मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
सुरेन्द्रकुमार कामती
२०७५ माघ ६ आइतबार ११:४६:००
Read Time : < 1 मिनेट
प्रदेश

कर्जन्हाका कृषक बगरमा तर्बुजा फलाउँदै

Read Time : < 1 मिनेट
सुरेन्द्रकुमार कामती
२०७५ माघ ६ आइतबार ११:४६:००

कर्जन्हा नगरपालिका ६ का ४७ वर्षीय बलि पासमान विगत १० वर्षदेखि तर्बुजाखेतीमा छन् । कमला नदीको बगरमा उनले तर्बुजा लगाएका छन् । 

४५ वर्षीय राम एकवाल महतो पनि बगरमा खेती गरेर जीविकोपार्जन गर्छन् । महतोसँगै उनका दुई छोराहरू (मुकेश र कामेश्वर) पनि खेती–किसानीमै सक्रिय छन् । ३ विगहा क्षेत्रफलमा तर्बुजाखेती गर्दै आएको महतोले बताए । उनले एक सिजनमा नौ लाख रुपैयाँभन्दा धेरै आम्दानी गर्ने गरेको बताए । 

सात बिघा क्षेत्रफलमा तर्बुजाखेती गर्दै आएका श्याम महतोले बगरखेतीबाटै राम्रो आम्दानी गर्दै आएको बताए । बगरखेती फस्टाएपछि छोराहरूलाई वैदेशिक रोजगारीमा जान नदिएको राम एकवालको भनाइ छ ।

पाँच लाखको बिउ 
बगरखेतीकै लागि कर्जन्हा नगरपालिकाले कृषकलाई बिउ उपलब्ध गराएको छ । कर्जन्हा नगरपालिकाको वडा नम्बर–६ स्थित कमला नदीको बगरमा तर्बुजाको खेती गर्दै आएका कृषकहरूलाई बिउ वितरण गरिएको छ । नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा पाँच लाखको बिउ उपलब्ध गराएको हो । कमला नदीको ७० बिघा क्षेत्रफलमा पुग्ने गरी ६५ जना कृषकलाई तर्बुजाखेती गर्न बिउ उपलब्ध गराइएको नगर प्रमुख गंगा पासमानले बताए ।

कृषिका लागि छुट्याएको बजेटबाट कृषकलाई बगरखेती गर्न पाकिजा जातिको बिउ उपलब्ध गराएको मेयर पासमानको भनाइ छ । कर्जन्हा ६ का कृषकहरूले उत्पादन गर्ने तर्बुजा, खिरा, काँक्रो ठूला सहरमा निर्यात हुन्छ । व्यापारीहरू खेतमै पुगेर खरिद गर्ने गरेको कृषक रामभरोस पासमानले बताए । पासमान भन्छन्, ‘बजार खोज्नु पर्दैन, व्यापारी खेतमै आइपुग्छन् ।’

सिँचाइ सुविधा पुर्‍याउने
कर्जन्हा नगरपालिकाले कृषकलाई खेतीमा थप आकर्षित गर्न सिँचाइ सुविधा पुर्‍याउने जनाएको छ । मेयर गंगा पासमानले आर्थिक वर्ष ०७५/०७६ मा कृषि क्षेत्रका लागि विनियोजित बजेटमध्ये सिँचाइ, बिउबिजन, किटनाशक औषधि उपलब्ध गराउने बताए ।