मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ फाल्गुण २९ बिहीबार १०:५३:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

भैरवबहादुर थापाको दीर्घायु सूत्र

योग र एक्सरसाइज दैनिक एक घन्टा

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण २९ बिहीबार १०:५३:००

म काठमाडौंको कमलपोखरीमा वि.सं. १९८९ मा जन्मेको हुँ । उमेरले ८८ लागे पनि स्वस्थ छु । बिहान साढे ४ वा ५ बजे उठिसक्छु । उठ्नेबित्तिकै एक घन्टा योग र एक्सरसाइज गर्छु । त्यसपछि मनतातो पानी पिउँछु । चार–पाँचवटा पत्रिकाको ग्राहक बनेको छु । सबै पत्रिका नियालेर पढ्छु । पत्रिकाबाटै मेरो दिनचर्या सुरु हुने भएकाले यी मेरा साथीजस्ता भएका छन् । 

 पानी धेरै पिउँछु 
हाम्रो शरीरका लागि पानी निकै आवश्यक पर्छ । बिहान दुई लिटरजति पानी पिउँछु । तर, एकैचोटि चाहिँ पिउने गर्दिनँ । पटक–पटक गरेर दिनमा चार–पाँच लिटरजति पानी पिउने गर्छु । जाडोमा मनतातो र गर्मीमा चिसो पानी पिउँछु ।

 ब्रेकफास्ट अनिवार्य
ब्रेकफास्ट अनिवार्य गर्छु । यसमा दुईवटा ओखर, भिजाएको १० वटा चिनियाँ बदाम, एउटा छोकरा, २० वटा जति किसमिस र अन्जिर हुन्छन् । एउटा स्याउ र अनार कहिल्यै छुट्दैन । एक घन्टाभन्दा बढी त खाने समयमै जान्छ । किनकि, त्यसले मुखको एक्सरसाइजसमेत हुन्छ ।

 सकेसम्म भात खान्नँ
बिहानको खाना साढे ११ बजेसम्म खाइसक्छु । खानामा जौँ वा मकैको च्याँख्ला हुन्छ । सकेसम्म भात कम खाने गर्छु । साथै, खानामा सागसब्जी कहिल्यै टुट्दैन । दाल धेरै पिउँछु । बेलुकाको खानामा दुईवटा रोटी, दाल र तरकारी खान्छु । सकेसम्म घरकै खानेकुरा खान्छु । 

 माछा–मासु कम
माछा–मासु कम खाने गर्छु । चाडपर्व वा कुनै अवसरमा मात्रै खान्छु । तर, हप्तामा एउटा अन्डा भने खान्छु । 

 धूम्रपान–मद्यपानबाट टाढा
धूम्रपान–मद्यपानबाट टाढा छु । यी कुलत मैले पहिले नै त्यागिसकेको हुँ । बरु तलतल लागेमा हर्रो, बर्रो, जिरा, धनियाँ, बेसार र बिरेनुन हालेको मिक्स चिया नियमित पिउँछु ।

 सधैँ सकारात्मक सोच्छु
मेथीको पेस्ट लगाएर मुख धुन्छु । जसले छालामा चमक ल्याउने गर्छ । सधैँ सकारात्मक सोच्छु, यसले दीघार्यु जीवन प्राप्त हुन्छ भन्ने मान्यता राख्छु । पहिले टिभी हेर्थें, तर दुई वर्षदेखि आँखाको समस्या आएपछि छाडेको छु । म साढे ११ बजे सुतिसक्छु ।