मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फाेटाे
रमेश दवाडी काठमाडाैं
२०७६ फाल्गुण १७ शनिबार २१:५७:००
Read Time : > 1 मिनेट
समाचार

सभापति देउवाले गठन गरे १३ विभाग, पौडेल पक्ष असन्तुष्ट

Read Time : > 1 मिनेट
रमेश दवाडी, काठमाडाैं
२०७६ फाल्गुण १७ शनिबार २१:५७:००

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका १३ विभाग गठन गरेका छन् । चार वर्षे आफ्नो कार्यकाल सकिनै लाग्दा उनले शनिबार विभाग गठन गरेका हुन् । 

विभाग विस्तारका लागि वरिष्ठ नेता रामचन्द्र पौडेललाई फोन गरेर सभापति देउवाले नामवाली माग गरेका थिए । तर, पौडेलले नामावली नदिएपछि उनले मात्रै विभाग विस्तार गरेका हुन् । पौडेलले पार्टीको १४ औं महाधिवेशन तयारीमा जुट्नु पर्ने अवस्था भइसकेकाले विभाग गठनप्रति असन्तुष्टि जनाउँदै आएका थिए ।

शुक्रबार नयाँ पत्रिकासँगको कुराकानीमा नेता पौडेलले सभापतिको कार्यकाल असफल भएको भन्दै अन्तिममा अवस्थामा विभाग गठन गर्न लागेकोमा असन्तुष्ट जनाएका थिए । 'सभापतिजीको कार्यकाल असफल रह्यो । उहाँले अन्तिम अवस्थामा आएर विभाग गठनको कुरा गर्नु भएको छ । हामीलाई मान्य हुँदैन । विभाग गठन होइन महाधिवेशन तयारीमा लाग्नु पर्छ,' पौडेलले भने । 

सभापति देउवाले १२ विभागमा आफ्ना पक्षलाई मात्र संयोजक बनाएका छन् । उनले विधानको २०१७ (संशोधनसहित)को धारा ३७ (१) (ग) बमोजिम केन्द्रीय सदस्यहरूलाई विभागको जिम्मेवारी दिएका हुन् ।

सभापति देउवाले पूर्व उपसभापति गोपालमान श्रेष्ठलाई संगठन विभाग, रमेश रिजाललाई संघीय मामिला तथा प्रदेश समन्वय विभाग, फरमूल्लाह मन्सुरलाई मुस्लिम विभाग, अर्जुनप्रसाद जोशीलाई स्थानीय तह समन्वय विभागकाे संयोजक ताेकेका छन् । त्यसैगरी आनन्दप्रसाद ढुंगानालाई वित्तिय तथा सहकारी संस्था समन्वय विभाग, अजयकुमार चौरसियालाई तराई मधेस समन्वय विभाग, महेन्द्र यादवलाई यातायात व्यवसायी समन्वय विभाग र शंकर भण्डारीलाई तरुण विभागको जिम्मेवारी दिएका छन् ।

सीता गुरुङलाई आदिवासी जनजाति विभाग, गोविन्द भट्टराईलाई नेपाली जनसम्पर्क समिति समन्वय विभाग, चिनकाजी श्रेष्ठलाई उद्योग व्यापार विभाग, प्रवक्ता विश्वप्रकाश शर्मालाई सूचना, सञ्चार तथा प्रसार विभाग र सिटाैला पक्षका शिवप्रसाद हुमागाईंलाई श्रमिक तथा ट्रेड युनियन विभागको संयोजकको जिम्मेवारी दिइएकाे छ ।

सिटौला समूहलाई एक विभागको संयोजक बनाइएको छ ।

केन्द्रीय समितिको आमन्त्रित सदस्यमा ५ जना मनाेनित

पार्टीको विधान तथा नियमावलीको व्यवस्था बमोजिम देउवाले केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य पदमा कृष्ण किशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापा), सुधीरकुमार शिवाकोटी (झापा), मनोहर नारायण श्रेष्ठ (धनकुटा) र ध्रुव वाग्ले (तनहुँ) लाई मनोनयन गरेका छन् ।