मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी मस्को
२०७६ फाल्गुण २९ बिहीबार ०७:०६:००
Read Time : < 1 मिनेट
विश्व

पुटिनको कार्यकाल लम्ब्याउन संविधान संशोधन

Read Time : < 1 मिनेट
एजेन्सी मस्को
२०७६ फाल्गुण २९ बिहीबार ०७:०६:००

रसियाको संसद्ले मुलुकको संविधान संशोधन प्रस्तावलाई स्वीकृति प्रदान गरेको छ । पछिल्लो कदमबाट राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल अरू १२ वर्ष थप्न बाटो खुलेको छ ।  

तल्लो सदन ड्युमाले बुधबार पारित गरेको संविधान संशोधन प्रस्तावबमोजिम राष्ट्रपति पुटिनले सन् २०२४ पछि अरू दुई कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवार बन्न पाउनेछन् । विद्यमान व्यवस्थाअनुसार पुटिनको कार्यकाल आगामी सन् २०२४ मा समाप्त हुँदै छ तर नयाँ प्रस्तावअनुसार उनी सन् २०२४ पछि दुईपटक चुनावमा प्रतिस्पर्धा गर्न पाउनेछन् । ड्युमाले पारित गरेको संशोधन प्रस्तावमा  रसिया सरकारको कार्यकारी शक्ति अरू सशक्त बनाउने तथा राष्ट्रपतिको अधिकार क्षेत्रलाई अझ व्यापक बनाउनेछ । 

राष्ट्रपति पुटिनको नियन्त्रणमा रहेको तल्लो सदन स्टेट ड्युमामा भएको मतदानमा संविधान संशोधनको पक्षमा ३ सय ८३ मत र विपक्षमा शून्य मत परेको थियो । सदनमा ४३ जना अनुपस्थित थिए । 

संसद्बाट स्वीकृत भएको संविधान संशोधनसम्बन्धी सो प्रस्तावमाथि आगामी अप्रिल २२ मा राष्ट्रव्यापी मतदान हुनेछ । विपक्षीले राष्ट्रपतिको कार्यको भत्र्सना गर्दै त्यसविरुद्ध देशव्यापी प्रदर्शन गर्ने बताएका छन् । रुसको गुप्तचरसम्बन्धी निकाय  केजिबीका पूर्वकर्मचारी पुटिनले रसियामा सत्ता सम्हालेको दुई दशक बितेको छ । दुईपटक पूरै चार वर्षे कार्यकाल राष्ट्रपति बनेपछि उनी सन् २००८ मा प्रधानमन्त्री बनेका थिए ।  सो समयमा उनकै विश्वास पात्र दिमित्री मेदभेदेब राष्ट्रपतिमा निर्वाचित भएका थिए । 

मेदभेदेबको कार्यकालमा संविधान संशोधन गरेर राष्ट्रपतिको कार्यकाल ६ वर्ष बनाइएको थियो । सन् २०१२ र २०१८ को निर्वाचनमा उनी पुनः ६ वर्षका लागि राष्ट्रपतिमा निर्वाचित भएका थिए ।