मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ फाल्गुण २८ बुधबार ११:०८:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली

गर्भावस्थामा मधुमेह

डाक्टरको सल्लाह

Read Time : > 2 मिनेट
२०७६ फाल्गुण २८ बुधबार ११:०८:००

गर्भावस्थामा महिलालाई मधुमेह (डाइबिटिज) हुन्छ, जसलाई गर्भकालीन मधुमेह भनिन्छ । यो आमा र बच्चा दुवैका लागि घातक हुने गर्छ । पछिल्लो समयमा यो विश्वकै चुनौती बन्दै गइरहेको छ । नेपालमा भएका विभिन्न अध्ययनअनुसार कुल गर्भवतीमध्ये करिब १० देखि ३५ प्रतिशतमा गर्भकालीन मधुमेहको समस्या हुने गरेको पाइन्छ ।

 किसिम

  •  गर्भकालीन डाइबिटिज तीन किसिमका हुने गर्छन् । पहिलो हो, प्रिकन्सेप्सन डाइबिटिज । यो गर्भवती हुनुभन्दा पहिलेदेखि नै मधुमेह हुनु हो । यदि डाइबिटिजको समस्या भएका कुनै महिला गर्भवती भएमा यो समस्या हुने गर्छ । यो जटिल खालको हुन्छ । 
  • गर्भकालीन डाइबिटिज दोस्रो मुख्य समस्या हो । यो गर्भवती भएको समयमा हुने गर्छ । यो अधिकांशमा हुने डाइबिटिज पनि हो । 
  • जब गर्भावस्थादेखि नै भएको डाइबिटिज अत्यधिक मात्रामा देखिन्छ, त्यसलाई तेस्रो किसिमको गर्भकालीन डाइबिटिज भनिन्छ । 

 कारण

  • शरीरमा इन्सुलिनले पर्याप्त रूपमा काम गर्न नसकेको अवस्थामा गर्भकालीन डाइबिटिजको समस्या हुने गर्छ । बच्चाको विकासका लागि शरीरमा हार्मोन परिवर्तन वा बढी सक्रिय हुने हुन्छन् । जस्तै, एचपिएल, ग्रोथजस्ता हर्मोनले शरीरमा इन्सुलिनलाई निष्क्रिय बनाउने गर्छन् । 
  • डाइबिटिजको अर्को मुख्य कारण अस्वस्थ खानपान र जीवनशैली हो । गर्भावस्थामा यस्ता विषयमा ध्यान नदिँदा डाइबिटिजको समस्या झन् बढेर जाने गर्छ । 
  • आमाबुबामा डाइबिटिज भएमा पनि गर्भावस्थामा जोखिम बढी हुन्छ । 
  • ओभरीमा सिस्टको समस्या हुँदासमेत गर्भकालीन डाइबिटिज हुन्छ । त्यस्तै, अत्यधिक मोटोपना पनि इन्सुलिन निष्क्रय पार्ने अर्को कारण हो । 

गर्भावस्थामा मधुमेहको एउटा कारण अस्वस्थ खानपान र जीवनशैली हो । गर्भावस्थामा यस्ता विषयमा ध्यान नदिँदा मधुमेहको समस्या झन् बढेर जान्छ ।

 लक्षण

  • गर्भकालीन डाइबिटिजका कुनै लक्षण नदेखिन सक्छ । यदि कुनै महिलामा पहिलेदेखि नै डाइबिटिजको समस्या भएमा मुख सुक्ने, तौल घट्ने, थकान महसुस हुनेजस्ता लक्षण देखिन्छन् । 
  • आमाबाबु डाइबिटिज भएका, अत्यधिक मोटोपना र ओभरीमा सिस्टको समस्या देखिएका महिलामा सुगरको जाँच गरिन्छ । गर्भावस्थाको २४ देखि २८ हप्तामा हर्मोनको मात्रा बढी हुने भएकाले यो जाँच गरिएको हो । खाली पेटमा सुगरको मात्रा ८१ एमडीभन्दा बढी हुनु र ७५ ग्राम ग्लुकोज खाएको एक घन्टामा १८० एमडी वा दुई घन्टामा १५० एमडीभन्दा बढी सुगरको मात्रा भएमा गर्भकालीन डाइबिटिज भएको मानिन्छ ।

 


 रोकथाम र उपचार

  • महिलामा डाइबिटिजको समस्या भएमा पहिलेदेखि नै नियन्त्रणमा ल्याउनुपर्छ । तौल नियन्त्रण गर्ने, औषधि सेवन गरिरहेको खण्डमा औषधि परिवर्तन गर्ने वा घटाउने र खानपानमा ध्यान दिने गर्नुपर्छ । 
  • गर्भावस्थामा डाइबिटिजको समस्याबाट जोगाउन इन्सुलिन नै दिनुपर्ने हुन्छ । यसका लागि औषधि पनि प्रयोगमा ल्याउन सकिन्छ । तर, गर्भावस्थामा औषधिको प्रयोग खासै गरिँदैन । 
  • डाइबिटिजको समस्या बढी नै भएमा चिकित्सकको निगरानीमा रहेर हेरचाह गर्नुपर्छ । कतिपय अवस्थामा बच्चामा समस्या हुने भएकाले एकदमै ध्यान दिनुपर्ने हुन्छ । 
  • यो समस्या करिब पाँच वर्षमा फेरि दोहोरिन सक्ने भएकाले खानपान र जीवनशैलीमा ध्यान दिनुपर्छ । स्वस्थ खानपान र हलुका एक्सरसाइज गरेमा धेरै हदसम्म डाइबिटिजको जोखिमबाट बच्न सकिन्छ । 

यस्ता जोखिम 

  • गर्भावस्थामा डाइबिटिज भएमा पेटमा रहेको बच्चाको विकास राम्ररी नहुने, समयभन्दा अगाडि नै बच्चा जन्मिने, सामान्यभन्दा बढी वा कम तौल हुने, अपांगता भएको जन्मिने, बच्चाको मिर्गौला र ढाडमा समस्या हुने र पानी जम्नेजस्ता समस्या हुने गर्छन् । 
  • आमाको अत्यधिक मात्रामा पेट फुल्ने, रक्तचाप र तौल बढ्ने, आँखामा रेटिनामा समस्या देखिने हुन्छ । बच्चाको तौल बढी हुँदा सुत्केरीको समयमा बढी रक्तश्राव हुने, शल्यक्रियाबाट डेलिभरी गर्नुपर्ने तथा पाठेघरको मुखमा घाउ आउने हुन्छ ।