मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ फाल्गुण १९ सोमबार १९:०८:००
Read Time : > 5 मिनेट
अन्तर्वार्ता

‘१४औं महाधिवेशनमा हाम्रो समूहबाट सहमतिमै सभापतिको उम्मेदवार तय हुन्छ’

Read Time : > 5 मिनेट
२०७६ फाल्गुण १९ सोमबार १९:०८:००

पार्टीको १४ औं महाधिवेशन ०७७ फागुन ७-१० मा काठमाडौंमा गर्ने निर्णय गरेपछि कांग्रेस महाधिवेशनको तयारीमा जुटेको छ । सभापति शेरबहादुर देउवा आफ्नो कार्यकाल दोहोर्‍याउने तयारीमा लाग्दै गर्दा इतर पक्षीय नेताहरू रामचन्द्र पौडेल, डा.शशांक कोइराला, डा.शेखर कोइराला पनि सभापतिको आकांक्षीका रुपमा देखिएका छन् । 
कांग्रेसको आगामी महाधिवेशन, सधैँजसो देखिने आन्तरिक कलह, सभापति देउवाको चारवर्षे कार्यकाल लगायतका विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नयाँ पत्रिकाले गरेकाे कुराकानीकाे सम्पादित अंश :

कांग्रेसमा १४ औं महाधिवेशनका लागि कार्यतालिका ल्याए पनि समायोजनसहितका काम अझै सकिएका छैनन् । यसले कार्यतालिकालाई असर गर्छ कि गदैन ? 
पार्टी नेतृत्वको नियमित चारवर्षे कार्यकाल सकिएको छ । एक वर्ष थप गर्ने गरी कार्यतालिका ल्याइए पनि त्यसअनुसार काम समयमा भएको छैन । आजभन्दा डेढ–दुईवर्ष अगाडि नै मैले कार्यतालिका बनाएर अगाडि बढौं भनेको थिएँ । त्यसलाई साथीहरूले गम्भीरतापूर्वक लिएनन् । 

हामीसँग समयको चाप छ । तर, पनि समायोजन नसकिनु, सदस्यता नवीकरण र वितरणको काम प्रभावकारी रूपमा अघि नबढ्नु दुःखद् छ । अब यस्तै सुस्त शैलीले चल्दैन । व्यवस्थित रूपमा संगठनका कामलाई अघि नबढाउने हो भने अब थपिएको एक वर्षमा पनि १४ औं महाधिवेशन समयमैं गर्न गाह्रो हुन्छ ।

समायोजन नै सकिएको छैन, यो भन्दा बढी विवाद क्रियाशील सदस्यता नवीकरण र वितरणमा छ । यसले महाधिवेशनको कार्यतालिकामा कति असर र प्रभाव पार्ला ? 
पार्टीमा जो क्रियाशील छन्, वास्तविक कार्यकर्ताका रूपमा काम गरेका छन्, उनीहरूलाई क्रियाशील सदस्य बन्नबाट रोक्ने काम हुँदैछ । आफूलाई भोट हाल्ने मान्छे भए आफ्नो पार्टीको हुनु पर्दैन, अर्को पार्टीको भए पनि खोजेर सदस्यता दिन खोजिंदैछ । स्थानीय र केन्द्रकै नेताहरुको जोडबलमा यस्ता गलत काम हुँदैछन् । यस्ता खेलले पार्टीलाई न स्वस्थ बनाउँछ, न बलियो नै बनाउँछ । 

हामीले ठूलो मेहनत गरेर यो विधान बनाएका छौं । विधानमा व्यवस्था भए अनुसार व्यवस्थित रूपले सदस्यता बाँड्नुपर्छ । विधानले व्यवस्था गरेको प्रक्रियालाई पछ्याउनुपर्छ । व्यक्तिले बाँड्ने होइन, वडा कमिटीले सदस्यता दिने वास्तविक कार्यकर्ता खोज्नुपर्छ । वडामा को–को मानिस क्रियाशील छन्, यस्ता मान्छे कांग्रेसको लागि चाहिन्छ भन्ने हाम्रो अभ्यास हो । 

सक्रिय, क्रियाशीलहरूलाई सदस्यता दिन सकियो भने कांग्रेसको उद्धार हुन्छ, राम्रो हुन्छ । सदस्यता वितरणमा तोडमोड गरियो भने पार्टीलाई हित गर्दैन । 

१४ औं महाधिवेशन निकट आउँदा पनि १३ औं महाधिवेशनको सदस्यताको पुरानो रेकर्ड नै प्रभावकारी रूपले नराखिएको विषय बाहिर आएका छन् । तपाईंहरूले चाँहि चार वर्षमा सदस्यताको विवरण खोज्न किन आवश्यक ठान्नुभएन ? 
हामीले सुरूदेखि नै मागिरहेका छौं । तर जो मान्छेलाई जिम्मा दिएको थियो, सफ््टकपी उसैसँग गयो भनेर संस्थापन पक्षका साथीहरूले भन्नुभयो । हार्डकपी भएपछि सफ्टकपी बनाउन गाह्रो छैन । जिल्लाबाट रेकर्ड मगाएर भए पनि सदस्यताको विवरण प्रभावकारी रुपले राख्नुपर्छ । हार्डकपीको रेकर्ड अनुसार पार्टी संरचनाको आधारमा सदस्यताको अन्तिम टुंगो लाग्छ । 

१४ औं महाधिवेशनमा तपाईंहरूको समूहबाट पार्टी सभापतिमा कसलाई अघि सार्ने तयारी छ ? 
अहिले हामी सामूहिक भावनाले काम गरिरहेका छौँ । पार्टीलाई सुधार गर्न ‘कांग्रेस बचाऊ, कांग्रेस जोगाऊ’ भन्ने एकसूत्रीय अभियानमा हामी एक छौं । पार्टीभित्र न्याय, निष्पक्षता, पारदर्शी मूल्यांकन हुनुपर्छ भन्नेमा हामी एकमत छौं । हाम्रो तर्फबाट सभापतिको उम्मेदवार, अरु पदाधिकारी को बन्ने भन्ने कुराको अहिले निधो भइसकेको छैन । समय आएपछि आवश्यकता अनुसार हामी मिलनबिन्दु खोज्छौं ।

सभापति शेरबहादुर देउवाको चारवर्षे कार्यकालको समीक्षा कसरी गर्नुहुन्छ ? 
मैले सुरुमै देउवाजीलाई ‘तपाईं सिंगो पार्टीको सभापति भइहाल्नुभयो, तीन पटक प्रधानमन्त्री पनि भइसक्नु भएको छ, अब तपाईंले यो ऊ नभनिकन, सबैलाई समदृष्टिले हेर्छु, न्याय निष्पक्षताको आधारमा मूल्यांकन गर्दै समान व्यवहार गर्छु भनिदिनुहोस्, यसमा तपाईं अडिने वित्तिकै म तपाईंलाई पूरा सहयोग गर्छु’ भनेकै हो । तर उहाँ आफ्नो सीमाबाट माथि उठ्न सक्नुभएन, आफ्नै साथीहरूको घेराबाट माथि उठ्न सक्नुभएन । केही साथीहरूले उहाँलाई अप्ठ्यारोमा पारेका होलान्, अथवा केही भएको होला । कांग्रेसमा कोही विचलित नहोस्, यो पार्टीलाई भोलि सबै चाहिन्छन् भनेर मैले तिनीहरूको आवाजलाई मुखरित गरिदिएको हुँ ।  

पार्टी सञ्चालन गर्ने सन्दर्भमा ‘मेरो र तेरो’ भन्ने, भातृसंस्थाको चुनाव पनि मेरो पक्षले जित्छ कि जित्दैन भन्ने हिसाव गर्नु हुँदैन । पार्टीका संरचना र भातृसंस्थाहरु जसरी कार्यसञ्चालनमा आउनुपथ्र्यो, आएनन् । यसले गर्दा जुन गतिमा पार्टी सफल हुनुपथ्र्यो, हुन सकेन । सभापतिजीको चारवर्षे कार्यकाल त्यत्ति राम्रोसँग गुज्रेको म देख्दिनँ । पार्टीले तीनै तहको निर्वाचनमा नमिठो पराजय बेहो¥यो । संगठन र भातृसंस्थाहरू पनि अलपत्र हुनु भनेको उहाँ सफल हुनुभएन भन्ने हो । 

तपाईंको मतलव चारवर्षे कार्यकालमा सभापतिले पार्टीमा आशा लाग्दो केही काम नै गर्नुभएन ? 
संस्थागत रूपमा विधि अनुसार चलाइदिऊँ, पार्टीको समयमा चुनाव होस्, ‘मेरो पक्ष जितोस् कि हारोस्’ भन्ने नभई पार्टीलाई एउटा प्रणालीमा हिंडाउने उदारता हुने बित्तिकै धेरै कुरा समाधान हुन्थ्यो । तर, उहाँले यी काम गर्न सक्नुभएन । के होला कसो होला भन्ने शंका र उपशंकाले नै  सभापतिजीलाई गाह्रो भएको म देख्छु । 

सभापति देउवाले पार्टीमा सहमति जुटाउन प्रयास गर्दा पनि तपाईंहरूले सहयोग गर्नुभएन, विधानअनुसार अघि बढ्दा पनि विरोध त गर्नुभयो नि । होइन र ?  
‘कार्यतालिका लिएर मात्रै केन्द्रीय समितिको बैठकमा जाउँ, नत्र अधिवेशनलाई ढिलो हुन्छ’ भनेर मैले भनेको थिएँ । सहमतिकै लागि मैले यस्तो प्रस्ताव गरेको हुँ । तर उहाँहरूले त्यो कार्यतालिका लिएर जान तयार हुनुभएन । जसले गर्दा मैले जिल्ला सभापति भेला गर्नेदेखि बैठकमा जान्न भन्नुपर्ने सम्मको स्थिति पनि सिर्जना भयो । ‘एजेण्डा लिएर जाऔं न’ भन्दा नमानिकन सुटुक्क जानुभयो । त्यस्तै कुराले गर्दा समस्या देखिएको हो । तर, यो हाम्रो असहयोग होइन । सभापतिले नै निम्त्याउनुभएको विवाद हो । 

‘पार्टीलाई नै सहयोग गरौं, पार्टीलाई बलियो हुने काम गरौं, संस्थागत विकास गरौं’ भन्दा त्यसमा कुरा नमिलेको मात्रै हो । मैंले असयोग त कहीं पनि गरेको छैन । चुनावमा म उहाँसँगै पछि लागें । आन्दोलनमा म सबैभन्दा अगाडि हुन्छु । प्रशिक्षणको कुरा गर्दा म अगाडि छु । पार्टीले सञ्चालन गरेको हरेक कार्यक्रमा म कहीं पनि पछि छैन । सभापतिजीले आह्वान गरेको कुनै पनि योजनामा म पछि छैन । यस हिसावले मैले सहयोग गरेको छैन भन्नै मिल्दैन । तर आन्तरिक कुरा त मिलाएर जान प¥यो नि ! त्यत्ति हो मेरो भनाइ  । 

व्यवस्थित रूपमा संगठनका कामलाई अघि नबढाउने हो भने अब थपिएको एक वर्षमा पनि १४ औं महाधिवेशन समयमैं गर्न गाह्रो हुन्छ ।

 

प्रमुख प्रतिपक्षको रूपमा कांग्रेसको भूमिकाको विषयलाई लिएर प्रश्न उठिरहेका छन् । तपाईं चाहिँ के भन्नुहुन्छ ? 
कम्युनिष्ट पार्टीको सरकारले जनतालाई धेरै ठूलो आश्वासन र भरोसा दिलाएर दुईतिहाइ मत प्राप्त ग-यो । जनताले दिएको विश्वास र मत अनुकूलको काम सरकारले नगरेको हुनाले सारा जनता निराश छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको अडियो, गोकर्णको जग्गा लिज, वाइडबडी जहाज खरिद, एनसेल कर, बुढीगण्डकी जलविद्युत आयोजनासहितका अनेक काण्डमा सरकार भ्रष्टाचारमा जोडिएको छ । सरकार एकसय एक काण्डै–काण्डको भारीले थिचिएको छ । 

सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्दा प्रतिपक्षी खरो रुपमा उत्रिनुपथ्र्यो । ‘हेर जनता हो, यो सरकार कति भ्रष्ट छ, कति बेइमानी गरिरहेको छ, जनतालाई धोका दियो, राष्ट्रलाई धोका दियो’ भनेर प्रतिपक्षी डटेर अगाडि आउनुपथ्र्यो । तर, आएन । सडक, संसद कहीं पनि प्रतिपक्ष खुलेर आउन सकेन । 

पार्टी बैठकमा ‘पार्टी कमजोर भयो’ भन्ने मात्रै प्रश्न उठ्छ तर, प्रतिपक्षीका रुपमा संसदमा पार्टीले प्रभावकारी आवाज उठाउन सकेन भनेर छलफल हुँदैन ? 
मैले पटक–पटक कार्यसमितिमा यो कुरा उठाएको छु । साथीहरूलाई भनेको पनि छु । अन्य सहयोग जुटाउने वातावरण पनि मैले गरेको छु । तर भइरहेको छैन । मुख्य कुरा के हुँदो रहेछ भने, ‘खाने मुख सबैभन्दा ठूलो’ हुने रहेछ । नाकले पानी खाएर नहुने रहेछ, मुखैले खान पर्ने रहेछ । त्यसैले अलिकति अप्ठ्यारो भयो ।  

आफूलाई भोट हाल्ने मान्छे भए आफ्नो पार्टीको हुनु पर्दैन, अर्को पार्टीको भए पनि खोजेर सदस्यता दिन खोजिंदैछ 

१३ औं महाधिवेशनमा सभापतिका लागि तपाईं उम्मेदवार हुनुभएको थियो । पहिले जस्तै यो पटक तपाईंको दाबी रहन्छ कि रहँदैन ? 
सभापतिमा प्रतिस्पर्धा गर्ने कि नगर्ने भन्नेबारेमा मैले कुनै निर्णय गरेको छैन । हामी सहमतिका आधारमा कसको आवश्यकता पर्छ, त्यसैलाई अघि सार्छौं । 

सभापतिको दाबेदारमा तपाईसहित, डा.शंशाक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंहसहितका नेताको दाबेदारी देखिन्छ । एउटा पदका लागि यति धेरै आकांक्षी हुँदा कसरी व्यवस्थापन गर्नु हुन्छ ?
कांग्रेस पार्टी देशले भरोसा गर्ने केन्द्र हुनुपर्छ । त्यसका लागि उपयुक्त नेतृत्व सारा राष्ट्रले स्वीकार गर्ने, नेपालभरका नेता तथा कार्यकर्ताले भरोसा गर्ने नेतालाई अगाडि सार्नुपर्छ । कांग्रेसमा एउटा मात्रै ‘स्ट्रेन्थ’ बाट नेतृत्व हुँदैन । नेतृत्वमा पुग्नका लागि धेरै पक्ष र आयाम जोडिएका हुन्छन् । पार्टीको विश्वसनियता, दुरदर्शिता, क्षमता यी सबै असल नेतृत्वका लागि आवश्यक गुण हुन् । नेतृत्व गर्ने व्यक्ति आम कार्यकर्ताबाट सर्वस्वीकार्य छ छैन, त्यो पनि हेर्नुपर्छ । संकट पार लगाउन सक्ने क्षमताको नेतृत्व आवश्यक पर्छ । कांग्रेस अहिले संकट र अप्ठ्यारोमा छ । यसलाई पार लगाउने नेतृत्व आवश्यक छ । यस्तो अवस्थाबाट गुज्रेको कांग्रेसलाई सन्तुलन गरेर लैजान सक्ने नेतृत्वको खाँचो छ ।