मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ फाल्गुण २३ शुक्रबार ०६:१४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

भर्ना विवादले नेपाल ल क्याम्पसको एक शैक्षिक वर्ष खेर गयो

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण २३ शुक्रबार ०६:१४:००

भर्नाका विषयमा भएको विवादले त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस नेपाल ल क्याम्पसको एक शैक्षिक वर्ष समाप्त भएको छ । एलएलबी कार्यक्रममा कति विद्यार्थी भर्ना गर्ने भन्ने विषय नसुल्झिँदा अघिल्लो शैक्षिक वर्ष समाप्त भएको हो । यस वर्षको नयाँ भर्ना प्रक्रिया सुरु हुने वेलासम्म पनि के गर्ने भन्ने अन्योल छ । 

अघिल्लो शैक्षिक वर्षमा विद्यार्थीले खुला भर्ना गर्न दबाब दिने, त्रिवि केन्द्रीय कार्यालय अनिर्णीत हुने र क्याम्पस प्रशासनले क्षमता अभावले सबैलाई भर्ना गर्न नसक्ने अवस्था भएपछि विवाद उत्पन्न भएको हो । यही कारण भर्नाविनै एक शैक्षिक वर्ष समाप्त भएको हो । एलएलबीमा प्रतिवर्ष पाँच सय विद्यार्थीको क्षमता भएको क्याम्पसमा ०७४ मा १० हजार आठ सय ६३ भर्ना भएका थिए । विद्यार्थीको अत्यधिक चापकै कारण क्याम्पस प्रशासनले अघिल्लो वर्षदेखि प्रवेश परीक्षा सुरु गरेको थियो । 

 यसरी सुरु भएको थियो विवाद
क्याम्पसले अघिल्लो शैक्षिक वर्षमा प्रवेश परीक्षामा ४० अंक ल्याउनेलाई एलएलबीमा भर्ना गर्ने तयारीसहित प्रवेश परीक्षाको प्रक्रिया सुरु गरेको थियो । गत चैतबाट भर्ना प्रक्रिया पनि सुरु भएको थियो । गत २६ चैतसम्म प्रवेश परीक्षा फाराम भर्ने समय दिएर क्याम्पसले गत ४ जेठमा परीक्षा लिने तयारी गरेको थियो । तर, खुला भर्ना गर्नुपर्ने माग गर्दै गत २६ वैशाखमै क्याम्पसमा तालाबन्दी भयो । तालाबन्दीका कारण प्रवेश परीक्षा नै रोकियो । 

भर्नासम्बन्धी विवाद सर्वोच्च अदालतसम्म पुग्यो । खुला भर्ना नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिटसमेत परेको थियो । ३ असारमा त्रिविबाट क्याम्पसको क्षमता यकिन गरी संख्या तोकेर पूर्णकालीन विद्यार्थी, समावेशी ढंगले भर्ना गर्न अदालतले अन्तरिम आदेश जारी गर्‍यो । कानुन संकायले नेपाल ल क्याम्पसमा दुई सय ४० देखि तीन सय भर्ना गर्न सक्ने भन्दै त्रिवि कार्यकारीमा पठायो । त्रिवि कार्यकारीले सोहीअनुसार तीन सय सिट निर्धारण गरी पठायो । 

त्रिवि कार्यकारीले सिट निर्धारण गरेपछि ५ मंसिरमा पहिले फाराम भरेकासहित तीन सय भर्ना गर्नेगरी ८ मंसिरदेखि मसान्तसम्म फाराम खुलायो । तर, विद्यार्थीले मानेनन् । फेरि, १५ मंसिरमा क्याम्पसमा तालाबन्दी गरे । त्यो तालाबन्दी फागुन पहिलो साता मात्रै खुलेको छ । 

नयाँ भर्नासमेत अन्योलमा
भर्नासम्बन्धी विवाद चुलिएपछि उपकुलपतिले प्राध्यापक पूर्णमान शाक्यको संयोजकत्वमा माघ पहिलो साता नौ सदस्यीय उच्चस्तरीय समिति गठन गरेका थिए । सो समितिले अहिलेसम्म रिपोर्ट बुझाएको छैन । नेपाल ल क्याम्पसका प्रमुख डा. डिएन पराजुलीले नयाँ भर्ना प्रक्रियाका लागि समेत केन्द्रबाट जानकारी नआएको बताए । ‘सामान्यतया चैतमा भर्ना खुलाउनुपर्छ, झन् समस्या छ,’ उनले भने, ‘एलएलबी कार्यक्रम के गर्ने भन्ने अनिश्चित छ ।’ त्रिविले गठन गरेको उच्चस्तरीय समितिका संयोजक पूर्णमान शाक्यले भने एक–दुई सातामै रिपोर्ट तयार हुने बताए । उनले भने, ‘केही काम बाँकी छ, रिपोर्ट बन्दै छ, एक–दुई सातामा रिपोर्ट आएर कार्यान्वयन हुन्छ ।’ समितिले नेपाल ल क्याम्पससहित अन्य क्याम्पसमा समेत कानुनी शिक्षालाई कसरी व्यवस्थापन गर्ने भन्ने सुझाब दिनेछ ।