मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २५ आइतबार ०६:५९:००
Read Time : > 2 मिनेट
सप्तरंग

नेपाली फिल्ममा महिला : किन पाउँदैनन् मुख्य भूमिका ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २५ आइतबार ०६:५९:००

भर्खरै दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘आमा’ रिलिज भयो । मुख्य भूमिका अभिनेत्रीद्वय सुरक्षा पन्त र मिथिला शर्माले निभाएका छन् । फिल्म पूर्णतः महिलाकेन्द्रित छ । फिल्ममा मातापिताको मृत्युपछि छोरीको भूमिका निभाएकी सुरक्षा कपाल खौरिएर किरिया गर्छिन्, जतिवेला उनी महिनावरी भएकी हुन्छिन् । फिल्म रिलिज भएपछि सुरक्षाले कपाल नकाट्दा पनि हुन्थ्यो जस्ता प्रतिक्रिया आए । सुरक्षा फिल्मका लागि कपाल काट्नु ठूलो आँट भएको बताउँछिन्, ‘एउटी महिलाले कतिसम्म आँट गर्न सक्छे भन्ने मुख्य विषय हो ।’ फिल्म गर्दैगर्दा सुरक्षाले आफूलाई आमाभित्र समावेश गरेर पनि हेरिन् । उनी भन्छिन्, ‘म आफैँ रिभोलुसनरी काम गर्दा इन्जोय गर्छु, त्यस हिसाबले पनि फिल्ममा आफूलाई रिलेट गरेर हेर्दा झनै मजा आयो ।’
०००

केही वर्षअघि गोपालप्रसाद रिमालको नाटक ‘मसान’मा आधारित फिल्म ‘मसान’ रिलिज भयो । निर शाह निर्देशित फिल्ममा नायिका केकी अधिकारीले मुख्य पात्र ‘हेलेन’को भूमिका निभाएकी छिन् । फिल्ममा श्रीमान्ले हेलेनलाई ढाँट्दै आएका हुन्छन् । श्रीमतीको यौवन रहिरहोस् भन्ने श्रीमान्को कामना हुन्छ । आमा नबनोस् भनेर औषधि खुवाइरहेका हुन्छन् । तर, हेलेन आमा नबनी जिन्दगीको अर्थ हुँदैन भन्ने बुझाइमा अडिग हुन्छिन् । जब हेलेनलाई श्रीमान्को नियत थाहा हुन्छ, तब विद्रोह गर्छिन् । एक्लै खुसी खोज्न बाहिर निस्किन्छिन् । यो फिल्ममा काम गर्दा केकी किशोरावस्थामै थिइन् । ‘मसान’ फिल्म गरेपछि आफूलाई एकदम बलियो महसुस गरेको उनी बारबार सम्झिरहन्छिन् । उनी भन्छिन्, ‘फिल्ममा काम गर्दैगर्दा आफ्ना केही कुरा पात्रलाई दिइन्छ र पात्रबाट केही लिइन्छ । मैले यो फिल्मबाट आमा हुने चाहना कति बलियो हुँदो रहेछ भन्ने महसुस गरेँ ।’ श्रीमान्सँग छुटेपछि कुनै पनि हालतमा बाँच्न नसक्ने धारणाविरुद्ध हेलेन उभिन्छिन् । केकी भन्छिन्, ‘बरु पुरुष महिलाभन्दा पर रहेर बाँच्न सक्दैन ।’
०००

गत वर्ष विनोद पौडेल निर्देशित फिल्म ‘बुलबुल’ रिलिज भयो । फिल्मबाट स्वस्तिमा खड्काले तारिफ पनि पाइन् । फिल्ममा एउटी महिलाको मानसिक, शारीरिक चाहनाविरुद्ध समाज रहेको देखाइएको छ । पात्रको लडाइँ समाजविरुद्ध छ । महिला पात्रको हरेक निजी चाहनाविरुद्ध सामाजिक मान्यता उभिएका हुन्छन् । महिला पात्र त्यही घेरा तोड्न संघर्ष गर्छिन् । फिल्म गर्दैगर्दा स्वस्तिमाले एउटी महिला हुनुले आफ्ना कति रहर तिलाञ्जली दिनुपर्छ भन्ने अनुभूत गर्दै गइन् । अहिले पनि स्वस्तिमालाई प्रश्न सोधिन्छ, ‘विवाहित छौ, आफूलाई कसरी व्यवस्थापन गर्छौ ?’ यस्ता प्रश्नको किन सामना गरिरहनुपरेको छ ? कहिले त स्वस्तिमा आफैँलाई प्रश्न गर्छिन् । उत्तर पनि भेट्टाउँछिन्, ‘मैले बाँचिरहेको समाजमा जन्मिने प्रश्न नै यस्तै हुन् ।’ 

परिवर्तन कहिले आवश्यक छ त ? उनी भन्छिन्, ‘त्यसका लागि पहिला म आफैँ परिवर्तन हुनुपर्छ । मजस्ता महिलाले विद्रोह गर्नुपर्छ, त्यही विद्रोहले बिस्तारै समाज परिवर्तन गर्दै लैजान्छ ।’ 
०००

५० को दशकमा नेपाली फिल्ममा एउटा भनाइ चर्चित थियो, ‘जति हिरोइनलाई रुवाउन सकियो, उति निर्माता हाँस्छन् ।’ नेपाली फिल्ममा महिलालाई बढीजसो सहानुभूति दिने गरिन्छ । अहिले पनि कति फिल्म हेर्दा रुन्चे, दुःखी, पीडित महिलाले दर्शकको ध्यान खिच्छन् भन्ने बुझाइ निर्माता÷निर्देशकमा सुषुप्त रुपमा रहेको देखिन्छ । त्यसले महिलामाथि अन्याय गरेको, महिलाभित्र बाँचिरहने विद्रोही भावनालाई दबाइएको बारे केकी, सुरक्षा, स्वस्तिमा सहमत छन् । सुरक्षा भन्छिन्, ‘महिलालाई विश्वासै गरिन्न । मेकरले नआँटेको पनि हो । घर, चुलाचौका र समाजको पर्खालबाहिर पनि महिला केही हुन् भन्ने धारणाको विकास भइसकेको छैन ।’

महिला पात्रलाई नायकको पछि लाग्ने, हरेक काममा नायकको सहयोग आवश्यक हुने प्रवृत्तिमा धेरै कमी आएको धारणा राख्छन्, केकी र स्वस्तिमा । केकी भन्छिन्, ‘कस्ता फिल्म बनाउँछौँ र हेर्न चाहन्छौँ भन्ने विषय शिक्षा, सामाजिक परिपाटी, चेतनाको लेभलसँग जोडिएको हुन्छ । यी पाटाका सहयोगले अहिले केही परिवर्तन भएका छन् । भविष्यमा महिलालाई केन्द्रीय पात्र लिएर फिल्म बनाउन निर्देशक/निर्मातालाई अप्ठ्यारो नहुने लक्षण देखिएको पक्कै हो ।’ 

स्वस्तिमालाई अहिले पनि राम्रा मेकरले महिलालाई केन्द्रीय पात्र लिएर फिल्म बनाउन जोखिम सोच्छन् कि भन्ने लाग्छ । ‘राम्रा मेकरको फिल्ममा तीन–चार हिरो हुन्छन् । तर, महिलाको भूमिका गतिलो हुँदैन,’ स्वस्तिमा महिला मेकरको आवश्यकताबारे भन्छिन्, ‘महिला मेकर आउँदा केही हदसम्म राम्रो होला भन्ने हो । तर, संसारमा महिलाका विषयमा पुरुषले बनाएका राम्रा सिनेमा पनि छन् । महिलाकेन्द्रित फिल्म बनाउन महिला मेकर नै हुनुपर्छ भन्ने छैन ।’

महिलाको विषयलाई लिएर अहिले नै कायपलट हुनुपर्छ भन्नेमा केकी छैनन् । उनी भन्छिन्, ‘समाजभन्दा बाहिर गएर काम गर्ने कुरा भएन । तर, भोलिको समाज कस्तो हुनुपर्छ÷हुनेछ भन्दै गर्दा महिलाको उपस्थिति कस्तो हुनेछ, त्यहाँ पनि गम्भीर हुनु आवश्यक छ ।’ महिलाको विषय उठाउँदै गर्दा महिला नै केन्द्रीय पात्र हुनु जरुरी छ कि छैन भन्ने प्रश्नमा स्वस्तिमा भन्छिन्, ‘छैन’ । उनका अनुसार जत्रो र जस्तो भूमिका होस्, महिलालाई फिल्ममा ‘प्रपर ल्यान्डिङ’ दिनुपर्छ । अचेल काम गर्दै गर्दा मेरो पात्र मुख्य नभए पनि मेरो पात्रलाई फिल्ममा कति फोकस गरेको छ, त्यो हेर्छु ।’

महिलालाई फिल्ममा मात्र नभएर हरेक क्षेत्रमा कमजोर रूपमा हेरिनु दुर्भाग्य भएको सुरक्षा बताउँछिन् । कथा लेख्नेको आँटमा पनि भर पर्ने उनी बताउँछिन् । ‘महिलाको कथा नआएकै हो, महिलाले नै पनि आफ्नो कथा लेख्न चासो नदिएकै हो, सही व्यक्ति नआएकै हो,’ सुरक्षा भन्छिन्, ‘महिला आउँदैमा परिवर्तन भइहाल्ने पनि होइन, पुरुषले पनि महिलाको भित्री भावनालाई राम्रोसँग लेखेका छन् । बोल्न र लेख्न सक्ने कतिपय महिलाले आफ्नो कुरा बोलीमा मात्र सीमित राखेका छन् । बोलेर मात्र त केही हुँदैन ।’