१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस
२०७५ माघ ६ आइतबार १०:२९:००
Read Time : < 1 मिनेट
समाचार

विमानस्थल सञ्चालन गर्न काटिएका चार सय रुख एक वर्षदेखि अलपत्र

Read Time : < 1 मिनेट
रासस
२०७५ माघ ६ आइतबार १०:२९:००

साढे दुई दशकदेखि अलपत्र बलेवा विमानस्थल सञ्चालनका लागि भन्दै विगत एक वर्षअघि काटिएका रूख अलपत्र परेका छन् । सामान्यतया संरक्षित वनका रूख काट्न डिभिजन वन कार्यालयको अनुमति लिनुपर्छ । लिएर कटान गरेपछि त्यसको तथ्याङ्क बनाउनुपर्ने, निकासी गर्ने भए सोहीअनुसारको राजश्व तिर्नुपर्ने व्यवस्था भए पनि अहिलेसम्म त्यसको व्यवस्थापन हुन सकेको छैन।

आन्तरिक रूपमा खपत गर्ने भए सामुदायिक वन उपभोक्ता समितिले आम भेला गरेर उपयोग गर्ने नीति बनाउनुपर्ने प्रावधान छ । तर, एक वर्षअघि बलेवास्थित विमानस्थल सञ्चालनका लागि भन्दै काटिएका रूख अझै छरपष्ट छाडिएका छन् । 

विसं २०१८ देखि सञ्चालन भएको विमानस्थल विसं २०४८ मा पोखरा–बागलुङ राजमार्ग बनेपछि बन्द भएको थियो । सडक सञ्जालले बलेवा नजोडिँदा जहाज चल्न सकेको थिएन । बागलुङ नगरपालिका र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच गत वर्ष सातामा दुई उडान भर्ने सहमति भएपछि असारमा एकाध जहाजले उडान भरेका थिए । २६ वर्षदेखि उपयोगविहीन बलेवा हवाई मैदानमा हिजोआज फेरि जहाज चल्न छाडिसकेको छ । 

विमानस्थलको कच्ची धावनमार्ग फेरि गौचरनमा परिणत भएको छ । जहाजलाई उडान–अवतरणका लागि आवश्यक भन्दै काटिएका सल्लाका रूख त्यसै अलपत्र छन् । बलेवास्थित डुगाचौर सामुदायिक वनको ४०० भन्दा बढी रूख जहाज चलाउनका लागि कटान गर्नुपर्ने भन्दै नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेपछि स्थानीयवासीले काटेका थिए । 'जहाज चलाउनका लागि रूख काट्नै पर्ने सल्लाह पाएपछि ढालिएको थियो', वडाध्यक्ष चक्रबहादुर खत्रीले भने, 'जहाज पनि नियमित भएन, रूख कसरी व्यवस्थापन गर्ने अन्योल भएको छ ।' हरेक काम गर्दा डिभिजन वन कार्यालयको अनुमति लिनुपर्ने बाध्यताले ढलेका रूख जस्ताको तस्तै रहेको उनले बताए ।