१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रोहितराज पराजुली कास्की
२०७६ फाल्गुण २९ बिहीबार २०:२५:००
Read Time : > 1 मिनेट
खेलकुद

मनाङ आहा–रारा गोल्डकपको फाइनलमा

Read Time : > 1 मिनेट
रोहितराज पराजुली कास्की
२०७६ फाल्गुण २९ बिहीबार २०:२५:००

साविक उपविजेता नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब १८औँ संस्करणको आहा–रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार पोखरा रंगशालामा भएको अन्तिम सेमिफाइनलमा आर्मीलाई ३–२ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि भिडन्तका लागि नेपाल पुलिससँग भेट पक्का गरेको हो । हारसँगै आर्मी लिगमा भएको खेलको हारको बदला लिनबाटसमेत चुकेको छ । लिगमा मनाङ आर्मीविरुद्ध १–० ले विजयी भएको थियो ।

यसअघि दुवै टोली बाई पाएर क्वाटरफाइनल प्रवेश गरेका थिए । क्वाटरफाइनलमा आर्मीले संकटालाई ३–० र मनाङले झापा ११ लाई १–० गोल अन्तरले पराजित गरेका थिए । आहा–राराको १७औँ संस्करणसम्म आइपुग्दा नौपटक फाइनल पुगेको मनाङले पाँचपटक उपाधि जितेको छ ।

खेलको चौथो मिनेटमै मनाङका विदेशी खेलाडी फ्लोरेन्टले टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । अन्जन बिष्टले दिएको पासलाई उनले सदुपयोग गरेका थिए । २९औँ मिनेटमा विमल रानाको गोलसँगै मनाङले अग्रता दोब्बर पारेको थियो । अन्जनले दिएको पासलाई डि–बक्सभित्र अनमार्क रहेका विमलले पोष्टको दिशा दिएका थिए ।

दुई गोलले पछि परेको आर्मीका लागि खेलको ४१औँ मिनेटमा कप्तान भरत खवासले गोल गर्दै अन्तर २–१ मा झारेका थिए । ८१औँ मिनेटमा अन्जनले मनाङका लागि गोल गर्दै खेल ३–१ को अवस्थामा पुर्‍याए । त्यसको दुई मिनेटपछि नै आर्मीका दिप लामाले टंक बस्नेतको पास उपयोग गर्दै गोल अन्तर कम गरेका थिए । लामा खेलको ७७औँ मिनेटमा दिपक गुरुङको स्थानमा मैदान छिरेका थिए ।

जितपछि मनाङका प्रशिक्षक फुजा तेपोले पुलिससँगको उपाधि भिडन्त रोमाञ्चक हुने बताए । हारपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले डिफेन्स कमजोर भएको र पाएका अवसरहरू सदुपयोग गर्न नसक्दा हार व्यहोर्नु परेको बताए । आहा–रारा गोल्डकपको फाइनल १ चैतमा हुनेछ ।