Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
एजेन्सी
२०७६ फाल्गुण २९ बिहीबार १३:२१:००
Read Time : > 2 मिनेट
विश्व

कोरोना प्रकोप : १ सय १८ देश प्रभावित, निकाे भएर डिस्चार्ज हुनेको संख्यामा वृद्धि

Read Time : > 2 मिनेट
एजेन्सी
२०७६ फाल्गुण २९ बिहीबार १३:२१:००

कोरोना भाइरसको संक्रमण विश्वका १ सय १८ देशमा फैलिसकेको अधिकारीहरुले जनाएका छन् । सबै युरोपेली मूलुकहरुमा संक्रमण बढेसँगै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको प्रकोपलाई माहामारी घोषणा गरेको छ ।

वल्र्डाेमिटर्सका अनुसार  भाइरसबाट विश्वभर १ लाख २६ हजार ३ सय ८० जनामा संक्रमण भइसकेको छ  । संक्रमितमध्ये ४ हजार ६ सय ३६ को मृत्यु भएको छ, भने ६८ हजार ३ सय १० जना डिस्चार्ज भइसकेका छन् । अहिले ५३ हजार ४ सय ३६ जना संक्रमित छन् । ती मध्ये करिब ५ हजारको अवस्था गम्भीर छ ।

डब्लुएचओका अनुसार चीनबाहिरका संक्रमितको संख्या ३७ हजारभन्दा बढी पुगेको छ । मंगलबार र बुधबार ४ हजारभन्दा बढी नयाँ संक्रमित चीनबाहिर भेटिएका छन् । 

 

 

चीनबाहिर संक्रमण बढेसँगै विश्व नै संक्रमणको उच्च जोखिमा रहेको निष्कर्ष डब्लुएचओले निकालेको छ । संक्रमण फैलिन नदिन विश्वका विभिन्न देशहरु उडान बन्द गरिएका छन् । अमेरिकाले बेलायतबाहेकका अन्य युरोपेली देशबाट प्रवेश निषेध गरेको छ । 

कुन देशमा कति संक्रमण

चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अन्यदेशहरुभन्दा उच्च रहेको छ । चीनमा  ८० हजार ७ सय ९६ जनामा संक्रमण देखिएको छ । इटाली चीनपछिको उच्च संक्रमण फैलिएको अवस्थामा रहेको छ । जनवरी ३१ मा पहिलो संक्रमित फेला परेको इटालीमा अहिलेसम्म १२ हजार ४ सय ६२ जनामा संक्रमण भएको छ । त्यसमध्ये ८ सय २७ को मृत्यु भएको छ, भने १ हजार ४५ जना डिस्चार्ज भएका छन् ।

इरानमा संक्रमित हुनेको संख्या ९ हजार पूगेको छ । संक्रमितमध्ये ३ सय ५४ को मृत्यु भइसकेको छ भने करिब ३ हजार मानिस अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ हजार ८ सय ६९ पुगेको छ । त्यसमध्ये ६६ को मृत्यु भएको छ भने ३ सय ३३ जना डिस्चार्ज भइसकेका छन् । फ्रान्समा २ हजार २ सय ८१ जनामा संक्रमण फैलिएको छ । संक्रमितमध्ये ४८ को मृत्यु भएको छ र १२ जनामात्रै अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्पेनमा २ हजार २ सय ७७ जनामा संक्रमण भएको छ । तीमध्ये ५५ को मृत्यु भएको छ भने १ सय ८३ जना डिस्चार्ज भइसकेका छन् । त्यस्तै जमर्नीमा १ हजार ९ सय ६६ मा संक्रमण देखिएको छ । ंक्रमितमध्ये ३ को मृत्यु भएको छ र २५ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार ३ सय २९ पुगेको छ । संक्रमितमध्ये ३८ को मृत्यु भएको छ भने १५ जना डिस्चार्ज भएका छन् ।

६ सयभन्दा बढी संक्रमित रहेको जापानमा १६ को मृत्यु भएको छ । त्यस्तै बेलायतमा संक्रमितको संख्या लगभग ५ सय पुगेको छ भने ८ को मृत्यु भएको छ । भारतमा संक्रमितको संख्या ६२ पुगेको छ ।

चीनमा संक्रमण घट्यो

चीनमा भाइरसको संक्रमण उल्लेख्य रुपमा घटेको छ । सबैभन्दा पहिले संक्रमण देखिएको चीनमा अहिले दैनिक संक्रमितको संख्या ५० भन्दा तल झरेको छ । संक्रमण निदानका लागि चीनले वुहान प्रान्त पूर्णरुपमा बन्द गरेको थियो । कारखाना एवं यातायात समेत बन्द गरेपछि वुहानमा प्रदुषणको स्तर समेत घटेको थियो ।

चीनमा करिब एकहप्तायतादेखि संक्रमितको संख्या ८० हजारबाट बढ्न पाएको छैन् । ८० हजार ७ सय ९६ संक्रमित भएको चीनमा सबैभन्दा बढी संक्रमित वुहानमा भेटिएका थिए।

अहिलेसम्म चीनमा मात्र संक्रमणबाट ३ हजार २ सय ६९ को मृत्यु भएको छ । त्यस्तै ६२ हजार ८ सय ८ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । अब चीनमा १४ हजार ८ सय १९ जनामात्रै संक्रमणको अवस्थामा छन् ।

दैनिक संक्रमित एवं मृतकको संख्या घटेसँगै चीनमा बन्दको प्रभाव सुस्तरुपमा कम हुन लागेको छ । यद्यपी पूर्णरुपमा स्थिति नियन्त्रणमा भने आइसकेको छैन ।