१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
ग्याबी हिन्सलिफ
२०७६ फाल्गुण २६ सोमबार ०८:५०:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

‘तिम्रो बाटोमा बलात्कारी छ’

न्युयोर्कको प्रदर्शनमा तिनले न्यायालय र सरकारी भवनतिर चोरऔँलो सोझ्याउँदै भनेका थिए– बलात्कारी तँ होस् !

Read Time : > 2 मिनेट
ग्याबी हिन्सलिफ
२०७६ फाल्गुण २६ सोमबार ०८:५०:००

यसको लय सरल छ, हात र खुट्टाको चाल जीवन्त छ । कोरसमा गाउँदा तिनको स्वर अकासिन्छ । तिनीहरू भन्छन्– मेरो दोष थिएन, त्यहाँ जानु मेरो गल्ती थिएन, मैले लगाएको लुगाको दोष थिएन । यो चिलीको नारीवादी गीत हो । यी शब्दले सजिलै बताउँछन्, यो एउटा बलात्कारविरोधी गीत हो । चिलीको ‘लास तेसिस’ समूहको यो गीत अहिले विश्वभरि पुगेको छ ।

नोभेम्बरयता यो ‘तिम्रो बाटोमा बलात्कारी छ’ बोलको गीत संरचनात्मक यौनहिंसाविरुद्ध मेक्सिकोदेखि फ्रान्स र केन्यादेखि भारतसम्म प्रस्तुत भइसकेकोे छ । भर्खरै हार्भे वेन्सटेनविरुद्ध मुद्दा सुनुवाइ हुँदै गर्दा यो न्युयोर्कको अदालतबाहिर पनि गाइएको थियो । अहिले ‘पिन्क पुसी ह्याट’लाई जस्तै यसलाई पनि विश्वका कुना–कुनामा अनुसरण गर्दै सामाजिक सञ्जालमा राखिँदै छ । तर, यसको वास्तविक शक्ति यो कस्तो भयो भन्दा पनि यसलाई कसरी लिइन्छ भन्नेले निर्धारण गर्नेछ ।

न्युयोर्कको प्रदर्शनमा भाग लिएकी जाकिया अन्सारी भावुक हुँदै भन्छिन्– यो खुसीको आँसु हो । यसले विगततिर लैजान्छ । त्यतिवेला त्यस्तै शक्ति थियो । अहिले हामी उत्साहित छौँ, केही राहत मिलेको छ । उनको भनाइ हार्भे वेन्सटेनतिर लक्षित थियो । उनलाई लाग्छ, यो गीतले महिला कोरसबीच सद्भाव मात्र कायम गर्दैन । न्युयोर्कको प्रदर्शनमा तिनले वेला–वेलामा न्यायालय र सरकारी भवनतिरतिर चोरऔँलो सोझ्याउँदै भनेका थिए– बलात्कारी तँ होस् ! अनि ट्रम्पटावरतिर देखाउँदै फेरि भन्थे– बलात्कारी तँ होस् ! यो त्यही टावर हो, जहाँ थुप्रै यौन दुव्र्यवहार गरेको आरोप ट्रम्पलाई लागेको थियो । 

गीतको प्रमुख सन्देश भनेको बलात्कार राजनीतिदेखि अलग छैन भन्ने नै हो । सिंगो पितृसत्तात्मक राजनीतिक, प्रशासनिक र न्यायिक संयन्त्र नारी उत्पीडनका लागि प्रयोग गरिन्छ । प्रहरीलाई जनाउँदै भनिने एउटा परम्परागत भनाइ छ– बाटोमा साथी (प्रहरी) छ । चिलियन प्रहरी र प्रशासनले गर्ने संरचनात्मक यौनहिंसालाई इंगित गर्दै यो गीतमा ‘बाटोमा बलात्कारी छ’ भनिएको हो । यसको ‘डान्स स्टेप’को बेग्लै बिम्ब छ । जस्तै उनीहरू तीनपटक कुप्री पर्छन्, यसले थुनिएका महिलालाई जनाउँछ ।

यो गीतको प्रस्तुति एउटा रंगमञ्च जस्तो लाग्छ । त्यसैले त भेनेजुएला, ब्राजिल, कोलम्बिया र लन्डनको समूहसँग मिलेर चिलीको ‘सोलिडारिटी ग्रुप’ले गत महिना यसको प्रस्तुति लन्डनको टावर ब्रिजमा दिएको थियो । प्रस्तुति दिएकी पाउला सोतो भन्छिन्– ब्रिटिस प्रस्तुति केही सुस्त थियो । तर, जब चिलीको प्रस्तुति आयो, यसले अर्कै उत्साह ल्याएको थियो ।

यो गीतले बलात्कार नियन्त्रण गर्न नसक्ने न्यायालय, प्रहरी, प्रशासन र राजनीतिज्ञलाई दोष दिन्छ । कतिपय मुलुकमा यो प्रदर्शन गर्न गाह्रो छ । भारतको प्रस्तुति दौरान प्रहरीले पानीको फोहोरा हानेको थियो । ‘मी टू’ अभियान मूलधारको हलिउडबाट आएको थियो । तर ‘बाटोमा बलात्कारी छ’ त दक्षिणी कुनाबाट आएको हो । विद्यावारिधि गर्दै गरेकी फोवी मार्टिनले गत वर्ष नै यो गीत चिलीमा सुनेकी थिइन् । यसपालि उनी टावर ब्रिजको प्रस्तुति हेर्न आइन् । उनी भन्छिन्– यो साँच्चै अद्भूत छ, अन्ततः यो दक्षिणी ध्रुवबाट यहाँसम्म आइपुगेको छ ।

यो गीतले बलात्कार नियन्त्रण गर्न नसक्ने न्यायालय, प्रहरी, प्रशासन र राजनीतिज्ञलाई दोष दिन्छ । कतिपय मुलुकमा यो प्रदर्शन गर्न गाह्रो छ ।

चार वर्षपहिला १४ वर्षीया गर्भवती किशोरी सियरा पाजको हत्यापछि अर्जेन्टिनाबाट निस्केको ‘निउनामेनस’ले पनि दक्षिण अमेरिकाभरि तहल्का पिटेको थियो । ‘बाटोमा बलात्कारी छ’ एकदमै विशेष छ । यसका हरेक स्टेपलाई गहन अध्ययन गरेर सबैले बुझ्ने गरी निर्माण गरिएको छ । यो चिलीको ‘भाल्पाराइसोका लास तेसिस’ समूहका चार नारीवादी महिलाले बनाएका हुन् ।

जब गत नोभेम्बरमा लास तेसिसले स्यान्टियागोमा प्रस्तुति दिँदै यसलाई सामाजिक सञ्जालमा राख्यो, तब यो गीत रातारात भाइरल भयो । यसलाई ल्याटिन अमेरिकाभरि अनुसरण गरियो । त्यसपछि ल्याटिन डायस्पोराले अन्त पनि पुर्‍याए । हरियो सल लिएर यसलाई गर्भपतनको अधिकारका लागि प्रस्तुत गरियो, निर्धक्क भएर लुगा छनोटको बिम्बका रूपमा पार्टीको पोसाकमा प्रस्तुत गरियोे, आफ्नो शरीर आफ्नो मर्जी भन्ने सन्देशका लागि अर्धनग्न प्रस्तुति दिइयो । सन् १९७३ मा स्यान्टियागो स्टेडियमलाई यातनागृह बनाइएको थियो । यो स्टेडियमबाहिरको ‘बाटोमा बलात्कारी छ’ प्रदर्शनमा वृद्धाहरू पनि उल्लेख्य मात्रामा थिए, जसले त्यो कठोर कालखण्ड भोगेका थिए ।

अहिले यो गीत विश्वव्यापी बनेको छ । यसलाई भारत र लेबनानमा विशुद्ध राजनीतिक हिसाबमा प्रयोग गरिएको छ । अमेरिकामा अश्वेतले प्रहरीसँगको भय चित्रण गर्न यसको प्रयोग गरिरहेका छन् । अमेरिकाकी जाकिया अन्सारी भन्छिन्– यो गीतले तिम्रो श्वेत पितृसत्ता अब सकियो भन्दै छ ।
(हिन्सलिफ ब्रिटिस लेखक तथा पत्रकार हुन्) द गार्जियनबाट