१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ फाल्गुण २१ बुधबार १०:४७:००
Read Time : > 2 मिनेट
साहित्य

विश्व नेपाली साहित्य महोत्सव : धनगढीको बर्मेली साइनो

Read Time : > 2 मिनेट
२०७६ फाल्गुण २१ बुधबार १०:४७:००

पहिलो र दोस्रो विश्वयुद्धताका बेलायती सैनिकका रूपमा नेपाली युवा भारत, भुटान हुँदै बर्मा (हाल म्यानमार)सम्म पुगे । जापानसँगको युद्धमा नेपाली युवाले बेलायतका लागि बहादुरी देखाए । केही वर्ष बर्मामा बेलायती उपनिवेश चल्यो । उपनिवेश हटेपछि बर्माबाट बेलायती सैनिक फर्किए । तर, कतिपय नेपाली युवा परिवार लिएर उतै बसे । त्यति मात्र होइन, वि.सं. १९९० को भूकम्पमा घरबारविहीन भएका नेपालको पूर्वी पहाडका केही परिवार काम र मामको खोजीमा भारत र भुटान हुँदै बर्मासम्म पुगे ।

बर्मा पुगेको करिब डेढ सय वर्षे इतिहासमा नेपालीभाषीका धेरै पुस्ता फेरिए । तर, उनीहरूको भाषा, परम्परा, संस्कार र पहिचान फेरिएको छैन । आफ्नो पुख्र्यौली थलो हेर्ने रहर कसलाई हुँदैन र ! तिनैमध्येका थिए, धनगढीमा सम्पन्न विश्व नेपाली साहित्य महोत्सवमा निम्त्याइएका म्यानमारका नेपाली साहित्यकारहरू । ‘बर्माको बोली : माइती देशको कौवा प्यारो’ शीर्षक महोत्सवको सत्रमा उनीहरूले डेढ सय वर्ष पुरानो आवतजावतको इतिहास सम्झाए । पुख्र्यौली थातथलो टेक्न उनीहरूले करिब चार हजार किलोमिटरको रेल÷सडक यात्रा गरेका थिए ।

त्यसो त बर्मासँग धनगढीको साइनो पुरानै हो । पञ्चायती व्यवस्था चलिरहेको समयमा ०३० सालमा सरकारले बर्माबाट आएका केही नेपाली परिवारलाई पुनःस्थापना गरेको थियो । त्यतिवेलैदेखि धनगढी बस्दै आएका ६२ वर्षीय भुवन शर्माका अनुसार सरकारले धनगढीको जुगेडा र कञ्चनपुरको पुनर्वासमा ६–६ परिवारलाई पुनःस्थापना गराएको थियो । ‘प्रत्येक बर्मेली नेपालीलाई आफ्नो पुर्खाको देश देख्ने रहर हुन्छ,’ महोत्सवमा आएका साहित्यकार भीमप्रसाद पाण्डेय भन्छन्, ‘यहाँको निमन्त्रणा प्राप्त हुनासाथ हामी आउन उत्साहित थियौँ ।’ 

०३० सालमा सरकारले बर्माबाट आएका केही नेपाली परिवारलाई पुनःस्थापना गरेको थियो । ६२ वर्षीय भुवन शर्माका अनुसार सरकारले धनगढीको जुगेडा र कञ्चनपुरको पुनर्वासमा ६–६ परिवारलाई पुनःस्थापना गराएको थियो ।

बर्मेली साहित्यकारका लागि अलग्गै सत्र छुट्याउनुको मुख्य कारण पनि बर्मासँगको धनगढीको पुरानो साइनो थियो । त्यस सत्रमा वक्ता थिए, साहित्यकारहरू पाण्डेय, ज्ञानबहादुर थापा बगाले, भागवत बस्नेत र सरगम धिताल । तर, त्यति उत्साहसाथ नेपाली भूमिमा टेक्दा आफूहरूलाई अध्यागमनले भिसा नै नदिएको तितो पोखे, उनीहरूले । सातजनाको दुई सय १० डलर तिरेपछि १५ दिनका लागि भिसा स्वीकृति पाएको उनीहरूले बताए ।

म्यानमार लामो समय सैनिक शासनको कठोरताबीच गुज्रियो । सैन्य शासनमा त्यहाँ नेपाली भाषा, संस्कृति र परम्परा जोगाउन कम चुनौती थिएन । अहिले पनि म्यानमारमा करिब पाँच लाख नेपाली रहेको अनुमान छ । तीमध्येको ठूलो संख्या म्यानमारका ३६ वटा नगरमा बसोवास गर्छ । साहित्यकार थापाका अनुसार ‘नेपालीभाषी गोर्खा संघ’ नामक संस्थाको छातामुनि गोलबन्द छन्, म्यानमारका धेरै नेपालीभाषी । सोही संस्थामार्फत दुई सय २७ वटा स्कुलमा त्यहाँका नेपालीका बालबालिकाले नेपाली भाषा अध्ययन गर्न पाउँछन् ।

धनगढीमा सम्पन्न विश्व नेपाली साहित्य महोत्सवमा सहभागी म्यानमारका नेपाली साहित्यकारले डेढ सय वर्ष पुरानो आवतजावतको इतिहास सम्झाए, जसले पुख्र्यौली थातथलो टेक्न करिब चार हजार किलोमिटरको यात्रा गरेका थिए

‘सैनिक शासन लागेपछि बर्मेलीबाहेकका भाषामा प्रतिबन्ध लगाइयो,’ थापा भन्छन्, ‘धन्न हाम्रा पुर्खाले रामायण, गीताजस्ता नेपाली र संस्कृतका पुस्तक सँगै लगेका रहेछन् र तिनका श्लोक भट्याउँदै नेपाली भाषा जीवित राख्ने प्रयास गरिरह्यौँ ।’ घरभित्र मात्रै बोलेर भए पनि सैनिक शासनका वेला नेपाली भाषा जीवित राखिएको साहित्यकार धिताल बताउँछिन् । ‘बर्मेली बोल्यो कि आमाबुबाले पिट्नुहुन्थ्यो,’ उनी भन्छिन्, ‘नेपाली सिक्न सिडी मगाएर नेपाली फिल्म हेथ्र्यौं ।’ उनले पहिलोपटक नेपाल टेकेकी हुन् । उनका अनुसार गोर्खा संघले नेपालीभाषीको बिहेका लागि नेपालीभाषीबीच सहजीकरणसमेत गर्ने गरेको छ ।

पाण्डेयका अनुसार नेपाली पात्रो नै हेरेर दशैँ, तिहारलगायत चाडबाड मनाइन्छ, बर्मामा पनि । ‘नेपाली मूलका सबै जातजाति दशैँ, तिहार, फागुलगायत चाडपर्व साझा रूपमा मनाउँछौँ,’ उनी भन्छन् । मूल बाँच्यो भने मात्र अरू हाँगाबिँगा पनि बाँच्ने साहित्यकार बस्नेतको धारणा छ । उनी भन्छन्, ‘त्यसैले नेपाली भाषाको मूल थलो नेपाल बलियो रहनुपर्छ ।’