Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ फाल्गुण २० मंगलबार १२:११:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

झापा पुगेर झलनाथ खनालले भने, 'नेपाल काेराेनाकाे जोखिममा छ, सतर्क बनौं'

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण २० मंगलबार १२:११:००

सत्तारुढ नेकपाका वरिष्ठ नेता पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोरोना भाइरसको संक्रमणका कारण नेपाल उच्च जोखिममा रहेको बताउँदै सबै जना सतर्क हुनुपर्ने बताएका छन् ।

मंगलबार प्रदेश १ मा नेकपाले आयोजना गर्ने निर्धारित प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम स्थगित भएको जानकारी गराउँदै बिर्तामोडमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।  

नेता खनालले छिमेकी राष्ट्र चीनमा कोरोना भाइरसले ठूलो जोखिम निम्त्याएको उल्लेख गर्दै नेपालमा यो भाइरस फैलन नदिन सबै नागरिक सचेत हुनुपर्ने बताए ।‘हाम्रा छिमेकी दुई ठूला राष्ट्र चीन र भारतमा यो भाइरसले ठूलो मात्रामा त्यहाँका नागरिकहरूलाई प्रभावित बनाएको छ,’ उनले भने, ‘हामीले यो भाइरस नेपाल भित्रन नदिन आवश्यक सबै तयारी र सावधानी अपनाउनुपर्छ ।’

सरकारले कुनै पनि ठूला भेला र जमघट आयोजना गर्न कडाइ गर्नु स्वागतयोग्य भएको समेत नेता खनालले बताए । ‘हेलचेक्र्याइँ गर्दा यसले संकट निम्त्याउन सक्छ । यसलाई गम्भीरताका साथ लिनुपर्छ,’ नेता खनालले भने ।

पार्टी एकतालाई पूर्णता दिँदै पार्टी सुदृढीकरणको अभियानमा नेकपा रहेको जानकारी गराउँदै अन्तर्राष्ट्रिय जगतमा देखिएको गम्भीर परिस्थितिका कारण राष्ट्रिय अभियानहरू रोकिएको बताए ।

नेकपा प्रदेश– १ ले आयोजना गरेको कार्यकर्ता प्रशीक्षण कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल झापाको बिर्तामोड जाने तय भएको थियो ।

सरकारले सोमबार ठूलो जमघट हुने सबै प्रकारका कार्यक्रम स्थगित गर्न निर्देशन जारी गरेपछि नेकपाको उक्त कार्यक्रम स्थगित भएको हो । १८ फागुनमा बसेको नेकपाको सचिवालय बैठकले प्रधानमन्त्री ओलीको २१ फागुनमा मिर्गौला प्रत्यारोपण गराइने निर्णय गरेपछि उत्तः कार्यक्रममा अध्यक्ष प्रचण्डसहित बादल र पौडेल बिर्तामोड जाने तय भएको थियो ।

तर सरकारको उक्त निर्देशनपछि नेताहरू झापा नगएपछि प्रशीक्षण कार्यक्रम स्थगित भएको हो ।

सुखानीको कार्यक्रम पनि स्थगित

२१ फागुन ०२९ मा झापा आन्दोलनका अगुवा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, बिरेन राजवंशी र नारायण श्रेष्ठले शहादत प्राप्त गरेको सुखानीमा नेकपाले सहिद स्मृति कार्यक्रम राखेको थियो ।

उक्त कार्यक्रमका लागि वरिष्ठ नेता झलनाथ खनाल सोमबार अपराह्न नै झापा पुगेका थिए । प्रशिक्षण कार्यक्रममा समेत खनाल सहभागी हुने र बुधबार अध्यक्ष प्रचण्डसहित सबै नेता सुखानीस्थि सहिद स्मृति स्तम्भ स्थलमा पुगेर श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रम थियो ।

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले निर्देशन जारी गरेपछि झापामा हुने यी दवै कार्यक्रम स्थगित भएका हुन् ।