मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ फाल्गुण २६ सोमबार १०:११:००
Read Time : > 1 मिनेट
नयाँCity

प्रहरीले पत्ता लगाइदिन्छ हराएको सामान

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण २६ सोमबार १०:११:००

सहरमा सिसीक्यामेरा

काठमाडौं कपनकी मञ्जुु लिम्बू १८ फागुन साँझ ट्याक्सी चढेर गल्फुटार पुगिन् । उनको करिब १० तोला सुनका गरगहनासहितको झोला ट्याक्सीमै छुट्यो । उनलाई न त ट्याक्सी नम्बर याद थियो, न चालक नै चिनेजानेका । ट्याक्सीचालकले पनि इमानदारिता देखाएनन् । उनीसँग एउटै विकल्प थियो, प्रहरीमा उजुरी दिने ।

उनले १९ फागुन बिहानै महानगरीय ट्राफिक प्रहरी महाशाखाको खोजतलास शाखामा उजुरी दिइन् । त्यसलगत्तै प्रहरीले सिसीक्यामेराको फुटेजमा आँखा घुमायो । र, बा.२ज ११५३ नम्बरको ट्याक्सीलाई निगरानी ग-यो । त्यसका चालक थिए, रामबहादुर स्याङ्तान । प्रहरीले फोन गरेर सोधपुछ गरेपछि मञ्जुु चढेको ट्याक्सी त्यही भएको पत्ता लाग्यो ।

यात्रुले छाडेका सामान खोज्न ट्राफिकले सिसीक्यामेराको सहयोग लिन्छ । तर, सहरमा त्यस्ता चालक पनि छन्, जसले महँगा सामान पनि गाडीमा छुटेको थाहा पाउनासाथ प्रहरीमार्फत यात्रुलाई फिर्ता दिन्छन् । ट्राफिक प्रहरीले त्यस्तै २१ जना चालकलाई सम्मान गरेको छ ।

उजुरी दिएको १२ घन्टा नबित्दै ट्राफिक प्रहरीले करिब ६ लाख मूल्यका गहनासहितको झोला उनको हात लगाइदियो । यस्तै, नेपाल विकास अनुसन्धान प्रतिष्ठानकी अधिकृत मनीषा रायमाझीले १८ फागुन साँझ ७ बजे कार्यालयबाट पुल्चोकसम्म पुग्दा तीनवटा ल्यापटप भएकोे झोला एउटा भाडाको कारमा छाडिन् । प्रहरीले बा.१ज १४९४ नम्बरको कारको खोजी गरी सोमबार नै ल्यापटप फिर्ता गराइदियो ।

मञ्जु र मनीषा दुवैका सामान ट्राफिक प्रहरीले सिसीक्यामेरामा कैद भएका फुटेजका आधारमा फेला पारेको हो । हराएका सामान फिर्ता गर्ने मात्र होइन, सडकमा ट्राफिक नभएको मौका छोपी जथाभावी सवारी चलाउने चालक पनि पछिल्ला दिनमा सिसीक्यामेराको फुटेजका आधारमा समातिन थालेका छन् ।

ट्राफिक महाशाखाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार साउनयता सामान हराएका तीन सय ९५ वटा उजुरी परेका छन् । तीमध्ये तीन सय ४३ जनाको करिब एक करोड ४८ लाख ६० हजार रुपैयाँबराबरका सामान सिसीक्यामेराको सहयोगमा फिर्ता गराइएको छ ।

आर्थिक वर्ष ०७५-७६ मा परेका चार सय ६६ वटा उजुरीमध्ये दुई सय ९० जनाको सामान ट्राफिकले फिर्ता गराएको थियो । यस्तै, साउनयता ट्राफिक नियम उल्लंघन गर्ने नौ हजार ६ सय १८ जना सवारीचालकलाई सिसीक्यामेराको निगरानीमा कारबाही गरिएको छ । प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार दैनिक डेढ सयभन्दा बढी सवारीचालक सिसीक्यामेराको फन्दामा पर्छन् । महाशाखा प्रमुख एसएसपी भीम ढकालका अनुसार उपत्यकाभर हालसम्म एक हजार चार सय ८४ वटा सिसीक्यामेरा जडान भएका छन् । तीमध्ये अधिकांश क्यामेरा महानगरीय प्रहरी र ट्राफिक महाशाखाको नियन्त्रणमा छन् ।

चालकलाई सम्मान

यात्रुले छाडेका सामान खोज्न ट्राफिकले सिसीक्यामेराको सहयोग लिन्छ । तर, सहरमा त्यस्ता चालक पनि छन्, जसले महँगा सामान पनि गाडीमा छुटेको थाहा पाउनासाथ प्रहरीमार्फत यात्रुलाई फिर्ता दिन्छन् । ट्राफिक प्रहरीले त्यस्तै २१ जना चालकलाई सम्मान गरेको छ ।

त्यसरी सम्मान पाउनेमा ट्याक्सीचालकहरू युवराज रानामगर, यज्ञ बराल, कुलबहादुर श्रेष्ठ, नन्दलाल नगरकोटी, सुनील थापामगर, अवधेशकुमार झा, प्रवीन तामाङ, सूर्यबहादुर तामाङ, कृष्णबहादुर खत्री, कृष्ण घिसिङ, नेत्रप्रसाद तामाङ, रामचन्द्र मोक्तान, रोएतबहादुर रोक्का, जम्क श्रेष्ठ, रिधबहादुर क्षत्री, नवीन सिग्देल, तुलसीराम खनाल, विष्णु आले, नेत्रबहादुर मगर, मनि श्रेष्ठ र नीलहरि ढुंगेल छन् ।