मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मेलिन्डा गेट्स
२०७६ फाल्गुण ३० शुक्रबार ०८:४३:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

लैंगिक समानतासम्बन्धी संवाद कसरी सुरु गर्ने ?

Read Time : > 1 मिनेट
मेलिन्डा गेट्स
२०७६ फाल्गुण ३० शुक्रबार ०८:४३:००

भर्खरै ‘वर्ल्ड इकोनोमिक फोरम’ले गरेको प्रक्षेपणअनुसार अमेरिकाको लैंगिक असमानताको खाडल पुरिन अझै दुई सय आठ वर्ष लाग्नेछ । जबकि तीव्र इच्छाशक्ति हुँदा यो केही मिनेटमै मेटिनुपर्ने हो । तपाईंको आफ्नो दैनिकीबाट थोरै समय छुट्याएर यसको सुरुवात गर्न सक्नुहुन्छ । यो समयमा तपाईं लैंगिक समानताबारे संवाद सुरु गर्नुहोस् । अझ  तपाईंले पहिले कहिले बहस नगरेको व्यक्तिसँग यो विषय ल्याउनुहोस् ।  

तपाईंले घरमा बेतलवी श्रमको असमान वितरणबारे कुरा गर्न सक्नुहुन्छ । वा अमेरिकामा तलबी बिदाको आवश्यकताबारे बहस गर्न सक्नुहुन्छ । वा कसलाई काममा लिने, पदोन्नति गर्ने वा लगानी गर्ने भन्ने हाम्रो बुझाइलाई आकार दिने अवचेतनात्मक पूर्वाग्रह पनि बहसको विषय हुन सक्छ । तपाईं आफैँलाई प्रश्न गर्न सक्नुहुन्छ– तपाईं आफ्नो जीवनकालमा महिला र युवतीको के परिवर्तनको आशा राख्नुहुन्छ ?’, ‘तपाईं आफूवरिपरिका महिलाको पक्षमा अझ राम्रोसँग वकालत कसरी सक्नुहन्छ ?’ त्यो कसरी व्यवहारमा आउँछ ? यी प्रश्नको इमानदारीपूर्वक जवाफ एउटा त केही नहुन पनि सक्छ । तर, अर्को इमानदारीपूर्वक जवाफ के हो भने सामाजिक परिवर्तन यस्तै अन्तत्र्रिmयामा निर्भर हुन्छ । 

समाजमा लैंगिक असमानता यथावत राख्न सक्रिय रहने सम्पूर्ण प्रक्रियाबारे सोच्नुहोस् । कानुन र नीतिजस्ता औपचारिक संरचनाले निश्चित रूपमा एक भूमिका खेल्छ । निश्चित रूपमा, कानुन र नीतिजस्ता औपचारिक संरचनाले यसमा भूमिका खेल्छ । तर, प्रतिदिन भेट हुने लाखौँ/करोडाैँ मानिसबीचको आमभेटघाटले पनि यसलाई ऊर्जा दिइरहेको हुन्छ । यसमा श्रीमान् र श्रीमती, कामदार र श्रमिक, नेता र मतदाता र परम्पराको सरक्षक मानिने ग्रामीण क्षेत्रका मुखिया र तिनलाई चुनौती दिने युवा महिला सबै पर्छन् । 

आमसर्वसाधारणबीच केही मिनेट मात्रै लैंगिक समानताबारे संवाद हुन थाल्यो भने त्यसले असमनताविरुद्धको अभियानमा ठूलो प्रभाव पार्नेछ

जब हामीमध्ये धेरै परिवर्तनको लागि आवाज उठाउन प्रतिबद्ध हुन्छौँ, यसले फराकिलो रूपान्तरणका लागि मार्गप्रशस्त गर्छ । एउटा उदाहरण विश्वव्यापी अभियानमा रूपान्तरण भएको मी टू नै हो । त्यस आन्दोलनले संरचनात्मक समस्यामाथि प्रकाश पारिदिएको छ । त्यसले व्यवसायी र सरकारी नेतालाई समाधानका लागि दबाब बढायो ।  यो यस पृष्ठभूमिमा आगामी जुलाई महिनामा विश्वभरका प्रतिनिधि बेइजिङमा सम्पन्न ‘चौथो विश्व महिला सम्मेलन’को २५औँ वार्षिकोत्सव मनाउन पेरिसमा भेला हुँदै छन् । उक्त सम्मेलनको जेनेरेसन इक्वालिटी फोरममा हिलारी क्लिन्टनले ‘नारी अधिकार मानव अधिकार हो’ भनेर घोषणा गरेकी थिइन् ।

फोरमले लैंगिक समानतासम्बन्धी आमऊर्जा र सचेतनालाई वास्तविक उपलब्धिमा रूपान्तरण गर्ने लक्ष्य लिएको थियो । मेरो श्रीमान् बिल गेट्स र मैले ‘बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन’ सुरु गरेको दुई दशकमा हामीले यस्तो सम्मेलन उपयोगी हुने पाएका छौँ । यी मञ्चले विश्वलाई साझा उद्देश्यमाथि सहमति गर्ने अमूल्य अवसर प्रदान गर्छ । र, व्यवसायी र सरकारी नेतालाई पनि त्यस्ता उद्देश्य हासिल गर्न महत्वाकांक्षी वित्तीय र राजनीतिक प्रतिबद्धताको अवसर हुन्छ । राज्य र ठूला व्यवसायीबाट त्यस्ता प्रतिबद्धता महत्वपूर्ण हुन्छ, तर तिनलाई कार्यान्वयन गर्नु झनै महत्वपूर्ण हुन्छ । 

यो वर्षलाई यदि तपाईं महिला र युवतीको लागि महत्वपूर्ण मोड बनाउन चाहनुहुन्छ र एक पुस्तामा एकपटक आउने विश्वव्यापी भेलालाई उसको वाचामा खरो उत्रिएको हेर्न चाहनुहुन्छ भने हामीले लैंगिक  समानताको संवादलाई अभियानकर्मीबाट फराकिलो जनसमूहमा विस्तार गर्नुपर्छ । त्यसमा धार्मिक नेता, समुदायका अग्रज, मनोरञ्जन क्षेत्रका सदस्य, बोर्ड सदस्य, सेयरहोल्डर, प्रमुख्य कार्यकारी र आमसर्वसाधरणलाई संलग्न गराउनुपर्छ ।

मेलिन्डा गेट्स ‘बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन’को सहअध्यक्ष हुन् ।

"via The New York Times"

नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य