मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अजित अधिकारी काठमाडौं
२०७६ चैत १ शनिबार १९:४२:००
Read Time : > 3 मिनेट
अर्थ

भारतमा पेट्रोलियम पदार्थमा कर बढ्यो तर मूल्य घट्यो

Read Time : > 3 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७६ चैत १ शनिबार १९:४२:००

भारतमा पेट्रोलियम कर वृद्धि गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि मूल्य स्थिर राख्न भारतले शनिबारबाट लागू हुने गरी प्रतिलिटर पेट्रोल र डिजेलमा भारु तीन रुपैयाँ अन्तःशुल्क वृद्धि गर्ने निर्णय गरेको हो । यो कर वृद्धि पछि पेट्रोलियम क्षेत्रबाट प्राप्त हुने राजस्वमा ३९ हजार करोड भारुले वृद्धि हुने सरकारको अनुमान छ । वृद्धि भएको करको भार खुद्रा मूल्यमा नजोडिने भएकाले उपभोक्तालाई असर नपर्ने सरकारी अधिकारीहरूले दाबी गरेका छन् ।

शनिबार करको दरमा ठूलो वृद्धि गरे पनि सरकारी तेल कम्पनीहरूले मूल्य घटाएका छन् । इण्डियन आयल कर्पोरेसनले दिल्लीमा ७० भारु रहेको पेट्रोलको मूल्यमा १३ पैसा घटाएर ६९.८७ भारु र ६२.७४ भारु रहेको डिजेलको मूल्यमा १६ पैसा घटाएर ६२.५८ भारु प्रतिलिटर कायम गरेका छन् । तेल कम्पनीहरूले शनिबार ठूलो दरमा मूल्य घटाउनुपर्ने दबाब रहेको जानकारी दिएपछि सरकारले अन्तःशुल्क वृद्धि गरेर मूल्य घट्न नदिएको हो ।

नेपालमा ठीक यस्तै गरी १२ फागुनबाट सरकारले पेट्रोलियम कर वृद्धि गरेको थियो । अर्थमन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट पेट्रोल, डिजेल र हवाइ इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ पूर्वाधार कर वृद्धि गरिएको थियो । यस्तो कर आर्थिक वर्ष ०७२–७३ देखि सुरु गरिएको थियो । त्यतिबेला प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर लगाइएकोमा १२ फागुनदेखि बढेर प्रतिलिटर १० रुपैयाँ पुर्‍याइएको छ । भारतमा जस्तै नेपाली अधिकारीहरूले पनि करको भार उपभोक्ता मूल्यमा नपर्ने जिकिर गर्दै आएका छन् ।

सरकारी अधिकारीहरूका हवला दिँदै भारतीय सञ्चारमाध्यमले सम्प्रेषण गरेको सूचनाअनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा धेरै गिरावट आएपछि अन्तःशुल्क वृद्धिको निर्णय गरिएको हो । ‘पेट्रोल र डिजेलमा अन्तःशुल्क वृद्धि गरेर भारतीय बजारको मूल्य पनि अन्तर्राष्ट्रिय बजारकै स्थितिमा राख्न मद्दत मिलेको छ, अर्कोतिर राजस्व वृद्धिका लागि पनि सहयोग मिलेको छ,’ सरकारी अधिकारीहरूको भनाइ सार्वजनिक गर्दै भारतीय सञ्चारमाध्यम एनडिटीले लेखेको छ ।

भारतले यसअघि आव सन् २०१४–१५ मा पनि अन्तर्राष्ट्रिय बजारमा मूल्यमा आएको गिरावटलगत्तै अन्तःशुल्क वृद्धि गरेको थियो । भारतको केन्द्रीय अप्रत्यक्ष कर एवं सीमा शुल्क बोर्डका अनुसार यसअघि विशेष अन्तःशुल्क करबापत प्रतिलिटर पेट्रोलमा २ देखि ८ भारु र डिजेलमा २ देखि ४ भारुसम्म वृद्धि भइसकेको छ । यसका अलावा सडक मर्मत शुल्कबापत थप पेट्रोल र डिजेलमा १ देखि १० भारुसम्म कर वृद्धि गरिएको थियो ।

तेल उत्पादन गर्ने दुई ठूला देश साउदी अरेबिया र रसियाबीचको द्वन्द्वले अहिले मूल्यमा गिरावट आएको हो । तेल उत्पादन कटौती गर्नुपर्ने साउदीको प्रस्तावलाई रसियाले नकारेपछि दुवै देशले उत्पादन बढाएका छन् । साउदीले छुट मूल्यमा तेल बेच्ने र उत्पादनसमेत बढाउने चेतावनी दिइसकेको छ । जसकारण घटेको मूल्य केही समय स्थिर भएर बस्ने विश्लेषण गरिएको छ ।

मोदी सरकारमा आएपछि कर बढ्यो
तेल कम्पनीहरूका अनुसार शनिबार वृद्धि भएकोसमेत जोड्दा प्रतिलिटर पेट्रोलमा २२.९८ भारु र डिजेलमा १८.८३ भारु अन्तःशुल्क पुगेको छ । सन् २०१४ मा पहिलोपटक भाजपाका नेता नरेन्द्र मोदीले सरकार बनाउँदा पेट्रोलमा ९.४८ र डिजेलमा ३.५६ प्रतिलिटर अन्तःशुल्क लाग्दै आएको थियो । तर, त्यसयता अन्तर्राष्ट्रिय बजार मूल्यसँग भारतको मूल्यलाई स्थिर राख्न करको दर दोब्बरभन्दा बढी बनाइएको छ । सन् २०१४ देखि २०१६ सम्म सरकारले नौपटक यसरी नै अन्तःशुल्क वृद्धि गरी कर उठाइरहेको छ ।

पछिल्लो समय पेट्रोल र डिजेलमा अन्तःशुल्कबापत प्रतिलिटर ३ भारु वृद्धि गर्दा आगामी तीन हप्ताभित्र दुई हजार करोड भारुले राजस्व बढ्ने सरकारको अनुमान छ । आर्थिक वर्ष सकिनै लाग्दा पेट्रोलियम क्षेत्रमा गरिएको कर वृद्धिले समग्र राजस्वमा वृद्धि हुने सरकारको अपेक्षा छ ।

मोदी सरकार गठन भएको वर्ष सन् २०१४–१५ मा पेट्रोलियमतर्फको करमा अन्तःशुल्कको हिस्सा ९९ हजार करोड थियो । त्यसको दुई वर्षपछि सन् २०१६–१७ मा अन्तःशुल्कको हिस्सा दोब्बरभन्दा बढी अर्थात् २ लाख ४२ हजार करोड भारु उठेको थियो । यद्यपि, भारतमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको बेला यहीँ अन्तःशुल्क घटाएर मूल्यलाई स्थिर बनाउने गरिन्छ । अक्टोबर २०१७ मा मोदी सरकारले पेट्रोल र डिजेलमा २ भारु प्रतिलिटर अन्तःशुल्क घटाएर उपभोक्तालाई राहत दिने प्रयत्न गरेको थियो । यसको एक वर्षपछि पुनः १.५ भारु प्रतिलिटर अन्तःशुल्क घटाइएको थियो तर जुलाई २०१९ मा फेरि २ भारु प्रतिलिटर अन्तःशुल्क वृद्धि गरिएको थियो ।

नेपालमा घट्ला मूल्य ?
जनवरीयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आधा घटिसकेको छ । तर, करको बढ्दो दर, निगमभित्रको बढ्दो चुहावटलगायतका कारण नेपाली बजारमा मूल्य खासै घटेको छैन । जनवरीमा ६५ डलर प्रतिब्यारेल (१ सय ५९ लिटर) आसपास रहेको कच्चा तेलको मूल्य शुक्रबार बजार बन्द हुँदा ३३.८५ डलर प्रतिब्यारेलमा कारोबार भएको थियो । यति ठूलो दरले मूल्यमा गिरावट आए पनि नेपाली बजारमा भने ४–५ रुपैयाँ मात्र मूल्य घटेको छ । जनवरीमा पेट्रोल १ सय ११ रुपैयाँ रहेकोमा हाल १ सय ८ रुपैयाँ प्रतिलिटर छ । त्यसैगरी डिजेल १ सय रुपैयाँ रहेकोमा अहिले ९७ रुपैयाँमा झरेको छ ।

भारतले कर वृद्धि गरेपछि पनि आन्तरिक बजारमा मूल्य घटाएकाले नेपालमा पनि अबका दिनमा पेट्रोलियमको मूल्य घटाउन दबाब बढेको छ । अबको दुई दिनपछि आइओसीले पठाउने नयाँ मूल्य सूची हेरेर मूल्य समायोजनको बारेमा निर्णय लिने निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । ‘हामीले आइओसीको नयाँ मूल्य सूची पाएपछि नेपाली बजारका लागि मूल्य समायोजन गर्दै आएका छौँ, यसपटक पनि नयाँ मूल्य आएपछि मात्रै समायोजनका बारेमा केही बोल्न सकिन्छ,’ उनले भने ।