मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
पाठ्यक्रम निर्माणका विषयमा छलफल गर्न बसेको विज्ञ टिमको बैठक । तस्बिर : नयाँ पत्रिका 
मनीष खड्का रुकुम (पूर्व)
२०७६ फाल्गुण २८ बुधबार ०७:३१:००
Read Time : < 1 मिनेट
प्रदेश

स्थानीय पाठ्यपुस्तक बनाउँदै गाउँपालिका 

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम (पूर्व)
२०७६ फाल्गुण २८ बुधबार ०७:३१:००

सिस्ने गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक निर्माण गर्दै छ । आगामी शैक्षिक सत्रदेखि लागू गर्ने गरी गाउँपालिकाले सय पूर्णांकको पाठ्यपुस्तक निर्माण गर्न लागेको हो ।‘हाम्रो सिस्ने’नामक पाठ्यपुस्तक बनाइरहेको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन् । गाउँपालिकाभरिका कक्षा ६ देखि ८ सम्म पढाइ हुने १६ विद्यालयमा यो पाठ्यपुस्तक पढाइनेछ । 

गाउँपालिकाले पाठ्यपुस्तक निर्माणका लागि चालू आर्थिक वर्षमा आठ लाख बजेट विनियोजन गरेको छ । कक्षा ६, ७ र ८ सम्मको पाठ्यक्रम निर्माणका लागि गाउँपालिकाले रुक्मिणि माध्यमिक विद्यालय रुकुमकोटका शिक्षक चन्द्रबहादुर मल्लको संयोजकत्वमा ११ सदस्यीय विज्ञ टिम बनाएको छ । टिमले हाल विभिन्न चरणमा स्थानीय सरोकारवालासँग छलफलसमेत गरेर पाठ्यक्रम बनाइरहेको छ । 

तीनवटै कक्षाको पाठ्यक्रम लेख्ने काम सकिएको र हाल सम्पादनको काम भइरहेको संयोजक मल्लले बताए । जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षासम्बद्ध सरोकारवालालगायतसँग छलफल गरी पाठ्यक्रम लेख्ने काम सकिएको र केही थपघट गर्नुपर्ने ठाउँमा सम्पादन भइरहेको उनले बताए । सातवटा विषयवस्तु समेटेर पाठ्यपुस्तक निर्माण गरिएको उनको भनाइ छ । 

गाउँपालिकाको भौगोलिक अवस्था, पर्यटन, जनसंख्या, ऐतिहासिक पृष्ठभूमि, सामाजिक मूल्य–मान्यतालगायत सात विषयवस्तु पठ्यक्रममा समेटिनेछन् । पाठ्यक्रम तयार भएपछि गाउँपालिकामा बुझाइने विज्ञ टिमले जनाएको छ । तीनवटा कक्षाका लागि पाठ्यक्रम तयार भए पनि पहिलो वर्ष आगामी शैक्षिक सत्रमा भने कक्षा ६ मा मात्रै लागू हुनेछ । अरू दुई शैक्षिक सत्रमा क्रमशः ७ र ८ कक्षामा अनिवार्य विषयका रूपमा पाठ्यपुस्तक लागू हुनेछ । प्राथमिक शिक्षा पाठ्यक्रम, २०४९ मा स्थानीय विषयवस्तु समेटेर पाठ्यपुस्तक बनाई लागू गर्न सकिने व्यवस्था गरिएको विज्ञ टोली संयोजक मल्लले बताए ।