१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २१ बुधबार ०६:२०:००
Read Time : > 1 मिनेट
अर्थ

रियल इस्टेट एक्स्पो ४ वैशाखदेखि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २१ बुधबार ०६:२०:००

आगामी वैशाख पहिलो हप्ता काठमाडौंमा ‘आठौँ रियल इस्टेट एक्स्पो २०२०’ आयोजना हुने भएको छ । ४ देखि ७ गतेसम्म भृकुटीमण्डपमा हुने एक्स्पो नेपाल आवास तथा जग्गा विकास संघले आयोजना गर्न लागेको हो । मेलामा भवन तथा संयुक्त अवास र जग्गा योजना तथा विकासमा आबद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टलगायत स्वदेशी तथा विदेशी प्रदर्शकका साथै बैंक र बिमा कम्पनी सहभागी रियल इस्टेट एक्स्पो २०२० का संयोजक विदुर धमलाले जानकारी दिए । 

 ५ हजार खरिदकर्ताले अवलोकन गर्ने 

नेपाल आवास तथा जग्गा विकास संघका अनुसार मेलामा ५ हजार खरिदकर्ता तथा नियमित अवलोकनकर्ताले अवलोकन गर्नेछन् । मेलामा भवन तथा संयुक्त आवास र जग्गा विकाससम्बन्धी आयोजनाका उत्पादन, विद्युतीय सरसामान, फर्निचर, पाइप, सेनिटरी वायर्स फिटिङका सामान प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछ । 

कुल ८० वटा स्टल रहने मेलामा पेन्ट्स, सेरामिक, सिसा, काठ, ढुंगा, आइरन, स्टिल, सिमेन्ट, सजावटका सामान रहनेछन् । अहिलेसम्म ७५ प्रतिशत प्रदर्शनी स्थल बुक भइसकेको छ । मेलामा वास्तुकला, सौर्य ऊर्जा, फोहोर व्यवस्थापन, रियल इस्टेट एजेन्ट, निर्माण सामग्रीका उत्पादन, आपूर्ति तथा वितरणजस्ता व्यवसायमा संलग्न व्यवसायीले आ–आफ्ना उत्पादन प्रदर्शन गरी सोसम्बन्धी परामर्श पनि उपलब्ध गराउनेछन् । 

आवास खरिद–बिक्रीको क्रम बढ्दो
नेपाल आवास तथा जग्गा विकास संघका अध्यक्ष मीनमान श्रेष्ठले भूकम्पपछि आवास विकासले पुनः गति समात्न केही समय लागे पनि पछिल्लो समय खरिद बिक्री गर्ने क्रममा वृद्धि भइरहेको जानकारी दिए । ‘अहिले खरिदकर्तामा पनि सुरक्षित हुने विषयमा आत्मविश्वास वृद्धि भएको छ,’ उनले भने । त्यस्तै, पछिल्लो समय लगानी गर्ने क्रम पनि वृद्धि हुँदै गइरहेको उनको भनाइ छ । 

यसबाहेक मौद्रिक नीतिको मध्यावधि समीक्षाले होमलोन १ करोड ५० लाखबाट वृद्धि गरेर २ करोड पुर्‍याएको छ भने आयोजना कर्जा पनि ६० प्रतिशत तोकिएको छ । ‘यसले पनि आउँदा दिनमा अझ आकर्षण बढाउँदै लैजानेछ,’ अध्यक्ष श्रेष्ठले भने । प्रचलित कानुन तथा नीतिबमोजिम वैज्ञानिक, किफायती, व्यवस्थित एवं सुरक्षित आवास तथा जग्गा निकास तथा सहरीकरणमा योगदान पुर्‍याएको उनको भनाइ छ । मेलाबाट उपभोक्ताले नेपाली रियलस्टेट व्यवसायको यथार्थ तथा वास्तविक स्थिति, सही छनोट र समुचित मूल्यबारे समेत जानकारी लिन सक्नेछन् । 

टाइटल स्पोन्सर नेपाल होम्स डटकम

एक्स्पोको टाइटल स्पोन्सर नेपाल होम्स डटकम हुने भएको छ । यससम्बन्धी समझदारीपत्रमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा आयोजकका तर्फबाट एक्स्पो संयोजक विदुर धमला र नेपाल होम्स डटकमका तर्फबाट संस्थाका अध्यक्ष धर्मराज भुसालले हस्ताक्षर गरेका हुन् । अध्यक्ष भुसालले एक्स्पोको टाइटल स्पोन्सर बन्न पाउँदा खुसी लागेको बताए । ‘अब पुरानो तरिकाले घरजग्गा बिक्री गर्नुभन्दा पनि डिजिटलाइज्ड खरिद बिक्री थाल्नुपर्छ,’ उनले भने । 

 मेलालाई भव्य बनाइने 
आठौँ रियल स्टेट एक्स्पो २०२० लाई अधिकतम भव्य बनाइने मेला व्यवस्थापक माइस इन्टरनेसनल सर्भिसका प्रबन्ध निर्देशक दीपक थापाले जानकारी दिए । मेला माइस र सिन्थेसिस एक्जिविसन तथा इभेन्ट्सले संयुक्त रूपमा आयोजना गर्दै छ । 

‘मेलामा रियलस्टेट क्षेत्रको सरोकारवाला मानिएका नेपाल सरकारका सम्बन्धित मन्त्रालय तथा विभाग, निर्माण व्यवसायी, इन्जिनियरिङ कन्सल्ट्यान्ट, स्थानीय तहलगायतका नियमनकारी निकायका प्रतिनिधि उपस्थित हुनेछन्,’ थापाले भने । मेलालाई व्यावसायिकतामा मात्र केन्द्रित नगरी शैक्षिक जागरण ल्याउने विषयलाई पनि प्राथमिकता दिइनेछ ।