मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १९ सोमबार १३:३४:००
Read Time : < 1 मिनेट
समाचार

गाँजा खेतीसम्बन्धी विधेयक दर्ता, गाँजाखेती गर्न पाउनुपर्ने सांसदको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १९ सोमबार १३:३४:००

गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक संसद् सचिवालयमा दर्ता भएको छ । पूर्वकानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले मस्यौदा गरिएको निजी विधेयक सोमबार सचिवालयमा दर्ता भएको हो । 

सांसदहरुको विशेषअधिकार प्रयोग गर्दै ल्याइएको विधेयकमा राज्यले तोकेको निश्चित ठाउँमा अनुमति लिएर किसानहरुले खेती गर्न पाउने उल्लेख छ ।

तामाङले गाँजाको क्षेत्र व्यापक रहेको र औषधीय गुण भएकाले किसानको सँगै समग्र मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने बताए । गाँजामाथि लागेको प्रतिबन्ध फुकुवा भएमा युवाहरु विदेसिनुपर्ने बाध्यताको अन्त्य हुने र स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना हुने उनले बताए । 

विश्व स्वास्थ्य संगठनले पनि गाँजामा औषधीय गुण हुने भनिसकेको अवस्थामा नेपालमा पनि यसमाथि लागेको प्रतिबन्ध फुकुवा हुनुपर्ने उनले बताए । अमेरिका क्यानडालगायत विश्वका ४० मुलुकले गाँजामाथिको प्रतिबन्ध फुकुवा गरेका छन् । कानुनमा उत्पादनका सीमा, प्रयोगका सर्त उल्लेख भएकाले जथाभावी नहुने उनको तर्क थियो । 

गाँजा उत्पादनको क्षेत्र विद्यालय भवन र बालकेन्द्रभन्दा १ किलोमिटरको दूरीमा हुनुपर्ने विधेयकमा उल्लेख छ । सांसद तामाङले नेपालीहरुले चिकित्सकको सिफरिसबिना प्रयोग गर्न नपाउने पनि बताए ।