Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २५ आइतबार १०:५७:००
Read Time : > 3 मिनेट
खेलकुद

जसले घरमा एकछत्र राज गरे

Read Time : > 3 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २५ आइतबार १०:५७:००

खेलकुदमा फिट महत्वपूर्ण मानिन्छ । जब कुनै खेलाडी फिटनेसमा सधैँ अब्बल रहन्छन्, त्योवेला उसलाई हराउन मुस्किल नै पर्छ । खेलाडीले करिअरमै एकरूपता प्रदर्शन गर्नु असम्भव मान्नुपर्छ । तर, नेपाली खेलकुद वृत्तमा भने महिला खेलाडीले वर्षोंदेखि आफ्नो दबदबा बनाइरहेका छन् । उनीहरूलाई अरू खेलाडीले पछ्याउन सकेका छैनन् । यद्यपि, सन्न्यास लिने समयमा ती खेलाडीले आफूभन्दा आधा उमेरका खेलाडीलाई सहजै मैदानमा पराजित गरिरहेका छन् । नेपाली घरेलु खेलकुद प्रतियोगितामा राज गरी सफलता बोकेका खेलाडी यस्ता छन् । 

कान्छीमाया कोजु (एथ्लेटिक्स)

म्याराथनमा धेरै महिला खेलाडी आए र गए । केही खेलाडी यस्ता छन्, जसले म्याराथनलाई आफ्नो करिअर बनाएकी छिन् । कान्छीमाया कोजु, यो नाम नेपालको एथ्लेटिक्स वृत्तमा धेरैले सम्झिरहने पात्र हो । यद्यपि सन्न्यास लिने उमेरमा पनि उनी अझै ट्रयाकमै व्यस्त छिन् । कोजु लगातार दुई दशक राष्ट्रियदेखि अन्तर्राष्ट्रिय ट्र्याकमा दौडिरहेकी छिन् । कोजु नेपालको महिला म्याराथनमा एकछत्र राज गरिरहेकी छिन् । उत्कृष्ट फर्ममा रहँदा उनी सहभागिता भएको स्पर्धामा अन्य खेलाडीले पहिलो स्थानमा कब्जा जमाउने घटना विरलै देखिन्छ ।

लामो र छोटो दूरीमा उनको दखल अवल मान्नुपर्छ । पाँच हजार, दश हजार, हाफ र फुल म्याराथनमा उनले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । राष्ट्रिय खेलकुद प्रतियोगितामा उनको नाममा रहेको कीर्तिमान तोडिएको छैन । साग, एसियाड तथा ओलम्पिकसम्म सहभागी भएकी कोजु सम्भवतः नेपाली महिला म्याराथनकै एक आइडल खेलाडीमा पर्छिन् । घरेलु प्रतियोगितामा आधा दर्जनभन्दा बढी रेकर्ड राखेकी कोजुले आफ्नो करिअरमा एउटा घटना बिर्सन सक्दैनन् । एक दशकअघि जापानमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने क्रममा उनी त्यहीँ नै लुकिन् । त्यसको ६ महिनापछि जापानिज प्रहरीले उनलाई नेपाल फर्काइदियो । नेपाल एथ्लेटिक्स संघले उनलाई प्रतिबन्ध लगायो । यो घटनापछि कोजुले आफ्नो कमब्याक उत्कृष्ट गरिन् ।

काठमाडौं म्याराथन, कान्तिपुर हाफ म्याराथन तथा राष्ट्रिय खेलकुद प्रतियोगितामा कोजुले निरन्तर रूपमा पहिलो स्थान हात पारी उक्त दाग मेटाउने प्रयास गरिन् । हार कहिले नमान्ने र प्रयास गर्दा सफलता हात लाग्छ भन्न्ने सिद्धान्तअनुसार ३७ वर्ष भइसक्दा पनि कोजु निरन्तर रूपमा दौडिरहेकी छिन् ।

तारादेवी पुन (भारोत्तोलन)

शरीरको संरचनाअनुरुप भारोत्तोलन खेल एक महिलाका लागि कठिन मानिन्छ । तर, यसै खेलमा १६ वर्षदेखि तारादेवी पुनले साहसिक प्रदर्शन गरिरहेकी छिन् । महिला भारोत्तोलन खेलमा दर्जनौँ कीर्तिमान राखेकी र सधैँ एक नम्बर स्थानमा रहेकी खेलाडी हुन्, तारादेवी । ०५८ देखि नै भारोत्तोलनमा सक्रिय खेलाडी तारादेवी नेपालकै स्ट्रोङगेस्ट महिला हुन् । डेढ दशकको यात्रामा उनले नेपालमा आयोजित सबै राष्ट्रिय प्रतियोगितामा लगभग स्वर्णपदक जितेकी छिन् । करिअरमा तारादेवीले दुईपटक मात्र सागमा भाग लिएकी छिन् । गत मंसिरमा काठमाडौंमै भएको १३औँ दक्षिण एसियाली खेलकुदमा नेपाललाई कास्य पदक दिलाइन् । ७५ केजी तौल समूहमा उनलाई विस्थापित गर्न सक्ने खेलाडी आएका छैनन् । एसियाड र ओलम्पिकको समेत अनुभव बटुलेकी तारादेवी साँच्चिकै घरेलु महिला भारोत्तोलन खेलकी आइडल हुन् ।

केशरी चौधरी (एथ्लेटिक्स)

थारू समुदायबाट एथ्लेटिक्समा चम्केको नाम हो केशरी चौधरी । ट्र्याक एन्ड फिल्डमा नम्बर एक खेलाडीको ट्याग भिड्दै चौधरीले राज गरिन् । उत्कृष्ट फर्ममा रहँदा चौधरी सधैँ आफूले सहभागिता जनाएको इभेन्टमा पहिलो स्थानमै आउँथिइन् । नेपाल प्रहरीको जागिरे हुँदाहुँदै दुई वर्षअघि चौधरीले आफ्नो भविष्य वैदेशिक रोजगारीमा देखिन् । लामो समयदेखि प्रहरीमा बढुवा नहुनु र राज्यले पनि केही नगर्दा निराश बनेकी चौधरी दुबई प्रहरीमा मासिक एक लाख नेपाली पारिश्रमिक पाउने गरी दुई वर्षदेखि कार्यरत छिन् । ट्र्याक एन्ड फिल्ड क्षेत्रमा निराश बने पनि चौधरीले बनाएको राष्ट्रिय कीर्तिमान अहिलेसम्म कायम छ । एक दशकभन्दा लामो करिअरमा उनले आफ्नो नाममा दर्जनौँ राष्ट्रिय कीर्तिमान बनाइन् । करिअरमा उनले दशपटक भन्दा आफ्नै राष्ट्रिय कीर्तिमान तोड्नि । ट्रिपल जम्प, हाइजम्प, लङजम्प र एक सय मिटर हर्डल्समा प्रहरीबाट सहभागिता जनाउँदा उनले स्वर्ण नै दिलाउँथिइन् । उनले अन्तिम पटक साताैं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउँदै तीन स्वर्ण र एक कास्यपदक जितेकी थिइन् । 

नविता श्रेष्ठ (टेबुलटेनिस)

महिला टेबुलटेनिसको महिला एकलमा नविता श्रेष्ठ लगातार आठ वर्षदेखि राष्ट्रिय च्याम्पियन हुन् । पछिल्लो आठ वर्षमा नवितालाई चुनौती दिनसक्ने खेलाडीको उपस्थित छैन । विद्यालय जाँदै राष्ट्रिय प्रतियोगिता खेलिसकेकी नविताको सुरुवती चाहना तेक्वान्दो खेलाडी बन्ने थियो । तर, पछि उनले टेबुलटेनिसलाई आफ्नो करिअर बनाइन् । नेपालको महिला एकल इभेन्टस र मिक्समा नविता अजयको रूपमा छिन् । ०६७ मै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता एकैपटक खेलेकी नविताले १३औँ सागमा नेपाललाई पदकसमेत दिलाइन् । करिअरकै उत्तराद्र्धमा रहेकी नविता अझै फिट छिन् । राष्ट्रियदेखि अन्तर्राष्ट्रिय टेबुलटेनिसमा निरन्तर उनको सहभागिता रहँदै आएको छ । नविताले ०६७ सालमै तत्कालीन राष्ट्रिय च्याम्पियन स्वेच्छा नेम्वाङलाई हराउँदै पहिलोपटक राष्ट्रिय च्याम्पियन बनिन् । राष्ट्रियस्तरमा सबैभन्दा बढी उपाधि जित्ने नविताको चाहना नै ओलम्पियन खेलाडी बन्ने हो । 

करिश्मा कार्की (स्विमिङ)

नेपालको महिला स्विमिङ क्षेत्रमा अच्चमलाग्दो पक्ष छ । कुनै न कुनै कालखण्डमा राम्रा खेलाडीले चर्चा पाउने गरेको भेटिन्छ । अहिले गौरिका सिंहको चर्चा छ । गौरिकाले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नाम रोखेकी छिन् । गौरिकाअघि नेपालको महिला स्विमिङ क्षेत्रमा एउटा नाम प्रख्यात थियो करिश्मा कार्की । घरेलु प्रतियोगितामा प्राप्त सफलताले नै करिश्मा एक दशकअघि जलपरी नामले चिनिइन् । तर, छोटो समयमै उनी यस क्षेत्रबाट टाढिइन् । २००० मा विद्यार्थीकालमै उनले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी थिइन् । पौडीका प्रमुख प्रशिक्षक ईश्वर कार्कीकै आफ्नी छोरी करिश्मालाई १३ वर्षको उमेरमा यस क्षेत्रमा पदार्पण गराएका थिए । ०६५ सामा काठमाडौंमै भएको पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ऐतिहासिक प्रदर्शन गरिन् । त्यसवेला पौडीका १० वटा इभेन्टमै स्वर्णपदक जिती करिश्माले आफ्नो नाम सुनौलो अक्षरमा लेखाइन् । यसै वर्षको वैशाखमा नेपालगन्जमा भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गौरिकाले करिश्माले पाँचौँमा राखेको कीर्तिमान तोडिन् । सन् २००८ को वेइजिङ ओलम्पिकको अनुभव बटुलेकी करिश्मा अध्ययनमा केन्द्रित भइन् । त्यसपछि उनी विस्तारै पौडीबाट टाढिइन् । अन्तर्राष्ट्रिय पौडी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न नसके पनि घरेलु खेलकुदमा निकै छोटो समयमा प्राप्त सफलताका कारण करिश्मा नभुल्ने नामका रूपमा  छ ।