मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी म्याड्रिड
२०७६ फाल्गुण ३० शुक्रबार ०८:४०:००
Read Time : < 1 मिनेट
खेलकुद

क्रिस्टियानो रोनाल्डो क्वारेन्टाइनमा

सहकर्मी ड्यानियललाई कोरोना भाइरस पुष्टि भएपछि चिकित्सकको सल्लाहमा रोनाल्डो क्वारेन्टाइनमा

Read Time : < 1 मिनेट
एजेन्सी म्याड्रिड
२०७६ फाल्गुण ३० शुक्रबार ०८:४०:००

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा बसेका छन् । इटालीको सिरिए लिगअन्तर्गत युभेन्टसबाट व्यावसायिक फुटबल खेलिरहेका रोनाल्डो सहकर्मी ड्यानियल रुगानीलाई कोरोना संक्रमण पुष्टि भएपछि चिकित्सकको सल्लाहमा घरमै क्वारेन्टाइनमा बसेका हुन् । रुगानीलाई कोरोना भाइरस संक्रमण देखिएपछि युभेन्टसले आफ्ना सबै खेलाडीलाई क्वारेन्टाइनमा बस्न भनेको छ । रोनाल्डो आमालाई स्ट्रोक भएपछि बिहीबार नै पोर्चुगल फर्किएका छन् । 

गत आइतबार सिरिए लिगमा युभेन्टस र इन्टरमिलानबीच दर्शकरहित रंगशालामा प्रतिस्पर्धा भएको थियो । सो खेलमा रोनाल्डोले रुगानीसँग ड्रेसिङ रुम सेयर गरेका थिए । प्रतिस्पर्धी इन्टरमाथि प्रभावशाली जित निकालेपछि युभेन्टसका खेलाडीले खुसीयाली मनाए । रुगानीसँग खुसी मनाएका कारण अन्य खेलाडीलाई संक्रमण हुन सक्ने आशंका गरिएको हो । भाइरसका कारण इटालीमा ३ अप्रिलसम्म सबै खेल स्थगित गरिएको छ ।

म्याड्रिडका सबै खेलाडी क्वारेन्टाइनमै
स्पेनिस लालिगामा रियल म्याड्रिडका सबै खेलाडी क्वारेन्टाइनमा बसेका छन् । रियलको बास्केटबल खेलाडीमा कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि म्याड्रिडले आफ्ना खेलाडीलाई सुरक्षित रहनका लागि क्वारेन्टाइनमा बस्न भनेको छ । म्याड्रिड र बास्केटबलका खेलाडीले एकै मैदानमा अभ्यास गर्दै आएका छन् । दुवै खेलका खेलाडीले एउटै सुविधा प्रयोग गर्छन् । म्याड्रिडका खेलाडी क्वारेन्टाइनमा बसेपछि युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा म्यानचेस्टर सिटीविरुद्धको खेल रोकिने सम्भावना बढेको छ । यसैबीच, कोरोना भाइरसकै कारण स्पेनिस लालिगा दुई साताका लागि स्थगित भएको छ ।