मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २३ शुक्रबार ०६:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

भारतीय राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २३ शुक्रबार ०६:२५:००

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएलगत्तै उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका छन् । क्वात्राले उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शिष्टाचार भेट गरे ।

त्यसक्रममा उनले भारतीय स्वतन्त्रता आन्दोलनका नेता महात्मा गान्धीबारे प्रधानमन्त्री केपी ओलीको लेख समेटिएको पुस्तक हस्तान्तरणसमेत गरेका छन् । ‘ह्वाट गान्धी मिन्स टु मी’ नामक पुस्तकमा प्रधानमन्त्री ओलीको लेख पनि समेटिएको छ ।

राजदूत क्वात्राले आफ्नो कार्यकालमा नेपाल भारतको सम्बन्ध थप उचाइमा पुर्‍याउन आफू सक्रिय हुने बताएका छन् । क्वात्रा नेपालका लागि २५औँ राजदूत हुन् । तीन दशकदेखि भारतीय विदेश सेवामा कार्यरत क्वात्राले संयुक्त राष्ट्रसंघ, अमेरिका, चीन, फ्रान्सजस्ता शक्तिराष्ट्रमा सफलतापूर्वक काम गरेका छन् । उनी भारतमा एक अनुभवी कूटनीतिज्ञका रूपमा चिनिन्छन् । 

कूटनीतिक स्रोतका अनुसार राजदूत क्वात्राले सबै भेटवार्तामा नेपाल र भारतबीच थाती रहेका मुद्दा अघि बढाउन प्रयत्न गर्ने बताएका छन् । नेपाल–भारत इपिजी प्रतिवेदन भारत सरकारले बुझ्ने वातावरण बन्नुपर्ने, कालापानी र सुस्ताको सीमा विवादबारे परराष्ट्रसचिवस्तरीय बैठक बस्नुपर्ने आवाज उठिरहेका वेला राजदूत क्वात्राले प्रयास गर्ने बताएका छन् ।

आफ्नो कार्यकालमा दुई देशबीच रहेको सुमधुर मैत्रीपूर्ण र पारस्परिक सहयोगात्मक सम्बन्धलाई थप प्रगाढ बनाउन सक्दो पहल गर्ने वचन दिएका छन् । भारतले सबैभन्दा नजिकको छिमेकीका रूपमा नेपालको आर्थिक–सामाजिक विकासमा सहयोग निरन्तर जारी राख्ने पनि उल्लेख गरे ।