मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तोप्चेन भोटेको साथबाट गत २७ असोजमा भोटखोला गाउँपालिका–२ चेपुवाबाट बरामद भएको पाँच किलो सुन ।
२०७६ फाल्गुण २८ बुधबार ०७:१८:००
Read Time : < 1 मिनेट
प्रदेश

पाँच किलो सुन तस्करी प्रकरण, तीन लाख धरौटीमा छुटे चालक

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण २८ बुधबार ०७:१८:००

पाँच किलो सुन तस्करी अभियोगमा पक्राउ परेका गाडीचालक रिन्जिन भोटे तीन लाख रुपैयाँ धरौटीमा छुटेका छन् । जिल्ला अदालत चैनपुरको आदेशमा तीन लाख रुपैयाँ धरौटी राखेर भोटे रिहा भएको अदालतका स्रेस्तेदार डिल्ली प्रसाईंले जानकारी दिए ।

गत २७ असोजमा संखुवासभाको भोटखोला गाउँपालिका–२ चेपुवाबाट सुनसहित पक्राउ परेका २६ वर्षीय तोप्चेन भोटेले दिएको बयानका आधारमा रिन्जिन पक्राउ परेका थिए । तोप्चेनको बयानका आधारमा प्रहरीले खाँदबारी–१ बस्ने जर्गा भोटे र चालक रिन्जिनलाई पक्राउ गरेको थियो । विशेष सुराकीका आधारमा चीनबाट किमाथांका नाका हुँदै नेपाल ल्याउँदै गरेको अवैध पाँच किलो सुन प्रहरीले चेपुवाबाट बरामद गरेको थियो । 

राजस्व अनुसन्धान विभाग काठमाडौंले ६ जनाविरुद्ध ३० करोड २६ लाख बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । जिल्ला अदालत चैनपुरमा ३० करोड २६ लाख बिगो दाबीसहित गत १० मंसिरमा मुद्दा दर्ता गराएको थियो ।

विभागले विदेशी विनिमय अपचलनको कसुरमा १५ करोड १३ लाख र राजस्व चुहावट गरेको आरोपमा १५ करोड १३ लाख गरी बिगो दाबी गरेको अदालतका सूचना अधिकारी प्रसाईंले बताए । राजस्व अनुसन्धान विभागका अनुसार तोप्चेन भोटे, रिन्जिन भोटे, जर्गा भोटे, छिरिङ भोटे, ग्यात्सो भोटे, क्यमा भोटे र सोनाम डोमा भोटेविरुद्ध मुद्दा दायर गरेको जनाएको छ । 

अहिलेसम्म पाँच किलो सुनकाण्डमा तोप्चेन, चालक रिन्जिन र जर्गा भोटे गरी तीनजना पक्राउ परेका छन् भने अन्य चारजना अझैसम्म फरार रहेका छन् । उनीहरूको अझै पनि सूक्ष्म रूपमा खोजी भइरहेको प्रहरीले जनाएको छ ।