मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ फाल्गुण २० मंगलबार ०६:५०:००
Read Time : > 1 मिनेट
प्रदेश

संरक्षणको पर्खाइमा गलकोट दरबार

Read Time : > 1 मिनेट
२०७६ फाल्गुण २० मंगलबार ०६:५०:००

शिरमा घुम्टेलेक, तल दरमखोला, दरमखोलामाथि केही समथर फाँट, फाँटको बीचमा ऐतिहासिक गलकोट दरबार । यस दरबारबाट गलकोटे राजा भरतबम मल्लले शासन चलाएका थिए । त्यही गलकोट दरबार यति वेला संरक्षणको पर्खाइमा छ । गलकोट नगरपालिका–५ हरिचौरस्थित गलकोट दरबार अहिले सुनसान देखिन्छ । १९८९ मा बनेको दुईतले दरबार ढुंगा, इँटा र काठ प्रयोग गरेर बनाइएको छ । दरबारवरिपरि खुला ठाउँ छ । राज्य चलाउँदा बसेका चौकी, अड्डा र मालका भवनसमेत अझै छन् । 

०१७ सम्म दरबार अस्तित्वमा थियो । इतिहासको साक्षी दरबारको सौन्दर्य बिस्तारै नासिँदै गएको छ । चौबिसे राज्यका पालाको शक्तिशाली दरबार अहिले आफ्नै अस्तित्व संकटबाट गुज्रेको छ । उस वेलाको सेतो दरबार धुमलिएर उजाड बनेको छ । दरबारको पर्खाल, पोखरी, बगैँचा, धन्सार, शीतलपाटी, मन्दिर सबै जीर्ण अवस्थामा पुगेका छन् । 

 काठमाडौं बसाइँ सर्‍यो मल्ल परिवार
०३९ मा भरत बम मल्लको निधन भयो । गलकोट राज्य नरहे पनि तत्कालीन राजपरिवार दरबारमै बस्थे । दरबारको रेखदेख, संरक्षण गर्थे । समय बित्दै गयो । व्यवस्था फेरिँदै गए । दरबार पनि पुरानो भयो । दरबार संरक्षणको जिम्मा नाति माधव बममा सर्‍यो ।

परिवारसहित दरबारमा बस्दै आएका माधव बम त्यति वेला स्थानीय विद्यालयमा शिक्षण पेसामा आबद्ध थिए । उनको सशत्र द्वन्द्वमा तत्कालीन विद्रोही पक्षबाट ३१ वैशाख ०५९ मा हत्या भयो । उक्त घटनासँगै मल्ल परिवार त्यहाँबाट काठमाडौं बसाइँ सरेको छ । दरबार अहिले मन्जेस बमकी आमा सरोजा मल्लको नाममा छ । 

 संरक्षणको तयारी
वेलावेलामा गलकोट आउँदा सरोजा र उनको परिवार दरबारमै बस्छन् । ‘दरबार संरक्षण गर्न खोजेका छौँ, विविध कारणले ढिला भइरहेको छ,’ मन्जेस बमले भने, ‘डिपिआर बनाएर संरक्षणको काम थाल्ने योजना बनाएका छौँ ।’ पुरातात्विक हिसाबले जीर्णोद्धारसहित दरबारको उचित संरक्षण गरिने उनले बताए । 

 खिन्न हुन्छन् पर्यटक
अवलोकनका लागि पुग्ने पर्यटक दरबारको अवस्था देख्दा खिन्न हुन्छन् । दरबार नियतिको अँध्यारोमा मिल्किएको भान हुन्छ । प्रवेशद्वार भताभुंग छ । पर्खाल र सिँढीका ढुंगाले ठाउँ छाडेका छन् । दरबारमा बनाइएका कलात्मक झ्याल, ढोका पनि जीर्ण बनेका छन् । दरबारअगाडिको पोखरी लेउले भरिएको छ । छानो पानी चुहिने जीर्ण छ । गलकोट दरबार करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको छ ।