मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवीन प्यासी
२०७५ माघ ७ सोमबार ०८:०२:००
Read Time : > 4 मिनेट
फिचर

कवाडीबाबुको भिजिटिङ कार्ड

Read Time : > 4 मिनेट
नवीन प्यासी
२०७५ माघ ७ सोमबार ०८:०२:००

उनी ढोका–ढोका चहारेर कवाडीका सामान सोध्छन् । त्यसपछि कमिजको खल्तीमा केही ठूलै कुरा छ जस्तो गरेर हात हाल्छन् । पकेट डायरी पल्टाएर ‘भिजिटिङ कार्ड’ निकाल्छन् । भन्छन्, ‘तपाईंकोमा सामान भएपछि मलाई फोन गर्नुस् है !’कार्डको माथि लेखिएको छ, ‘कवाडी बाबु’ । त्यसको ठीकमुनि सम्पर्क नम्बर छ । उनी एनटिसी र एनसेल दुवै नम्बर चलाउँछन् । कार्डमा ‘बोल्ड’ अक्षरमा लेखिएको छ, ‘कवाडी सामान बिक्री गर्नुपरेमा हामीलाई सम्झनुहोस् ।’ ‘सेवामा’ लेखिएको छ, ‘पुरानो कागज, फलाम, मोबाइल बोर्ड, धारा, तार इत्यादि... ।’ ‘नोट’मा लेखिएको छ, ‘ज्यालादरी कामदार पाइन्छ, यसबापत कवाडी सामान उपलब्ध गराइदिए पनि हुन्छ ।’ 

भिट्टोरियो डे सिसाको इटालियन क्लासिकल फिल्म ‘बाइसाइकल थिप्स’को साइकलसँग मिल्दोजुल्दो साइकलअगाडि उभिएका छन् कवाडीबाबु उर्फ दयानाथ राउत । साइकलको ह्यान्डलमा केही थान बोरा झुन्डिएका छन् । साइकलपछाडि पनि बोरा झुन्डिएका छन् । मफलर लगाएका, खैरो पाइन्ट र गोल्डस्टार जुत्तामा दयानाथ साइकल समातिरहेका छन् । ‘अब म पनि गोल्डस्टार जुत्ता लगाउने हो, पैसा नभएर होइन, फेसन हो फेसन,’ यसो भन्ने साथी प्रशस्तै भेटिन्छन् । उनीहरूका लागि फेसन हो गोल्डस्टार जुत्ता, तर कवाडीबाबुका लागि बाध्यता हो ।

‘मेरो नाम दयानाथ राउत, रौतहट जिल्ला धरमपुर गाविस,’ परिचय सोध्नासाथ एकैश्वासमा भनिभ्याए । बसाइ अनामनगर । चार सन्तानका पिता । सबै कमलपोखरी कमल बेसिक स्कुलमा पढ्छन् । उनकी श्रीमती अनामनगरवरिपरि बदाम किन्ने ग्राहक खोजिरहेकी भेटिन्छिन् ।  दयानाथले कवाडीमा काम गरेको २२ वर्ष भयो । सुरु गर्दा १६ वर्षका थिए । अहिले ३८ वर्षमा हिँडिरहेका छन् । उनको हरेक दिन काठमाडौंका गल्लीमा कवाडी सामान खोजेरै बित्छ । कोठाको भित्तामा राखिएको पात्रोमा सार्वजनिक बिदाहरू छन्, तर ती दयानाथका लागि होइनन् । उनको जीवनमा बिदा भन्ने दिन नै छैन । बिदाको दिन आउन कि आफू बिरामी हुनुपर्छ कि त परिवार । 

छोराछोरीले भने आफूजस्तो काम गर्न नपरोस् भन्ने चाहन्छन् । जेठी छोरी सात कक्षामा पढ्छे । उनी भन्छन्, ‘मेरी छोरी नर्स या डाक्टर बनोस् भन्ने लाग्छ ।’ छोराहरू पनि डाक्टर या इन्जिनियर बनून् भन्ने कामना छ उनको । ‘अनि खर्च त धेरै लाग्छ नि महँगो विषय पढ्दा ?’ प्रश्न स्वाभाविक हो । उनी झटपट जवाफ दिइहाल्छन्, ‘मैले कमाएको सबै खर्च गर्छु, कमाएकाले पुगेन भने भगवान् छन् ।’ 

आफूले गरेजस्तो काम गर्दा पेट मात्र पाल्न सकिने, तर समाजका लागि केही गर्न नसकिने दयारामको विश्लेषण छ । छोराछोरीले देशका लागि केही गरून् भन्ने चाहन्छन् । तर, सोचेको पुग्नैपर्छ भन्ने छैन । त्यसकारण उनलाई जिन्दगीसँग गुनासो छैन । उनी भन्छन्, ‘छोराछोरीका लागि सोचेकोजस्तो भए त राम्रै हुन्थ्यो, तर भविष्यको कुरा भन्न सकिन्न ।’

उनलाई राजनीतिप्रति पनि चासो छ । तर, सम्झिँदा दिक्क लाग्छ । कार्ल माक्र्सको कम्युनिस्ट घोषणापत्रमा भनिएको छ, ‘संसारभरका मजदुरहरू एक होऊ ।’ मजदुरका नाममा अनेक आन्दोलन पनि भएका छन् । तर, मजदुरहरू एक भए–भएनन् उनलाई थाहा छैन । उनलाई कवाडी सामान खोजेर हिँड्नमै फुर्सद छैन । ‘आन्दोलनमा गएर के गर्नु, पेट पाल्नुपर्छ,’ उनी भन्छन् । अहिले त उनलाई राजनीतिदेखि नै वितृष्णा छ । आफूजस्तो सर्वसाधारण जनताले राजनीति गर्न नसक्ने उनले बुझिसकेका छन् । न त कुनै नेताप्रति नै उनको विश्वास छ । विकासका सवालमा ९५ प्रतिशत नेताले झुट बोल्छन् जस्तो लाग्छ उनलाई । झुट नबोल्ने शक्तिमा पुग्दैनन् । दयानाथ भन्छन्, ‘जसका लाठ उसका भैँस, यो देशमा त्यस्तै चल्छ ।’ 

कहिलेकाहीँ नेताहरूबाट आस पनि लाग्छ । उनले सुनेका रहेछन्, ‘चीनमा पिउनदेखि हाकिमसम्मको तलब बराबर हुन्छ ।’ दयानाथले भने, ‘यहाँ पनि त्यस्तै हुनुपर्छ, पदअनुसार सेवासुविधा पाए पनि तलब भने बराबर हुनुपर्छ, बरु राम्रो काम गर्नेलाई सुविधा थपिदिनुपर्छ ।’ त्यसो भए मात्र देश विकास हुने उनको धारणा छ ।

दयानाथले बाल्यकाल रौतहटको धरमपुरमा बिताए । परिवारको आर्थिक स्थिति कमजोर भएकै कारण आफूले पढ्न नपाएको बताउँछन् । ६ जनाको परिवारमा उनी जेठा सन्तान । १६ वर्ष पुगेपछि काठमाडौं भासिए । रोल्पा रुकुमबाट जनयुद्ध नेपालभरि फैलँदै थियो । उनले पनि काठमाडौंमा धेरैपटक सेनालाई आफू माओवादी नभएको उत्तर दिनुपरेको थियो । उनी भन्छन्, ‘कवाड उठाउनेलाई पनि शंका गथ्र्यो, धेरैपटक दुःख पाएँ, म त उत्तर दिँदादिँदा थाकेको थिएँ ।’ 

दयानाथ काठमाडौं छिरेको दुई दशक पार भइसक्यो । जनयुद्धेखि दोस्रो जनआन्दोलन, संविधान घोषणा र संघीयतासम्म आइपुग्दा उनका खुट्टा साइकलको पाइडलमा उसैगरी तलमाथि गरिरहेका छन् । गति सुस्त भइसकेको छैन । कवि भूपि शेरचनले कवितामा भनेजस्तो ‘म पाइडल जति चलाउँछु, उतिवेलासम्म डाइनामो बल्छ’ भन्ने कुरा दयानाथमा लागू भएन । किनभने, डाइनामो बल्नका साइकलमा बत्ती थिएन । तर, उनी रोकिएका छैनन् । कवाडी सामान खोज्दै घरका गेटहरूमा उभिरहेका हुन्छन् । भन्छन्, ‘घरव्यवहार त चलाउनैपर्छ ।’ 

दयानाथको हरेक दिन काठमाडौंका गल्लीमा कवाडी सामान खोजेरै बित्छ । कोठाको भित्तामा राखिएको पात्रोमा सार्वजनिक बिदाहरू छन्, तर ती दयानाथका लागि होइनन् । उनको जीवनमा बिदा भन्ने दिन नै छैन । बिदाको दिन आउन कि आफू बिरामी हुनुपर्छ कि त परिवार । 

आफू अपमानित भएका घटना दयानाथको ३८ वर्षे उमेरभन्दा पनि ज्यादा छन् । यतिपटक नै हो भनेर भन्न सक्दैनन् । धेरैपटक फटाहाहरूको सिकार भएको घटना दयानाथको स्मृतिमा नाचिरहन्छन् । खिया लागेको फलामको कस बसेका नोटहरू उनको खल्तीबाट कतिपटक लुटिए–लुटिए । सर्ट र प्यान्टको गोजी नै च्यातेर कतिले लगे–लगे । ती घटना ताजै छन् । उनलाई ‘मसँग १० हजारको माल छ, किन्न सक्छौ’  भनेर सोध्थे । ‘छ’ भनेपछि एकान्तमा पु-याएर लुट्थे । उनले एकपटक ख्वाक्क खोकेर भने, ‘दुःख लागेको कुरा, हामीसँग न फोर्स छ, न उजुर गरेर केही हुन्छ ।’

एकपटक उनले भर्खर नयाँ साइकल किनेका थिए । ६ हजारमा । नयाँ साइकलमा कवाडका सामान बोकेर राम्रै कमाइ गर्ने मीठा कल्पनामा हिँडिरहेका थिए । थापाथलीस्थित ट्रेड टावरको कुनै अफिसका हाकिमले कवाडी सामान लिन बोलाए । उनी सरासर ट्रेड टावर गए । तर, गार्डले भित्र जान दिएनन् । आफू आउनुको कारण बताएपछि भने, ‘साइकल यहीँ छाड्नू, म हेरिदिन्छु, केही हुँदैन ।’ साइकलका दुई चक्कामा दुई चाबी लगाए । साइकल छाडेर भित्र पसे । सामान मिलाए । बोकेर निस्किए । तर, बाहिर साइकल थिएन । 

दयानथले भने, ‘तर म पक्का थिएँ, मेरो साइकल गार्डले नै चोरेको थियो ।’ साइकल हराएपछि उनका आँखाबाट आँसु बगे । हल्लाखल्ला भयो । ‘कवाडीबाबु रुँदै छ भन्ने सुनेर मान्छेहरू भेला भए, उनीहरूले जम्माजम्मी गरेर २५ सय रुपैयाँ दिए, ६ हजारको साइकल हरायो, २५ सय बोकेर फर्किएँ,’ उनी सम्झिन्छन् । उनी विशेषतः सडकतिर बस्ने किशोर केटाहरूको निसानामा धेरैपटक परेका छन् । आफू मधेसी भएकै कारण पनि ‘धोती’ भनेर बिनागल्ती गाली खाएको घटना पनि धेरै छन् । तर, सबै मान्छे उस्तै नहुने दयानाथको अनुभव छ ।

कोही कोही राम्रा मान्छे पनि छन् भन्ने लाग्छ उनलाई । उनी भन्छन्, ‘आइमाई मान्छेहरू राम्रा मन भएका हुन्छन् ।’ उनीहरूले ‘बाबु ! यो सामान लैजा’ भन्छन् । घरमा सामान राख्ने ठाउँ नभएकाले त्यसो भनेका हुन्छन् । दयानाथ भन्छन्, ‘सफाइ पनि गरिदियो, पैसा पनि पाइन्छ ।’ मधेसी भन्नासाथ हेप्ने मान्छेहरू भने त्यति पढालेखा नभएका हुन्छन् भन्ने उनको मनमा छाप बनेर बसेको छ । 

काठमाडौंमा चानचुन दुई हजारजति कवाडी सामान लिने–बेच्ने पेसामा आबद्ध भएको दयानाथको अनुमान छ । कवाडखानाबाट पनि सन्तुष्ट नै छन् । ‘कबाडखानाले चाहिँ हेप्दैन’ भन्ने प्रश्नमा उनी भन्छन्, ‘उनीहरूले हेपे र ठगे भने अर्कै ठाउँमा बेच्छु भनेर हेप्दैनन् ।’आफ्नो जीवन सायद कवाडी बटुल्ने र बेच्ने गर्दागर्दै सकिने दयानाथको अनुमान छ । आफ्नो जीवन कवाडीको खोजीमै सकिए पनि छोराछोरीले भने नयाँ सामानको खोजी गरून् भन्ने ठूलो सपना छ उनको । अहिले भने जसोतसो परिवार चलाएका छन् । अहिलेलाई भने उनको पूरा नभएको एउटै इच्छा छ । उनले भने, ‘छोराछोरी सरकारी विद्यालयमा छन्, बोर्डिङ स्कुलमा पढाउन त मन छ, तर खर्चले धान्न सकिँदैन ।’