मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ फाल्गुण २७ मंगलबार ०८:२३:००
Read Time : > 3 मिनेट
अर्थ

नाफा बढाउँदै गरेका विकास बैंक वाणिज्य बैंकसँग मर्जरमा जाँदै

गत आवको पहिलो ६ महिनामा ३ अर्ब १७ करोड ८२ लाख नाफा गरेका २३ विकास बैंकले यस आवको दोस्रो त्रैमासमा ३ अर्ब ५४ करोड ५४ लाख नाफा गरेका छन्

Read Time : > 3 मिनेट
२०७६ फाल्गुण २७ मंगलबार ०८:२३:००

नाफा बढाउँदै गरेका विकास बैंकहरू वाणिज्य बैंकसँगै विलय तथा मर्ज हुन थालेका छन् । कतिपय विकास बैंक वाणिज्य बैंकसँग विलय भइसकेका छन् भने कतिपय मर्जरको प्रक्रियामा छन् । नेपाल राष्ट्र बैंकले बैंकहरूको संख्या घटाउन बैंक तथा वित्तीय संस्थाहरू एक–आपसमा मर्जरमा जान निर्देशन दिएको थियो । 

उक्त निर्देशनअनुसार वाणिज्य बैंकहरू एक–आपसमा मर्जरमा जान नमानेपछि वाणिज्य बैंकले विकास बैंकलाई प्राप्ति या मर्ज गर्ने नीति अपनाएको डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष तथा गरिमा विकास बैंकका सिइओ गोविन्दप्रसाद ढकालले बताए । वाणिज्य बैंकहरू एक–आपसमा मर्जर हुँदा प्रमुख कार्यकारी अधिकृत र सञ्चालकको व्यवस्थापनमा समस्या निम्तियो । त्यसैले पनि विकास बैंकसँग मर्जरमा जाँदा सिइओ वाणिज्य बैंककै हुने कारण विकास बैंकलाई प्राथमिकता दिएको उनको भनाइ छ । 

केही वर्षअगाडिसम्म नेप्सेमा ९० वटा विकास बैंक सूचीकृत थिए । मर्जर तथा प्राप्तिमा गएका कारण अहिले २२ वटा मात्र सूचीकृत छन् । राष्ट्र बैंकले मर्जरमा जाने कम्पनीहरूलाई केही छुटको पनि व्यवस्था गरेको छ । सो छुट तथा अफर पाउन पनि वािणज्य बैंकले विकास बैंक रोजेको उनले बताए । मर्जरमा गएपछि करमा छुट, उपत्यकाबाहिर शाखा खोल्न सुविधा, प्राथमिक क्षेत्रमा विशेष सुविधा, कर्जा र निक्षेपबीचको ब्याजदरको अन्तर ४ दशमलव ४ प्रतिशत कायम गर्नुपर्ने र ऋणपत्र जारीमा सुहलियतलगायतका सुविधा पाउँछन् । 

अन्य बैंकको हकमा सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृत पदबाट हटेको कम्तीमा ६ महिना व्यतीत नभई यस बैंकबाट इजाजतपत्र प्राप्त अन्य संस्थामा सञ्चालक वा अन्य कुनै पनि हैसियतमा काम गर्न नपाउने प्रावधान छ । तर, मर्जरमा जानेलाई यस्तो निर्देशन लागू नहुने व्यवस्था छ । नेप्सेमा सूचीकृतमध्ये चार विकास बैंकलाई वाणिज्य बैंकले गाभ्न लागेका छन् । मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गर्न लागेको छ । सिटिजन्स बैंकले सहयोगी विकास बैंक, प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंक, एनएमबि बैंकले कञ्चन डेभलपमेन्टलाई गाभ्ने प्रक्रिया आगाडि बढाएका छन् । 

 नाफा ११ दशमलव ५५ प्रतिशत बढ्यो
चालू आवको दोस्रो त्रैमासमा विकास बैंकहरूको नाफा गत आवको सोही अवधिको तुलानमा औसतमा ११ दशमलव ५५ प्रतिशत बढेको छ । गत आवको पहिलो ६ महिनामा ३ अर्ब १७ करोड ८२ लाख नाफा गरेका २३ विकास बैंकले यस आवको दोस्रो त्रैमासमा ३ अर्ब ५४ करोड ५४ लाख नाफा गरेका छन् । 

वित्तीय विवरण सार्वजनिक गरेका विकास बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले ४७ करोड २५ लाख १२ हजार नाफा गरेको छ । बैंकले गत आवको सोही अवधीमा ४२ करोड ९८ लाख ९ हजार नाफा गरेको थियो । बैंकको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा करिब १० प्रतिशत बढेको छ ।
 
 प्रतिशतमा तिनाउ मिसन र रकममा मुक्तिनाथ विकास बैंक अगाडि
बैंकले गत आवको दोस्रो त्रैमासको तुलनामा करिब १ सय ५७ प्रतिशत नाफा गरेको छ । चालू आवको दोस्रो त्रैमासमा १० करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले गत आवको यसै अवधिमा ४ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस बैंकले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेसँगै बैंकको पुँजी वृद्धि भई बैंकले व्यवसाय विस्तारमा जोड दिँदा बैंकको नाफामा उल्लेख्य सुधार भएको हो ।

नेपाल कम्युनिटी डेभलपमेन्टलाई आफूमा गाभेपछि यस बैंकको चुक्ता पुँजी ५० करोड ६९ लाख रुपैयाँबाट बढेर एक अर्ब ६७ करोड ५८ लाख रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकको जगेडा कोषमा १९ करोड ४५ लाख रुपैयाँ र सेयरधनी कोषमा ३७ करोड ६१ लाख रुपैयाँ सञ्चित छ । 

दोस्रोमा सप्तकोसी डेभलपमेन्ट बैंकले गत आवको सोही अवधिको तुलनामा नाफा १ सय १ दशमलव ७२ प्रतिशतले बढाएको छ । विवरणअनुसार पुस मसान्तसम्ममा बैंकले ३ करोड ४ लाख खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड ५३ लाख बढी हो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा उल्लेख्य सुधार भएसँगै बैंकको खुद नाफामा पनि सोहीअनुसारको सुधार देखिएको हो ।

दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले ११ करोड ८ लाख खुद ब्याज आम्दानी गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ करोड १४ लाख रुपैयाँ बढी हो । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २ करोड १० लाख बढेर ४ करोड २५ लाख पुगेको छ । खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । 

 ६ विकास बैंकको नाफा घट्यो
खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ विकास बैंकको घटेको छ । नाफा घट्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सहारा विकास बैंक, सिन्धु विकास बैंक, देवः विकास बैंक र गण्डकी विकास बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा घटेको छ । बैंकहरूको समीक्षा अवधिमा बढी ब्याज खर्च बढेका कारण खुद ब्याज आम्दानीमा कमी आई खुद नाफा घट्न पुगेको विवरणमा देखिन्छ । 

सबैभन्दा बढी सहारा विकास बैंकको नाफा घटेको छ । बैंकको नाफा गत आवको तुलनामा ८७ दशमलव ४१ प्रतिशत घटेको हो । बैंकको खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार भए पनि अन्य सञ्चालन आम्दानी घटेसँगै इम्पेरिमेन्ट चार्ज बढ्दा खुद नाफा घटेको हो । पुस मसान्तसम्ममा बैंकले २ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४ प्रतिशत बढी हो । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने २५.९२ प्रतिशत बढेर १ करोड ४५ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको अन्य सञ्चालन आम्दानी ४७ प्रतिशत घटेर ५२ लाख ५२ हजारमा सीमित भएको छ । त्यसैगरी, पुस मसान्तसम्ममा बैंकको इम्पेरिमेन्ट चार्ज ११ लाख ६० हजार रुपैयाँ रहेको छ ।

 प्रतिसेयर आम्दानी
चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक्सेल डेभलपमेन्ट बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै २९ रुपैयाँ ७० पैसा कायम भएको छ । अन्य बैंकहरूको तुलनामा सिन्धु विकास बैंक र ग्रिन डेभलपमेन्ट बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा थोरै ४ रुपैयाँ १७ पैसा कायम भएको छ ।जसमध्यमा ६ वटा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँभन्दा माथि रहेको छ भने १८ वटाको सोभन्दा कम रहेको छ । समीक्षा अवधिमा सबै विकास बैंकहरूको औसत प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७४ पैसा कायम भएको छ ।