Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवराज मैनाली काठमाडौं
२०७६ फाल्गुण १७ शनिबार ०७:१९:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

गृहमन्त्री बादलका दुई वर्ष : सुस्ताए गृहमन्त्रीका आक्रामक योजना

Read Time : > 3 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७६ फाल्गुण १७ शनिबार ०७:१९:००

केपी ओली नेतृत्वको सरकारले सय दिन मनाउँदा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सबैभन्दा बढी चर्चामा थिए । यातायात क्षेत्रको सिन्डिकेटदेखि समयमा काम सम्पन्न नगर्ने ठेकदारलाई पक्राउ गरेर कारबाही गर्ने उनको योजनाको सर्वत्र प्रशंसा भएको थियो । सुन तस्करीमा संलग्न हाइप्रोफाइल व्यक्तिहरू धमाधम पक्राउ परिरहेका थिए । सरकारका मन्त्रीहरूमध्ये सबैभन्दा चर्चा र प्रशंसा उनकै थियो ।  

बादल गृहमन्त्री भएको गत १३ फागुनमा दुई वर्ष पुगेको छ । अहिले उनी विगतमा जस्तो चर्चामा छैनन् । उनका आक्रामक कार्य योजनाहरू सेलाउँदै गएका छन् । निर्मला पन्तको हत्यादेखि कुमार पौडेलको इन्काउन्टरसम्मका घटनाको विवादमा उनको छविमा धक्का लाग्यो । पछिल्लो समय उनको कार्यशैली फेरिँदै गएको छ । 

 आक्रामक सुरुवात, सुस्त कार्यान्वयन 
ओली सरकारको पहिलो राम्रो कामका रूपमा यातायात क्षेत्रको सिन्डिकेटविरुद्धको कारबाहीलाई लिइएको थियो । जिल्ला प्रशासन कार्यालयमा एनजिओका रूपमा यातायात समितिहरू दर्ता गरेर करोडौँको व्यवसाय गरिरहेका थिए । ती सबै समिति खारेज गर्ने र कम्पनीमार्फत यातायात व्यवसाय सञ्चालन गर्नुपर्ने निर्णय भयो ।  त्यसको कार्यान्वायनमा गृह मन्त्रालयको महत्व्पूर्ण भूमिका थियो । तर, अहिलेसम्म यातायात समिति खारेज भइसकेका छैनन् । सार्वजनिक यातायात क्षेत्रमा स्वच्छ प्रतिस्पर्धाको वातावरण नहुँदा सुधार आउन सकेको छैन । 

त्यसपछिको मन्त्री बादलको अर्काे महत्वपूर्ण योजना समयमा काम नगर्ने निर्माण व्यवसायीमाथि कारबाही थियो । गृह मन्त्रालयको निर्देशनमा विभिन्न जिल्लामा केही ठेकदार पक्राउ पनि परे । यो कामको जनस्तरबाट प्रशंसा भए पनि  प्रधानमन्त्री तथा पार्टीकै नेताहरूको दबाबपछि उनले यो अभियानलाई निरन्तरता दिन सकेनन् । पछिल्लो समयमा काम सम्पन्न नगर्ने ठेकदारलाई झन् सहज हुने गरी सरकारले पटक–पटक सार्वजनिक खरिद नियमावली संशोधन गरिरहेको छ । 

मन्त्री बादलको एउटा सफलता सुन तस्करीमा संलग्न संगठित समूहविरुद्धको कारबाही हो । तस्करीको सुन हराएको विवादमा सनम शाक्यको हत्या भएको घटनामाथि अनुसन्धान गर्दा यसमा संगठित समूह देखियो । त्यसको अनुसन्धानका लागि उनले सहसचिवको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरे । टोलीले प्रहरीसहित संगठित गिरोहविरुद्ध मुद्दा चलायो र पाँच वर्षदेखि विमानस्थलमा संगठित रूपमा हुँदै आएको तस्करी बन्द भयो । तर, अनुसन्धान टोलीको प्रतिवेदन अहिलेसम्म कार्यान्वायन हुन सकेको छैन । गिरोहका कतिपय मुख्य नाइके अझै फरार छन् ।  

लागुऔषध र मदिराले समाजमा ठूलो असर गरेको भन्दै गृहमन्त्री बादले यसविरुद्ध वडा तहसम्म अभियान सुरु गर्ने घोषणा गरे । सामाजिक परिवर्तनका लागि यो निकै महत्वपूर्ण हुने आकलन गरिएको थियो । मदिरा बिक्री– वितरणलाई समेत व्यवस्थित बनाउने उनको प्रयास मन्त्रिपरिषद्, व्यवसायी र विदेशीसम्मको दबाबमा असफल भयो ।  अध्यागमनमा प्रविधिगत सुधार ल्याएका छन् । इमी सफ्टवेयर विस्थापित भएर आफ्नै नेपाल पोर्ट सफ्टवेयर जडान गरिएको छ । केही आधुनिक प्रविधि जडान गरिएको छ । तर, पनि अध्यागमनमा हुने सेटिङ र कर्मचारीको रुखो व्यवहारमा सुधार हुन सकेको छैन ।  

बादलले गृह मन्त्रालयमा सुधारका लागि समयसीमासहित  ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गरे । कार्ययोजनामा थोरै मात्र काम समयसीमाभित्र सम्पन्न भएको छ । उनले सार्वजनिक गरेको बुँदा नम्बर २४ मा भनिएको छ, ‘पुरस्कार र दण्डको नीति कार्यान्वायनको नियमित अनुगमन गर्नका लागि मन्त्रालयमा एक संयन्त्र निमार्ण गर्ने ।’ यस्तोे संयन्त्रले काम गरेको छैन । 

बादल गृहमन्त्री भएको गत १३ फागुनमा दुई वर्ष पुगेको छ । अहिले उनी विगतमा जस्तो चर्चामा छैनन् । उनका आक्रामक कार्य योजनाहरू सेलाउँदै गएका छन् । 

कतिसम्म भने सिंहदरभित्रकै पार्किङ व्यवस्थित बनाउने उनको कार्ययोजनाको सामान्य कामसमेत लागू हुन सकेको छैन । रातो नम्बरका सवारीसाधनलाई रातो प्लेटमा परिणत गर्ने भन्दै ८०औँ बुँदामा उल्लेख गरिएको थियो । तर, यस्तो क्रम गृह मन्त्रालयभित्र झन् बढेको छ । हालै गृहसचिवमा आएका महेश्वर न्यौपानेले समेत आफ्नो गाडीको नंम्बर प्लेट रातो 
बनाएका छन् । 

त्यस्तै, सार्वजनिक बिदाका दिन सरकारी गाडीको प्रयोगलाई रोक्ने अभियान पनि केही दिन मात्र कायम भयो । माइतीघर मण्डलामा विरोध प्रदर्शन रोक्ने निर्णयले उनको आलोचना भयो । निर्मला पन्त बलात्कारपछि हत्या घटनामा असफलताको दाग गृहमन्त्रीको छविमा समेत लागेको छ । समयमा सही विश्लेषण हुन नसक्दा यो असफलतामा सरकार फसेको अहिले आएर खुलेको छ । साथै विप्लव समूहका नेता कुमार पौडेलको फेक इन्काउन्टरजस्ता विषयमा संसदलाई ढाँटेकोमा उनी विवादमा परे । 

  शान्ति–सुरक्षामा सुधार प्रहरीमा निराशा
प्रहरीमा सरुवा, बढुवाबाट उनी मुक्त हुन सकेनन् । बढुवामा दुई ब्याचसम्म मिचेर बढुवा भए । सरुवामा पनि विवादास्पद प्रहरी अधिकृतले महत्वपूर्ण जिम्मेवारी पाए । समायोजनमा प्रहरीलाई कमजोर बनाउने ऐन संसद्बाट पारित हुँदा मन्त्रालयले भूमिका खेल्न नसकेको भन्दै प्रहरीमा यति वेला अन्योलता छ । यद्यपि, प्रहरीमा विगतमा जस्तो चर्काे हस्तक्षेप भने छैन । शान्ति–सुरक्षाको स्थितिमा सुधार नै भएको छ । 

सशस्त्र प्रहरी बलमा बोर्डर आउटर पोस्ट थप्न सफल भएका छन् । तर, बढुवाको जामका कारण अस्तव्यस्त भएकामा त्यसतर्फ ध्यान दिन सकेका छैनन् ।  प्रमुख जिल्ला अधिकारीलाई थप उत्तरदायी र सक्रिय बनाउन कार्यसम्पादन सम्झौता भएको छ । यसलाई उनीहरूको वृत्ति विकासको आधार बनाउन नसक्दा धेरै प्रभावकारी हुन सकेको छैन । धेरै जिल्लामा उपसचिवलाई कामु सिडिओका रूपमा खटाइयो । उनीहरूलाई लामो समय खटाउन मन्त्रिपरिषद्बाटै विशेष व्यवस्थासमेत गरियो ।    

विभूषणमा जभाभावी दिने विकृति रोक्न सकेनन् । गत वर्ष ६ सयभन्दा धेरैलाई विभूषण दिएर रेकर्ड कायम भयो । यो वर्षमा त्यसमा सुधारको प्रयास भइरहेको छ ।  मापदण्डविपरीत खटिएका केही सुरक्षाकर्मीलाई फिर्ता बोलाए पनि गृहकै अधिकारीबाट यसको दुरुपयोग भइरहेको छ । 

सबैभन्दा महत्वपूर्ण कुरा मन्त्री बादल आफैँ आर्थिक लाभका घटनामा जोडिएका छैनन् । तर, आफू आसपासका व्यक्तिहरूको चलखेल उनले रोक्न सकेका छैनन् । आफ्नै भाइसमेत आपराधिक गिरोहसँग मिल्दा पनि उनले पत्तो पाएनन् । प्रहरीका सरुवा÷बढुवा शक्तिकेन्द्रका सिफारिस उनले नकार्न सकेका छैनन् ।  गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘मन्त्रीज्यू सफा भए पनि सचिवालय स्वार्थले भरिएका व्यक्तहरूले भरिएको छ, जसकारण उहाँ वेलावेलामा विवादमा पर्नुहुन्छ ।’

 पूर्वएआइजी राजेन्द्रसिंह भण्डारीको मूल्यांकनमा गृहमन्त्री बादल इमानमा चुकेका छैनन् तर कतिपय कुरामा अनुभवको कमी देखिन्छ । ‘विगतमा कतिपय गृहमन्त्रीहरू लाइन नै चलाउँथे, त्यस्तो प्रवृत्ति अहिले देखिएको छैन, गृहमन्त्रीको इमानमा प्रश्न गर्ने ठाउँ छैन,’ उनी भन्छन्,‘कतिपय अवस्थामा भने उहाँमा अनुभवको कमी देखियो ।’

 गृहमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार सूर्य सुवेदी मन्त्रालय योजनाअनुसार नै सफल भएको बताउँछन् । ‘प्रधानमन्त्री कार्यालयले गरेको मूल्यांकनमा समेत मन्त्रालयले ९० प्रतिशतभन्दा धेरै नम्बर ल्याएको छ,’ उनी भन्छन्, ‘गृह सुधार कार्ययोजनामा रहेका कतिपय काम पनि प्राविधिक कारणले मात्र हुन नसकेका हुन्, धेरै काम भइसकेका छन् ।’ 

०६५ सालमा रक्षामन्त्री हुँदा उनको सेनासँग टक्कर प¥यो । त्यही कारण सरकार नै ढल्न पुगेको थियो । अन्र्तमुखी स्वभावका बादलको कार्यशैली विगतमा जस्तो आक्रामक नभएको उनका सहयोगीहरू बताउँछन् । त्यही कारण उनी पार्टीभित्र आफ्नो प्रभाव बढाउन सफल भएका छन् । तर, त्यही लचकताका कारण गृह प्रशासनको सुधार अभियान अपेक्षाअनुसार अघि बढ्न सकेको छैन ।