मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ फाल्गुण २३ शुक्रबार १०:४२:००
Read Time : > 2 मिनेट
खेलकुद

कोरोनाको प्रभाव : सबैखाले खेलकुद प्रतियोगिता रोक्न परिषद्को निर्देशन

Read Time : > 2 मिनेट
२०७६ फाल्गुण २३ शुक्रबार १०:४२:००

राष्ट्रिय खेलकुद परिषद्ले अत्यधिक भिडभाड हुने सबै किसिमका खेलकुद प्रतियोगिता स्थगित गर्न निर्देशन दिएको छ । विश्वव्यापी कोरोना भाइरसको संक्रमण बढ्ने जोखिमका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता अर्को सूचना जारी नहुँदासम्म तत्काल रोक्न परिषद्ले बिहीबार विज्ञप्तिमार्फत निर्देशन दिएको हो ।खेलकुदमन्त्री जगत विश्वकर्माको अध्यक्षतामा बिहीबार दिउँसो दुई बजे बसेको बैठकले खेलकुदका सबैखाले प्रतियोगिता तत्काल रोक्ने निर्णय गरेको हो । 

बैठकमा परिषद्बाट सहभागी परिषद्का प्रशासन विभाग प्रमुख कुलबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रतियोगिता रोक्न सूचित गरिएको हो । ‘परिषद्अन्तर्गत सञ्चालन गरिने अत्यधिक भिडभाड हुने सबै किसिमका खेलकुद प्रतियोगितालगायत कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्म र सम्भव भएसम्म ती कार्यक्रम स्थगित गर्न सूचित गरिन्छ,’ थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । 

परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले कोरोना भाइरस संक्रमणबाट खेलाडी, समर्थक र अन्य पक्षलाई सुरक्षित बनाउन यस्तो निर्णय लिएको बताए । परिषद् सम्बन्धित निकायसँग कोरोना भाइरस संक्रमणबाट बच्न लगातार चार दिनदेखि गृहकार्य गरेको उनले बताए । ‘परिषद् खेल, खेलाडी र समर्थकप्रति जिम्मेवार छ, उनीहरूको स्वास्थ्यको रक्षा गर्नु हाम्रो  दायित्व हो,’ उपाध्यक्ष तिम्सिनाले भने, ‘खेल र खेलाडीको रक्षा गर्नका लागि नै विगत केही दिनदेखि हामीले विभिन्न निकायसँग गृहकार्य गरिरहेका थियौँ ।’ 

सरकारको नीतिगत निर्णयको सीमाभित्र रही  खेलकुद मन्त्रालयसँग समन्वय गरी परिषद्ले यस्तो निर्णय लिएको उनले बताए । कोरोना भाइरस संक्रमणसम्बन्धी सम्बन्धित निकायसँग अगाडि नै छलफल हुनुपर्ने उनले बताए । ‘हामीले अगाडि नै स्वास्थ्य, खेलकुद मन्त्रालय, नेपाल ओलम्पिक कमिटी, खेल संघ र संस्थासँग अगाडि नै छलफल गर्नुपर्ने थियो, हामीले छलफल गर्न केही ढिला गर्‍यौँ,’ तिम्सिनाले भने, ‘अगाडि नै छलफल हुँदा सम्बन्धित खेलका वार्षिक क्यालेन्डरसमेत मिलाउन सकिन्थ्यो, सम्भवतः सुरु हुन लागेका प्रतियोगिता स्थगित गर्न सकिन्थ्यो ।’ 

अत्यधिक भिडभाड हुने सबै किसिमका खेलकुद प्रतियोगितालगायत कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्म र सम्भव भएसम्म ती कार्यक्रम स्थगित गर्ने परिषद्को निर्णय

अनिश्चितकालका लागि इपिएल स्थगित

विश्वका स्टार क्रिकेटरको उपस्थितमा आयोजना हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) पनि कोरोना भाइरसकै कारण स्थगित भएको छ । वेस्ट इन्डिजका क्रिस गेलदेखि न्युजिल्यान्डका कोरी एन्डर्सनले इपिएलमा सहभागिता जनाउने निश्चित हुँदा समर्थक तथा आयोजक निकै उत्साहित बनेका थिए । आयोजकले इपिएल प्रतियोगिताको तयारी लगभग पूरा गरिसकेको थियो । त्रिवि क्रिकेट मैदानमा १ चैतमा इपिएलको नयाँ संस्कण हुँदै थियो । प्रतियोगिता सुरु हुनुभन्दा नौ दिनअगावै स्थगित गर्नुपर्दा आयोजक प्रबन्ध निर्देशक आमिख अख्तर निराश देखिएका छन् । 

बुधबार मात्रै टिभिएस मोटरसाइकलको बिक्रेता कम्पनी जगदम्बा मोटर्सले इपिएलको मुख्य प्रायोजकका रूपमा सम्झौता गरेको थियो । तर, त्यसको एक दिनपछि प्रतियोगिता नै अनिश्चितकालका लागि स्थगित गर्नुपर्दा अख्तर दुःखी नै बने । ‘खेलाडी र समर्थनको सुरक्षाका कारण प्रतियोगिता तोकिएको समयमा गर्न नसकिने भएको छ,’ आयोजित पत्रकार सम्मेलनमा इपिएल प्रालिका प्रबन्ध निर्देशक अख्तरले भने, ‘हामीले अर्को सूचना जारी नभएसम्म प्रतियोगिता स्थगित गरेका छौँ ।’ 

प्रतियोतिगा गर्ने वा नगर्ने सम्बन्धमा बुधबार आयोजक इपिएलले फ्रेन्चाइज टोली, प्रायोजक, क्यान तथा मन्त्रालयसँग छलफल गरेको उनले जानकारी दिए । ‘हामीले बुधबार त्यस सम्बन्धमा सबैसँग छलफल गरी स्थगित गर्ने निर्णय लिएका हौँ,’ अख्तरले भने, ‘हामीले वर्तमान अवस्थालाई हेर्दै सरकारको निर्देशनअनुसारै इपिएल स्थगित गरेका हौँ ।’ 

उनका अनुसार इपिएलमा १६ विदेशी खेलाडी खेल्ने पक्का भइसकेको थियो । अख्तरले आपूmहरूले सम्झौता गरेका स्टार क्रिकेटरसँग छलफल गरेको बताए । ‘वर्तमान परस्थितिबारे विदेशी खेलाडीलाई पनि जानकारी दियौँ, उनीहरू पनि हाम्रो निर्णयमा सकारात्मक छन्,’ अख्तरले भने, ‘ उनीहरूले पछि हुने नयाँ मितिमा आउने प्रतिबद्धता जनाएका छन् ।’ 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल र नेपाल क्रिकेट संघ (क्यान) सँग नयाँ मिति सम्बन्धमा छलफल गरेको उनले बताए । ‘आइसिसी र क्यानलाई पनि प्रतियोगिता स्थगित भएको जानकारी दियौँ,’ अख्तरले भने, ‘यी दुवै निकायले हाम्रो निर्णयमा समर्थन जनाएका छन्, नयाँ मितिमा कसरी प्रतियोगिता गर्ने भन्नेबारे पनि छलफल भएको छ ।’ 

पारा भारोत्तोलन खेलकुद स्थगित

राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको आयोजना तथा ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा २४ फागुनमा हुने चौथो खुला पारा भारोत्तोलन खेलकुद प्रतियोगिता पनि स्थगित गरिएको छ । सरकारको कोरोना भाइरसबाट बच्न मानवीय जनभेला हुने कार्यक्रममा उपस्थितिमा सचेतना अपनाउनु भन्ने आह्वानलाई मध्यनजर राख्दै खेलकुद कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ ।