Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ फाल्गुण १७ शनिबार १९:०९:००
Read Time : > 4 मिनेट
फिचर

राष्ट्र बैंकको जागिरबाट यसरी मोडियो ‘छुच्ची’ लक्ष्मीको अभिनय यात्रा

Read Time : > 4 मिनेट
२०७६ फाल्गुण १७ शनिबार १९:०९:००

नेपाली रंगमञ्चमा अग्रपंक्तिका कलाकारका रूपमा आउने एउटा नाम हो, लक्ष्मी गिरी । दर्जनौँ फिल्म तथा टेलिफिल्ममा प्रायः ‘छुच्ची’ भूमिकामा देखिने उनी ११ माघ २०१० मा पशुपति क्षेत्रको देवपत्तनमा मुक्तिनाथ पौडेल र उजेली अधिकारीकी एक्ली सन्तानका रूपमा जन्मिएकी हुन् । ११ वर्षकै उमेरमा बाल कलाकारका रूपमा रंगमञ्चमा पाइला टेकेकी गिरीलाई अभिनय यात्रामा अहिलेसम्म पछाडि फर्केर हेर्नु परेको छैन । 

त्यतिबेला काठमाडौंमा मनोरञ्जनको एक मात्र साधन ‘डबली’ थियो । दिनभर खेतबारी, पेशा, व्यवसायबाट थाकेर ‘लोथ’ भएका स्थानीय गीत, नृत्य र नाटक एकैथलोमा पस्कने डबलीमा भेला हुन्थे । सात वर्ष डबलीमा काम गरेर अभिनयमा निखारिएकी लक्ष्मीको उमेर बढेसँगै बिहेको प्रस्ताव लिएर आउनेहरू पनि कम थिएनन् । घरपरिवारबाट जीवन धान्न सहज हुने पेशा समात्न प्रेसर बढ्दै थियो । 

मोडिएको बाटो  
‘नहुनेलाई रित्तो हात, हुनेलाई खातैखात’ भनेझैँ अभिनयमै करिअर खोज्दै गरेकी लक्ष्मीलाई नेपालको केन्द्रीय बैंक (राष्ट्र बैंक)बाट जागिर खाने ‘अफर’ आयो । 

अभिनयलाई बिट मार्दै नेपाल राष्ट्र बैंकको नोट विभागमा काम गर्न थालेकी लक्ष्मीले आफ्नो विगत यसरी सम्झिइन्, ‘मेरी हजुरआमा सरकारी नर्स हुनुहुन्थ्यो । उहाँले अवकाश पाउँदै हुनुहुन्थ्यो । उहाँले ‘मेरो नातिनीलाई पनि जागिर दिनुपर्‍यो’ भनेर नेपाल राष्ट्र बैंकको नोट विभागका म्यानेजर दामोदर दवाडीलाई भन्नु भएछ ।’ 

उनले अगाडि थपिन्, ‘दवाडी सरको श्रीमती भीमा दवाडी मेरो गुरुआमा हुनुहुन्थ्यो । उहाँले मलाई खुबै माया गर्नुहुन्थ्यो । एकदिन ‘लक्ष्मी, तिमी जागिर खाने हो ?’ भन्दै गुरुआमाले सोध्नुभयो । मैले उहाँलाई ‘नाई’ भन्न सकिनँ । राष्ट्र बैंकमा जागिर खान थालेँ । जागिरको क्रममा नोट विभागमा नोट गन्नेदेखि पुराना पैसा छान्नेसम्मको काम गरेँ ।’ 

बैंकको जागिरलाई त्यतिबेला पनि प्रतिष्ठित मानिन्थ्यो । बैंकमा जागिर खान थालेपछि घरमा बिहेको कुरा आउने क्रम बढ्यो । यता लक्ष्मीको भने अफिस आउजाउ गर्दा आँखा जुध्ने केटो (रत्नकुमार गिरी)को व्यक्तित्वले मन चोरेको थियो । रत्नकुमार गिरी शिक्षक थिए । उनी पढाउन जाने बाटो र लक्ष्मी बैंक जाने बाटो एउटै थियो । 

बाटोमा एकअर्काबीच ‘हेराहेर’ भइरहन्थ्यो । आक्कल झुक्कल हुने हेराहेर मायामा परिणत हुन धेरै बेर लागेन । लुकिछिपी बसेको माया पारिवारिक सहमतिमै २०३० सालमा बिहेमा बदलियो । 

बिहेपछि पनि लक्ष्मीलाई आफ्नो करिअर अघि बढाउन कुनै अप्ठ्यारो भएन । किनभने, उनका श्रीमान् पढेलेखेका थिए । घरपरिवार पनि बुझ्ने खालको थियो ।  

‘कमब्याक टु रिल लाइफ अगेन’ 
राष्ट्र बैंकले २०३८ सालमा रजत महोत्सवको अवसरमा बृहत कार्यक्रम आयोजना गरेको थियो । लक्ष्मीमा पहिलेदेखिको अभिनयको रुचि छँदै थियो । त्यही रुचिलाई बुझेर बैंकका सबै कर्मचारीले उनलाई नाटकमा अभिनय गर्न आग्रह गरे । लक्ष्मीलाई पनि ‘ढुंगा खोज्दा देउता’ मिलेजस्तै भयो ।  

लक्ष्मी सम्झन्छिन्, ‘मैले ‘म पनि अभिनय गर्छु’ भनेँ । हाकिम रुबी जोशीले ‘गर्ने त भन्यौ, तर तिमीहरूको घरमा कचकच होला नि’ भन्नुभयो । उहाँले ‘तपाईंको श्रीमान् कहाँ काम गर्नु हुन्छ ?’ भन्दै सोध्नु पनि भयो ।’ 

उनको भनाइमा, जोशीले लक्ष्मीका श्रीमान् रत्नलाई नै भेटेर कुरा गरेका रहेछन् । उनले भनिन्, ‘मेरो श्रीमानले सकारात्मक कुरा गर्नुभएछ । त्यसैले, मेरो श्रीमान्को प्रशंसा गर्दै ‘लक्ष्मीको श्रीमान् कत्ति बु्झ्झकी, एक चोटीमै मान्नुभयो’ भन्नुभयो ।’

उनीभित्र १० वर्षदेखि दबेको अभिनयको भोक फेरि जाग्यो । ‘त्यो रजत महोत्सव मेरो जिन्दगीको ‘टर्निङ प्वाइन्ट’ नै बन्यो, त्यो नाटकमा अभिनय गरेपछि त मेरो हौसला झन् बढ्यो,’ उनले सम्झिन्, ‘राम्रो अभिनयकै कारण मैले बैंकको जागिरमा दुई ग्रेडसमेत पाएँ । यो कार्यक्रमपछि मभित्रको ‘अभिनयको किरा’ अझ सशक्त बन्दै गयो ।’

रजत महोत्सवमा राम्रो गरेपछि उनमा नाटक मोह अरु बढ्न थाल्यो, छटपटी बढ्यो । ‘कसैले नाटक खेल्न बोलाए’नि हुन्थ्यो’ जस्तो लाग्न थाल्यो ।

अभिनयलाई निरन्तरता  
नेपाल टेलिभिजनको स्थापनासँगै उनको अभिनय यात्राले फेरि निरन्तरता पायो । २०४३ मा सन्तोष पन्तको टेलिचलचित्र ‘यस्तै हुन्छ’बाट उनको रोकिएको अभिनय यात्रा सुरु भयो । 

उतिबेला नेपाल टेलिभिजनमा समाचारवाचकका रूपमा काम गर्थे, वसन्त सापकोटा, जो राष्ट्र बैंकमै जागिरे थिए । उनले एकदिन सोधे, ‘टेलिफिल्ममा काम गर्न इच्छुक हुनुहुन्छ ?’ लक्ष्मीले जवाफ दिइन्, ‘किन नगर्नु सर । मलाई यसरी नै अभिनयका लागि बोलाउने मान्छे चाहिएको छ । ढुंगा खोज्दा देउता मिलेजस्तै भयो ।’ 

उनलाई सम्झना छ, उज्ज्वल घिमिरे निर्देशक थिए त्यो टेलिफिल्मको । उनी दुई–तीन ‘टेक’मै ‘पर्फेक्ट’ अभिनय गर्न सक्ने मान्छे खोज्थे । तर लक्ष्मीले सुट गर्दा ६ ‘टेक’सम्म दिनुपर्‍यो । 

‘फर्वार्ड नै थिएँ म, तर जति फर्वार्ड भए पनि पुरुषसँग टाँसिएर अभिनय गर्न कठिन हुँदो रहेछ,’ उनले भनिन्, ‘त्यसमा पुरुष मान्छेलाई मैले नै कोट लगाइदिनुपर्ने ‘सिन’ थियो । पछि वसन्तजीले नै ‘अन्यथा नसोच्नू’ भनेर सम्झाउनु भयो । त्यसपछि राम्रै भयो ।’

‘मह सञ्चार’द्वारा प्रसारित ‘टेलिसिरियल’मा उनले हरिवंशको ‘पार्टनर’को भूमिका निर्वाह गरेकी थिइन् । त्यो टेलिसिरियल पनि निकै चर्चित भएको थियो । र, प्रदर्शनका लागि अमेरिकासमेत पठाइएको थियो ।  

उनले अप्रिल फस्र्ट, परिचय, तिमीहरू नै भन, हिजोआजका कुरा, तीतो सत्य,  गंगा–जमुनालगायत नाटक, टेलिसिरियलहरूमा पनि अभिनय गरिन् । 

‘पर्फेक्ट’ अभिनयका कारण २०४५ सालपछि ठूलो पर्दामा पनि उनलाई ‘अफर’ आउन थाल्यो । 

त्यसक्रममा उनले फेरि भेटौँला, कन्यादान, तँ त साह्रै बिग्रिस् नि बद्री लगायतका दर्जनौँ चलचित्रमा अभिनय गरिसकेकी छन् । त्यसमध्ये प्रेमपिण्ड, बलिदान, मुग्लान, ठुल्दाइ, दर्पण छायाँ, तँ त साह्रै बिग्रिस् नि बद्री, प्रेमगीत र छक्का पञ्जा चलचित्रलाई उनी सबैभन्दा सफल चलचित्र मान्छिन् ।

सबैखालको अभिनय गर्न सक्ने खुबीकी लक्ष्मीलाई चाहिँ आफूले गरेको अभिनयमध्ये ‘मुग्लान’ फिल्ममा पाएको भूमिका र अभिनय मन पर्छ । त्यो फिल्ममा उनले नायकको आमाको भूमिका निर्वाह गरेकी थिइन् । त्यसमा आफ्नो अभिनय निकै भावुक प्रकृतिको रहेको उनको भनाइ छ ।  

सरकारी जागिर छाडेर अभिनयमा 
नेपाल राष्ट्र बैंकको जागिर र अभिनयलाई व्यवस्थापन गर्न गिरीलाई सहज भएन । उनको भनाइमा अभिनयका लागि जानुअघि अफिसबाट बिदा लिनुपथ्र्याे । बिदाको फारम हाकिमको अगाडि लग्दा–लग्दा दिक्क भएकी थिइन् उनी । 

‘त्यसैले, दुईमध्ये एउटा क्षेत्र रोज्नुपर्छ भन्ने लाग्यो । घरबाट जागिरलाई निरन्तरता दिने सल्लाह दिनुभएको थियो,’ उनले आफ्नो निष्कर्ष सुनाइन्, ‘अभिनयलाई तिलाञ्जली दिन सकिनँ, त्यसैले २०५० मा नेपाल राष्ट्रबैंकको नोट विभागको जागिरबाट राजीनामा दिएँ र कलाक्षेत्रमै होमिएँ ।’ 

त्यतिबेला पेन्सन पाक्ने समय पनि भइसकेका कारण जागिर छाड्न उनलाई सजिलै भयो । 

जागिर नछाड्न परिवारले दबाब चाहिँ नदिएको होइन । श्रीमानले निकै सम्झाएको सम्झिन्छिन् उनी । ‘त्योबेला जागिर छाडेको कुराले अहिले पनि बेलाबेला रिसाउनुहुन्छ उहाँ,’ उनी भन्छिन्, ‘तर, मेरो निर्णयको अगाडि कसैको केही लागेन । मैले आफ्नै मनको कुरा मात्र सुनेँ ।’

आफूले कला क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप प्राप्त हुने सम्मान र दर्शकको माया सम्झँदा उनलाई लाग्छ, त्योबेला जागिर छाडेर कला क्षेत्रमा समर्पित हुने निर्णय सही नै थियो । 

आफूलाई ‘कला क्षेत्रका लागि जन्मेको नेपाली’का रूपमा चिनाउन चाहने उनलाई आफ्नो अभिनय कला कुनै ‘क्लास’ वा अन्य कुनै माध्यमबाट अरुलाई सिकाउने धोको छ ।  

रियलमा ‘छुच्ची छैन’ 
धेरै दर्शकले लक्ष्मी गिरीलाई ‘खलपात्र’ वा ‘छुच्ची’को भूमिकामा देखेका छन् । त्यहीकारण कतिपय दर्शक भेट हुँदा ‘तपाईंसँग त बोल्न पनि डर लाग्छ’ भन्दा रहेछन् । यस्तो प्रतिक्रिया पाउँदा ‘रिल लाइफ’की लक्ष्मीलाई अभिनय राम्रो गरेछु भन्ने लाग्छ ।

पर्दामा देखिने ‘छुच्ची लक्ष्मी रियल लाइफ’मा चाहिँ कस्ती हुनुहुन्छ त ?’ उनले मुस्कुराउँदै भनिन्, ‘खासमा म छुच्ची छैन, आफूलाई लागेको कुरा प्रष्ट बोल्ने मान्छे हुँ म ।’

उनको भनाइमा, जस्तोसुकै भूमिकामा अभिनय गर्न सक्ने भएका कारण निर्माताले विभिन्न भूमिका निर्वाह गर्नुपर्ने ‘स्क्रिप्ट’ तयार पारेर दिन्छन्, जसमा उनले अभिनय गर्नुपर्ने हुन्छ ।

उनका अनुसार, ‘पराई’ फिल्मको अफर आयो उनलाई । शिव रेग्मी निर्देशक थिए । रेग्मीले लक्ष्मीलाई ‘छुच्ची’को ‘रोल’मा खेल्नुपर्ने बताए । ‘मैले सधैँ यस्तै रोल मात्रै गर्ने हो ? भनेर रिसाएँ,’ उनले सम्झिन्, ‘त्यसपछि उहाँले ‘नाइँ भनेर हुन्छ ? स्क्रिप्ट नै तपाईंलाई हेरेर लेखेका छौँ भन्ने जवाफ दिनुभयो ।’

अहिले पनि उनलाई ‘छुच्ची’ महिलाको ‘रोल’मा अभिनय गर्न अफर गरिरहन्छन् । तर, उनले यस्ता धेरै अफर अस्वीकार गरेकी छन् । उनले भनिन्, ‘छुच्चीको रोल गर्दा त दर्शक पनि तर्सिंदा रहेछन्, ‘इम्प्रेसन’ नै गलत पर्दो रहेछ ।’