मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ फाल्गुण २८ बुधबार ०७:३७:००
Read Time : < 1 मिनेट
प्रदेश

घलेगाउँ  कालोपत्रेले जोडिँदै

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण २८ बुधबार ०७:३७:००

लमजुङको क्व्होलासोंथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा ३ को घलेगाउँसम्मको सडक कालोपत्रे हुने भएको छ । बागलुङपानीदेखि घलेगाउँसम्म १० किलोमिटर र घलेगाउँदेखि भुजुङसम्म सात किलोमिटर सडक कालोपत्रे हुने भएको हो । 

गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय लमजुङमार्फत सडक कालोपत्रे गरिन लागेको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख राम पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार घलेगाउँदेखि भुजुङसम्मको सडक फराकिलो बनाइनुका साथै स्तरोन्नति गरिने भएको छ । पराजुलीका अनुसार कुल १७ दशमलव ६३ किलोमिटर सडक कालोपत्रे र स्तरोन्नति हुनेछ । उक्त सडक सात मिटर चौडाइको बन्नेछ । भ्याटसहित ३४ करोड ७७ लाख १४ हजार चार सय आठ रुपैयाँ ७९ पैसामा कालोपत्रे र स्तरोन्नति हुन लागेको हो । 

कालोपत्रे तथा ग्राभेलका लागि कान्छाराम–नाना जेभी काठमाडौंले ३० असोज ०७६ मा सम्झौता गरेको यो आयोजना दुई वर्षभित्र पूरा हुने बताइएको छ । क्व्होलासोंथर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले सडक कालोपत्रे भएसँगै विकास र समृद्धिमा सहयोग पुग्ने बताए ।

सडक कालोपत्रे भएसँगै स्थानिय उत्पादनले बजार पाउनेछ । गाउँपालिकाका अध्यक्ष घलेका अनुसार घलेगाउँसम्म कालोपत्रे सकिएसँगै भुजुङतर्फ अघि बढाइनेछ । भुजुङ–पसगाउँ जोड्न यस वर्ष ९० लाख बजेट छ । अहिले ग्राभेल घलेगाउँ सडक धमाधम कालोपत्रे बनाइँदै छ  भने घलेगाउँदेखि भुजुङसम्मको बाटो स्तरोन्नति गरिनेछ ।