१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हाेलीकाे चीर-फाइल फाेटाे
एजेन्सी काठमाडाैं
२०७६ फाल्गुण २६ सोमबार १६:३९:००
Read Time : > 1 मिनेट
समाचार

पौराणीक कथामा होलीकाे प्रसंग

Read Time : > 1 मिनेट
एजेन्सी काठमाडाैं
२०७६ फाल्गुण २६ सोमबार १६:३९:००

उपत्यकासहित पहाडी जिल्लामा सोमबार होली पर्व मनाइदैछ । रंग र उल्लासको पर्व होली हिन्दु धर्मका विभिन्न ग्रन्थमा उल्लेख कथाका आधारमा मनाउने गरिन्छ । होलीको प्रसंग नारद पुराण, भविष्य पुराण, महाभारत, कृष्ण चरित्र, विष्णु पुराणजस्ता ग्रन्थमा उल्लेख भएको पाइन्छ । इसापूर्व ३ सय वर्ष पुरानो एउटा अभिलेखमा पनि होलीको प्रसंग उल्लेख छ । 

यस्ता छन् हिन्दु धर्मग्रन्थमा उल्लेखित कथा
कश्यप ऋषीकी पुत्री, असुर हिरण्यकश्यपकी बहिनी हुन् होलिका । विष्णु पुराणमा उल्लेखीत तेत्रा युगको कथाअनुसार होलिकालाई आगोमा नजल्ने बरदान थियो । यता हिरण्यकश्यप भने भगवान विष्णुका घोर विरोधी थिए । 

तर, उनका छोरा भक्त प्रल्हाद भने विष्णुका ठूला भक्त थिए । आफ्नो छोरा नै आफ्नो विरोधीको भक्त भएको हिरण्यकश्यपले रुचाएनन् । हिरण्यकश्यपले विष्णुको भक्त भएको आफ्नो छोरालाई मार्ने प्रपञ्च रचे । छोरालाई आगोमा जलाएर मार्ने उदेश्य अनुसार हिरण्यकश्यपले आफ्नी बहिनी होलिकासँग मद्धत मागे ।

होलिका प्रल्हादलाई काखमा सुताएर आगोको ज्वालामा बस्न तयार भईन् । आफ्ना भक्तलाई षडयन्त्रपूर्वक मार्न लागिएको चाल पाएपछि विष्णु भगवानले आगोमा बसेकी होलिकाको काखबाट भक्त प्रल्हादलाई टिपेर बचाए र होलिकालाई आगोमा डढाएर मारे । विष्णुले भक्त प्रल्हादलाई बचाएर होलिकालाइ मारेको खुसियालीमा होली मनाइन्छ ।

कृष्ण र पुतनाको कथा
कतिपयले कृष्णले पुतना नाम गरेकी दानवको वध गरेको खुसियालीमा होली मनाइने गरेको पनि बताउने गर्छन् । कृष्ण चरित्रअनुसार कृष्णका मामा कंसले बालक कृष्णलाई मात्र पुतना नाम गरेकी दानव पठाए ।

स्तनपानको वहानामा कृष्णलाई मार्ने उदेश्यसहित पुतनाले आफ्नो वक्षस्थलमा विष दलिन् । र कृष्णलाई स्तनपान गराउन गइन् । पुतनाले आफूलाई मार्ने योजना बनाएको चाल पाएका कृष्णले उल्टै पुतनालाइ मारे । पुतनालाइ मारेको खुसियालीमा होली मनाइन्छ ।

महाभारतको कथा
महाभारतको कथा अनुसार युधिष्ठरलाई एक पटक कृष्ण कथा सुनाउँछन् । कृष्णले सुनाएको कथाअनुसार रामका पूर्वज रघुको शासनकालमा एउटी असुर महिला थिइन् । ति असुर महिलासँग युद्ध लड्न असंभव जस्तै थियो । असुर महिलालाई मार्न रघुले विभिन्न जुक्ती लगाउँदा पनि सफल हुन सकेका थिएन् ।

तर, एकदिन रघुका गुरु वशिष्ठले असुर महिलालाई मार्ने उपाए दिए । वशिष्ठले दिएको उपाय अनुसार स–साना बालबालिकाले दाउँरा, घाँस आदिको थुप्रो बनाएर त्यसमा आगो लगाउनुपर्ने हुन्छ । त्यसपछि आगोको वरीपरी नाँच गान गरेपछि असुर महिलाको मृत्यु हुन्छ । वशिष्ठको उपायले काम गर्छ । असुरको मृत्यु हुन्छ । कतिपयले यही असुरको मृत्युको खुसियालीमा होली मनाउन थालिएको पनि भन्छन् ।

शिवको आक्रोशले कामदेव भष्म
होलिको अर्को कथा कामदेवसँग जोडिन्छ । पार्वती शिवसँग विवाह गर्न चाहान्थिन् । तर तपस्यामा लिन शिवले पार्वतीको प्रेमलाई वेवास्ता गरे । पार्वतीको प्रेम वास्ता नगरेपछि प्रेमका देवता कामदेव आक्रोशित भए । आक्रोशित कामदेवले तपस्यामा लिन शिवमाथि पुष्प वाण चलाए । 

कामदेवको वाणले तपस्या भंग भएपछि शिव आक्रोशित भए । आक्रोशित शिवको तेस्रो नेत्र खुल्यो । तेस्रो नेत्रबाट निस्एिको आगोको ज्वालाले कामदेव भष्म भए ।
कामदेव भष्म भएपछि कामदेवकी श्रीमती रतीले शिवसँग कामदेवलाई व्यूताइदिन हार गुहार गरिन् । विलौना गरिन् । रतीको विलौना स्विकार्दै शिवले पछिल्लो दिन कामदेवलाई फेरी जिवित तुल्याए ।यसरी कामदेव फेरी जीवित भएको खुसियालीमा होली मनाउने चलन सुरु भएको विश्वास गर्नेहरु पनि छन् । 

पौराणीक कथा र ग्रन्थका विभिन्न कथालाई आधार मानेर हिन्दु धर्मावलम्बी बसोबास गर्ने विभिन्न देशमा होली मनाउने गरिन्छ ।