मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ फाल्गुण ३० शुक्रबार ०९:१८:००
Read Time : > 1 मिनेट
साहित्य

पार्कमै पुस्तकालय

पठन संस्कृति

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण ३० शुक्रबार ०९:१८:००

काठमाडौं र ललितपुर जोड्ने वाग्मती पुल पारिपट्टि गैरआवासीय नेपाली संघ (एनआरएन)ले करिब दुई करोड लागतमा निर्माण गरेको छ, शंखको मूर्तिसहितको बगैँचा । सोही स्थानमा वर्षदिनदेखि सञ्चालनमा छ, पार्क पुस्तकालय । विकसित मुलुकमा यस्ता बगैँचामा स्विमिङ पुल र पुस्तकालय स्थापना गर्ने प्रचलन छ । त्यसैको सिको गर्दै विकु लामा, नवराज आचार्य, भुवनसिंह कुँवर, देवकी अभिलाषीलगायत युवा मिलेर यो पुस्तकालय स्थापना गरेका हुन् । अमेरिका, बेलायत, अस्ट्रेलिया, स्पेन, जापान, कतार, इटालीलगायत ११ मुलुकमा बस्ने ७६ जना नेपाली युवाले पुस्तकालय स्थापनामा सहयोग गरेका छन् ।

उनीहरूबाट प्राप्त आर्थिक सहयोगमार्फत सुरुमा १५ हजार पुस्तक खरिद गरिएको लामा बताउँछन् । हालसम्म २० हजारभन्दा बढी पुस्तक संकलन भइसकेको छ । नेपाली कवि र लेखकहरूले पनि आ–आफ्ना कृति पुस्तकालयलाई हस्तान्तरण गरेका छन् । नेपाली, अंग्रेजी, हिन्दीलगायत भाषाका कथा, कविता, उपन्यास, निबन्ध, संस्मरण, ऐतिहासिक, राजनीतिक र धार्मिक पुस्तक यहाँ उपलब्ध छन् ।

अमेरिका, बेलायत, अस्ट्रेलिया, स्पेन, जापान, कतार, इटालीलगायत ११ वटा मुलुकमा बस्ने ७६ जना नेपालीले पुस्तकालय स्थापनामा सहयोग गरेका छन्

पार्कनजिकै बालसन्त मोहनशरण देवाचार्यको आश्रम छ । उनको आश्रममा आउजाउ गर्ने व्यक्तिहरू पार्कमा टहलिन पुग्छन् । र, पुस्तकालयमा पसेर विभिन्न पुस्तकमा हराउँछन् । पुस्तकालयमा प्रवेश निःशुल्क छ । बालसन्तको आश्रममा अध्ययनरत विद्यार्थीहरू पुस्तकालयका नियमित पाठक हुन् । आश्रमकै दुई कर्मचारीलाई तालिम दिएर पुस्तकालय व्यवस्थापनको जिम्मा दिइएको छ । उनीहरूले नै पुस्तकको अभिलेख राख्छन् । किताबको मूल्यबराबरको धरौटी राखेर पुस्तक लैजान पाउँछन्, आगन्तुकले ।

‘पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तकालय स्थापना गरेका हौँ,’ लामा भन्छन्, ‘व्यस्त जीवनशैली भएका विकसित मुलुकमा यस्ता पार्कमा गएर अध्ययन गर्ने संस्कार छ, त्यसैलाई हामीले पनि भित्र्याएका  हौँ ।’ भनिन्छ, सहरले सभ्यताको विकास गर्छ । त्यसका लागि ज्ञान निर्माण अत्यावश्यक हुन्छ । र, त्यो ज्ञान निर्माणको काम औपचारिक शिक्षाका लागि खोलिएका संस्थाले मात्र होइन, पुस्तकालयहरूले पनि गर्छन् । ‘हाम्रो प्रयास त्यसरी नै ज्ञान निर्माण गर्नु हो,’ लामा भन्छन् ।