मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ फाल्गुण २९ बिहीबार ०९:१८:००
Read Time : > 1 मिनेट
खेलकुद

थ्री स्टारलाई हराउँदै पुलिस फाइनलमा 

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण २९ बिहीबार ०९:१८:००

मध्यान्तरपछि पुलिसका नीरकुमार राईले दुई गोल गरेपछि साबिक विजेता थ्री स्टार आहारारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलबाट बाहिरियो

साबिक विजेता थ्री स्टारलाई ३–० ले हराउँदै नेपाल पुलिस क्लब १८औँ आहारारा गोल्डकप फुटबल प्रतियोेगिताको फाइनलमा प्रवेश गरेको छ । पुलिसले अब बिहीबार त्रिभुवन आर्मी र मनाङ मर्स्याङ्दी क्लबबीचको विजेताविरुद्ध उपाधिका लागि १ चैतमा प्रतिस्पर्धा गर्नेछ । पुलिसले सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टारसँग बेहोरेको हारको बदला लिएको छ । लिगमा थ्री स्टारले पुलिसलाई १–० ले पाखा लगाएको थियो । लिगपछि मोफसलमा थ्री स्टार र पुलिसबीच प्रतिस्पर्धा भएको यो नै पहिलोपटक हो ।

१७औं संस्करणको आहारारा गोल्डकपसम्म पुलिसले आठपटक फाइनल स्थान सुरक्षित गरेको थियो । पुलिसले यो प्रतियोगिता पाँचपटक जितेको छ । यसअघि दुवै टोलीले बाई पाएर क्वार्टरफाइनलमा स्थान बनाएका थिए । क्वार्टरफाइनलमा थ्री स्टारले गान्तोक सिटीलाई ३–० ले पराजित गरेको थियो । पुलिसले आयोजक सहारालाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पाखा लगायो । 

पोखरा रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलको आठौँ मिनेटमा पुलिसले १–० को अग्रता लिएको थियो । रवि पासवानले पोस्टभन्दा २५ यार्ड टाढाबाट दिएको क्रसमा कप्तान भरत शाहले वान टचमै अग्रता गोल गरेका थिए । पहिलो हाफमा पुलिस एक गोलले मात्र अगाडि रह्यो । मध्यान्तरपछि खेलमा थप सुधार गरेको पुलिसले दुई गोल थप्यो । पुलिसलाई अन्तिम दुईमा पुर्‍याउन दोस्रो हाफमा दुवै गोल नीरकुमार राईले गरेका थिए । खेलको ५१औँ मिनेटमा मैदानको करिब मध्यभागबाट एकल प्रयासमा नीरकुमारले पुलिसलाई २–० को अग्रता दिलाए । उनले डिबक्सभित्रबाट प्रहार गरेको बल थ्री स्टारका गोलरक्षक पूर्ण चेम्जोङले पन्च गर्न खोजेका थिए । तर, बल चेम्जोङको ग्लोब चुम्दै गोलमा परिणत भयो । 

खेलको ७२औँ मिनेटमा नीरकुमारले व्यक्तिगत दोस्रो गोल गर्दा पुलिस ३–० ले अघि रह्यो । उनले तेज तामाङको पासमा गोल गरेका हुन् । पुलिसका प्रशिक्षक अनन्तराज थापाले टोलीमा जुनियर र लडाकु स्वभावका खेलाडी भएकाले जित हात पारेको बताए । ‘हामीले थ्री स्टारविरुद्ध सुरुदेखि नै लडाकु स्वभावमा प्रतिस्पर्धा गरेका थियौँ, सुरुमै गोल निस्कियो,’ थापाले भने, ‘यसले फाइनल पुग्न सजिलो भयो ।’ प्रशिक्षक थापाले पोखरामा उपाधि जित्नकै लागि आएको बताए ।

हारपछि थ्री स्टारका प्रशिक्षक मेघराज केसीले पुलिस फाइनलको हकदार टोली भएको बताए । ‘हामीविरुद्ध उनीहरूले जसरी खेले, त्यो फाइनलको हकदार थियो,’ केसीले भने, ‘पुलिसले सोचेभन्दा निकै राम्रो खेल खेल्यो ।’ विपक्षीले समयमा गोल गर्नु र आफ्ना खेलाडीले पाएका अवसरको सदुपयोग गर्न नसक्नु पनि हारको कारण रहेको केसीको भनाइ छ ।