१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २२ बिहीबार १४:३६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

सेनाभित्र व्यापक भ्रष्टाचार भएको सांसदहरूको दाबी

रक्षामन्त्री र प्रधानसेनापति नआएपछि समिति बैठक स्थगित  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण २२ बिहीबार १४:३६:००

संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठक स्थगित भएको छ । नेपाली सेनाभित्रको भ्रष्टाचारको छलफलमा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा अनुपस्थित भएपछि सांसदहरुले आपत्ति जनाउँदा बैठक स्थगित भएको हो । 

सांसदहरुले आपत्ति जनाएपछि बैठक स्थगित गरेकी उनले अर्को बैठकमा अनिवार्य उपस्थित हुने सन्देश मन्त्रीसमक्ष पु-यादिन रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेलाई निर्देशनसमेत दिइन् । बैठकमा सांसद अमरेशकुमार सिंहले सेनाभित्रको भ्रष्टाचारकाे सम्बन्धमा बोलाइएको छलफलमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थित भएको भन्दै समितिको मर्यादामाथि प्रहार भएको बताए । 

नेपाली सेनाको तर्फबाट समेत प्रधानसेनापति नै जवाफदेही हुने भएकाले अन्य प्रतिनिधिको जवाफ आफूले नसुन्ने सिंहले बताए । उनले नेपाली सेनालाई ठेकेदार बनाउन खोजेको हो कि सेनाको गरिमा कायम राख्न खोजेको भनी सरकारसमक्ष जवाफ मागेका थिए । 

त्यस्तै संसदलाई जवाफ दिने हैसियत सचिवलाई नभएको भन्दै पोर्टोकलको ख्याल राख्नसमेत माग गरे । उनले सेनाभित्रको भ्रष्टाचारले देशलाई थिलोथिलो पारेको समेत बताए । 

त्यस्तै सांसद झपटबहादुर रावलले विभागीय मन्त्री र सेनाको प्रमुखविना भ्रष्टाचार जस्तो गम्भीर विषयमा छलफल बढ्न नसक्ने बताए । उनले संसदको गरिमा र महत्वलाई बेवास्ता गरेको र बैठकमा बोलेका कुरा सुन्ने व्यक्ति नै नभएको अवस्थामा छलफल स्थागित गर्नुपर्ने बताए । 

भने, ‘सबैभन्दा पहिले सम्बन्धित विभागीय मन्त्रीज्यू र सेना प्रमुख बेगर यो बैठक अगाडि बढाउने कुरा यो मिनी संसदको गरिमा यसको महत्वलाई बेवास्ता गरेको भन्ने मेरो बुझाइ रहेको हुनाले म बोल्दिनँ भनेर बोलिरहनुभन्दा पनि यसलाई यसरी नै टुंग्याउने पक्षमा छु ।’ 

सांसद डिला संग्रौलाले सेनाभित्र अझै पनि आर्थिक र नीतिगत भ्रष्टाचार हुनेवाला छ भन्ने विषय आएकाले यसमा सम्बन्धित मन्त्रालय र नेपाली सेनाले स्पस्ट पार्नुपर्ने बताइन् । 

‘उच्च सैनिक अधिकृतहरुले आफूखुसी गणगुल्ममा रही बजेट निकासा गरेको भन्ने कुरा पनि आएको छ । यो के हो ? यसको पनि सत्यतथ्य आउनुपर्छ । बढुवा गर्दा शैक्षिक योग्यताको कुरा पनि आएको छ । फास्ट ट्रयाक निर्माण गर्दा पनि सेनालाई जिम्मा दिएको छ । त्यहाँ पनि भ्रष्टाचार भएको छ अख्तियारले हेर्न मिल्दैन,’ संग्राैलाले भनिन् 

सांसदहरुले अख्तियारले हेर्न मिल्दैन भन्दै सेनाभित्र ठूलाठूला अनियमितताहरु हुने गरेको बताए । नेपाली सेनाभित्र भ्रष्टाचार भएको दाबी गर्दै सांसद रेनुका गुरुङले उजुरी गरेपछि समितिले कार्यदल बनाई आठ महिना लगाएर अध्ययन गरेको थियो । 

नेपाली सेनाभित्र आर्थिक भ्रष्टाचार, अनियमितता र नीतिगत भ्रष्टाचार हुने गरेको अध्ययनले देखाएको छ । सोही प्रतिवेदनमाथि छलफल गर्न बोलाइएको बैठकमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थित भएपछि बैठक स्थागित भएको हो ।