकथा खराब भएर सिनेमा बिग्रिएको जुन हौवा छ, त्यो एक्सक्युज मात्र हो । खासमा राम्रो निर्देशककै कमी हो । संसारमा त विनापटकथा राम्रा सिनेमा बनेका उदाहरण टन्नै छन् ।’

कलाकार तथा निर्माता दिपकराज गिरी पटकथा सिनेमाका लागि ठूलो कुरा भएकाे बताउँछन् । तर नेपाली सिनेमा उद्योगमा गतिलो पटकथा लेखक नै नभएको उनकाे भनाइ छ । भन्छन्, ‘यहाँ पटकथा लेखकले तीनवटा भारतीय र अरु विदेशी सिनेमाको दृश्य लेखिरहेका हुन्छन् । यहाँ राम्रो पटकथा लेखक नै छैन ।’

अधिकांश नेपाली सिनेमा समीक्षामा दुईवटा कुरा मात्र भेटिन्छ कि आलोचना, कि प्रसंशा । समीक्षा सिनेमा संरचनाको साथै त्यसले पार्ने प्रभावमाथिको खोज पनि हो भन्छन् समीक्षक मनोज पण्डित । मनोज भन्छन्, ‘अहिले सिनेमाको समीक्षा भन्दा ज्यादा सिनेकर्मीको समीक्षा हुन्छ, हिजो कस्तो बनायो, अहिले कस्तो बनायो । अर्को कुरा चाहिँ दायामाया गरेर घोर अपराध गरिरहेका छन् ।’ 

पछिल्लो समय केही समीक्षकहरु हिन्दी सिनेमाले सकायो, हामीले जोगाउनुपर्छ भनेर पनि लागिरहेका छन् । यस्ता जोगाउने र भत्काउने कुरामा समीक्षकको नियत मात्र देख्छन् पण्डित । ‘यस्ता कुरा भनेको सिनेमाको वस्तुगत ज्ञान नहुनु हो । सिनेमा समीक्षा र पत्रकारिता फरक हुन्,’ पण्डित भन्छन्, ‘हाम्रोमा सिनेमा बुझ्ने कुरामा समस्या भइरहेको छ । संसारमा सिनेमाको विकास वैचारिक हिसाबले भएको छ, हाम्रोमा भावनात्मकता मात्र छ । त्यसले पोलिटिकल्ली करेक्ट बनाउन सक्दैन समीक्षकलाई । पत्रकारिताकोे रिपोर्टलाई समीक्षा भन्न मिल्दैन ।’ 

नवीन सुब्बालाई पनि हाम्रो समीक्षामै समस्या लाग्छ । भन्छन्, ‘बाहिरतिर समीक्षकले मेकरलाई धार दिएका छन् । प्यारासाइटले ओस्कर जित्नुमा समीक्षकहरुको पनि ठूलो हात छ । हाम्रो नेपाली सिनेमामा भने समीक्षक नै आउन सकेका छैनन् ।’ दिपेन्द्र लामालाई त हाम्रोमा भइरहेको समीक्षा रिभ्यु मात्र लाग्छ, जो एकेडेमिक हुँदै होइन । भन्छन्, ‘हाम्रा समीक्षकलाई कथा इत्तरका सिनेमाका पक्षहरुबारे अध्ययन नै छैन । सिनेमामेकर मात्र होइन, समीक्षकको पनि ज्ञान बढेको छैन ।’ दिपेन्द्रको धारणा हो,  यथास्थितिमा रहेको ज्ञान खतरनाक कुरा हो । 

तीन वर्ष अघि एक कार्यक्रममा पुरानो र नयाँ बलिउड सिनेमाबीचको फरकबारे जावेद अख्तरले भनेका थिए, ‘पुरानो सिनेमामा क्षमता थियो, खराबी पनि थियो । आजका सिनेमामा क्षमता छैन, खराबी मात्र छ । ती सिनेमा मेलो–ड्रामा थिए । साधारण मान्छेको पीडा थियो । सिनेमामा ट्याक्सी चालक, रिक्सा चालक, किसान, मदजुर हिरो हुन्थे । अहिलेका सिनेमामा हिरोले कामै गर्दैनन् । निम्न मध्यम वर्गका लागि सिनेमा नै बनिरहेका छैनन् । तिनका लागि बनिरहेका छन्, जसले पाँचसात सय खर्च गर्न सक्छन् । अब हिरोहरु कामै गर्दैनन् भने काम गर्नेहरुको समस्याप्रति चासो हुने कुरै भएन । सबै कुराले भरिपूर्ण छ अहिलेको सिनेमा, तर गहिराइ कम छ ।’

पचासको दशकमा नेपाली सिनेमामा एउटा भनाइ चर्चित थियो, ‘दर्शक राेए, निर्माता हाँस्छन् ।’ जावेद अख्तरले भनेजस्तो त्यतिवेलाका नेपाली सिनेमा भने पक्कै गहिरा थिएनन् । बरु एकाँधबाहेक त्यही बलिउड सिनेमाको ‘डुब्लिकेट भर्जन’ थियो । केही समयपछि आफ्नोपन खोज्ने प्रक्रियातिर पनि नेपाली सिनेमा लाग्यो । तर पनि बढी भावनात्मक भएकाे धारणा राख्छन् मनोज पण्डित ।

‘वैचारिक हिसाबमा एकदमै कम भए हाम्रा सिनेमा । मानिसहरुका भावलाई उत्तेजित बनाउनतिर लाग्यौँ’, पण्डित भन्छन्, ‘यसले हसाउँछ, आँसु झार्छ भनेर पूर्वानुमान सहित सिमितीकरण गरिदियौँ दर्शकलाई । दर्शकलाई सिनेमाले कल्पनाको उडानमा लानुपर्छ । तर हाम्रा सिनेमाले त्यसलाई रोक्छ ।’

नवीन सुब्बा पनि मेकिङमै समस्या देख्छन् । भन्छन्, ‘नेपाली सिनेमा मेकरलाई २० करोड दियो भने पनि खर्च गर्न सक्दैनन् ।’ राम्रो सिनेमामेकर जन्मनका लागि राज्य, एकेडेमिसियन, शिक्षा र दर्शक, समीक्षकको भूमिका उत्तिकै बलियो हुने धारणा राख्छन् सुब्बा।

डेनमार्कमा शिशु कक्षादेखि नै सिनेमाको पढाइ हुने उदारहण दिँदै भन्छन्, ‘हाम्रोमा त स्कुले बच्चाहरु सिनेमा हेर्न गयो भनेर पुलिसले समातेर बुझाएको घटना छ । जब कि सिनेमा शिक्षा दिने गतिलो माध्यम हो भनेर प्रमाणित भइसक्यो ।’

विनोद पौडेल हाम्रो सिनेमा बिग्रनुमा रहरले सिनेमा बनाउनेहरुको विगविगी भएकोले पनि हो भन्ने धारणा राख्छन् । भन्छन्, ‘सिनेमा प्यासनले बनाउने हो । यहाँ त दुईचार सिनेमा हेरेकाले रहरले सिनेमा बनाइरहेका छन् ।’ नवीनले जस्तै विनोदले पनि राज्यले नै निश्चित नीति बनाएर राम्रो मेकर जन्माउने वातावरण सृजना गनुपर्छ भन्ने मत राख्छन् ।