मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
विधान कार्की फिल्म निर्देशक
सुनिता खनाल काठमाडाैं
२०७६ फाल्गुण १७ शनिबार १०:४०:००
Read Time : > 2 मिनेट
सप्तरंग

अमेरिकाबाट फर्केर फिल्म मेकिङ

Read Time : > 2 मिनेट
सुनिता खनाल, काठमाडाैं
२०७६ फाल्गुण १७ शनिबार १०:४०:००

कैलालीको टीकापुरमा स्कुल पढ्दा नै शुक्रबारीय कार्यक्रममा नाटक मञ्चन गर्न र गराउन अघि सर्थे विधान कार्की । त्यसैवेलादेखि सिनेमाप्रतिको लगाव बढेको थियो, उनको । एसएलसीपछि ०६३ मा काठमाडौं छिरेका उनी फिल्मको सुटिङ हुने ठाउँ खोज्दै एक वर्ष त राजधानीका सुटिङस्थल धाए । जहाँ–जहाँ सुटिङ हुन्छ, त्यहीँ पुगे । यसले सिनेमाप्रति चाख झन् बढेको उनी बताउँछन् । ‘पढाइ सँगसँगै सिनेमाप्रति पनि चाख बढ्दै गयो,’ उनी भन्छन् । त्यही चाखले त उनी अमेरिकाबाट पनि काठमाडौं फर्किएका हुन् । 

फिल्म मेकिङ नै आफ्नो लक्ष्य बनाएका उनले १० वर्षअघि म्युजिक भिडियो निर्देशन गर्न सुरु गरेका थिए । म्युजिक भिडियो निर्देशनसँगै एडभर्टाइज्मेन्टको काम पनि गर्दै आएका विधानले नेपाली सिनेमाका साथै अन्य डकुमेन्ट्री र आधा दर्जनभन्दा बढी सर्ट फिल्म बनाएका छन् । उनले बनाएका सर्ट फिल्महरू ‘दाइजो’, ‘गरिबी’, ‘जब एप्लिकेसन’लगायत हुन् । 

अहिलेसम्म पाँच दर्जनभन्दा बढी म्युजिक भिडियोको निर्देशन गरिसकेका विधानले शिव परियारको स्वरमा रहेको ‘तिम्रो संसार’ गीतमा सनम कठायत र वर्षा राउतलाई फिचरिङ गराए । त्यसले उनलाई एउटा उचाइ दियो । लेखु सहयात्रीको स्वरमा रहेको ‘टेलिफोनको टावर’ मा एलिसा राई र आकाश श्रेष्ठलाई गराएको फिचरिङले उनलाई अझै लोकप्रिय बनायो । नम्रता काफ्ले खरेलको ‘मै राम्री हुँ कि’ को फिचरिङ उनले निर्देशन गरेका राम्रा म्युजिक भिडियोभित्र पर्‍यो । 

विधानले प्रमोद खरेल, शिव परियार, शिशिर योगी, संजिवनी, मनोज राजलगायतका गायकगायिकाको स्वरमा रहेको गीतको म्युजिक भिडियो निर्माण गरिसकेका छन् । आफूले फिचरिङ गराएकाहरूमा पल शाह, केकी अधिकारी, वर्षा राउत, निराजन प्रधानलगायतको कामको खुलेर तारिफ गर्छन् उनी । 

उनको पारिवारिक पृष्ठभूमि भने कला क्षेत्र होइन । बोल्नमा रुचि भएकैले रेडियो जक्कीको तालिम लिए । नेपाल टेलिभिजन, माउन्टेन टेलिभिजन र अरनिको टेलिभिजनमा कार्यक्रम प्रस्तोताको काम गर्न भ्याए । उनलाई टेलिभिजन कर्ममा लागेपछि फिल्म मेकिङको रहर झनै बढ्यो । 

फिल्मसम्बन्धी व्यक्तिहरूसँगै असिस्टेन्ट गर्ने कि पढेर आएर फिल्म मेकिङ सुरु गर्ने भन्ने उनको मनमा द्वन्द्व चल्यो । आफूभित्रको अन्तद्र्वन्द्वबाट सेल्फ मोटिभेसनले जितेपछि नेपालको पढाइ सकेर उनी सन् २०१६ मा फिल्म पढ्न अमेरिका पुगे । त्यहाँको ‘मिनेसोटा स्टेट युनिभर्सिटी, मुरहेड मिनेसोटा ’मा फिल्म अध्ययनअन्तर्गत डाइरेक्सन र प्रोडक्सनको दुईवर्षे कोर्ष पूरा गरे । ‘अवसर उतै तमाम भए पनि यतै काम गर्न नेपाल फर्किएँ,’ विधान भन्छन् । 

दश वर्ष म्युजिक भिडियो निर्देशन गरेका विधान कार्की चटक्क छोडेर अमेरिका उडे, पढाइ पूरा गर्न । डाइरेक्सन र प्रोडक्सनको दुईवर्षे कोर्स गरेर नेपाल फर्किएका उनी डेब्यू गर्दै छन् फिल्म ‘गुर्खाज : द स्टोरी अफ अ ब्रेभरी’मा । 

डेब्यूमै ड्रिम प्रोजेक्ट

दुईवर्षे कोर्स सक्काएर नेपाल फर्केका विधानले धेरै अध्ययन र अनुसन्धानपछि ‘गुर्खाज : द स्टोरी अफ अ ब्रेभ्ररी’ अर्थात् बहादुरीको कथा समेटिएको फिल्म निर्माण गर्दै छन् अहिले । उनी र नेप्सिने कम्पनीका संस्थापक रायन रेजले संयुक्त रूपमा लेखेको स्टोरी समावेश भएको फिल्मको निर्देशन उनले नै गर्दै छन् । 

नेप्सिने कम्पनीका नेपाल प्रमुख हुन् विधान । भर्खरै धुर्मुस–सुन्तलीको फिल्म ‘सेन्टी भाइरस’को इन्टरनेसनल डिस्ट्रिब्युटरको रूपमा एक करोड १५ लाखमा किनेका छन् । नेपालबाहेक सम्पूर्ण देशको डिस्ट्रिब्युसनको राइट्स उनको कम्पनीले लिएको छ । जुन कम्पनीमा रायन रेज, दीपेन्द्र कार्की र उनको पार्टनरसिप छ । 

सन् २०२० भित्र सुटिङ सम्पन्न गर्ने लक्ष्य रहेको फिल्ममा उनलाई साउथ इन्डियन टेक्निकल टिमको सहयोग छ । सिनेम्याटोग्राफर र ग्राफिक्सको पार्टको काम त्यहीँ हुनेछ । ब्याकराउन्ड म्युजिक मुम्बईमा हुनेछ । विधान भन्छन्, ‘यो मेरो महत्वाकांक्षी प्रोजेक्ट हो । अर्थात् ड्रिम प्रोजेक्ट ।’ 

फिल्म कि पढेर, कि बुझेर आउनुपर्छ भन्ने उनको तर्क छ  । फिल्म मेकिङ, फर्मुला के हो ? वल्र्डमा फिल्म मेकिङ प्रोसेस कसरी अगाडि बढ्छ, टेक्निकल टम्सहरू पर्फेक्टली जान्नका लागिचाहिँ पढ्नु नै पर्ने बताउँछन् उनी । अन्दाजमा काम गर्नु र जानेर गर्नु फरक कुरा देख्छन् विधान । भन्छन्, ‘फिल्म मेकिङ, पढ्छु भनेर मात्रै पनि पढिँदैन ।’ 

उनलाई फिल्म मेकिङ नै गर्नु थियो, जीवनमा । पहिलो ओरेन्टेसन कक्षाबाट नै उनले त्यसमा ध्यान दिन थाले । प्राविधिक शब्दहरू, राइटिङ, स्क्रिन–प्ले राइटिङ, स्टार्टिङ कसरी गर्ने, मध्यान्तर कहाँनेर गर्ने, कस्तो खालको क्युरिसिटी जगाउने, अन्त्यमा कुन खालको फर्मुला राखेर फिल्म सक्ने, क्लाइमेक्समा कसरी इन्ड गर्ने, कन्फिलिक्ट म्यानेजमेन्ट कसरी गर्ने भन्ने त्यही दुई वर्षमा सिकेर नेपाल फर्किएका हुन् विधान । 

‘ग्लोबल नेपाली फिल्म अवार्ड’ २०१६, युएस्ए, ‘बेस्ट सर्ट फिल्म डाइरेक्सनलगायत दर्जन बढी अवार्ड पनि पाइसकेका उनी फिल्म मेकिङमा सफल हुनेमा ढुक्क छन् । त्यही क्रममा अमेरिकामा वर्कसप पनि गरे । ‘मलाई मेरो फिल्म मेकिङको लेभल थाहा छ,’ विधान भन्छन्, ‘डेब्यु गर्नका लागि उठाएको फिल्मको कथा नै एडेप्टेसन भएकाले चुनौती पनि छ ।’