मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ६ आइतबार ०९:४४:००
Read Time : > 3 मिनेट
सप्तरंग

कहाँ छन् यी हिरो ?

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ६ आइतबार ०९:४४:००

एकताका अभिनेताहरू निखिल उप्रेती, राजबल्लभ कोइराला, आर्यन सिग्देल, विराज भट्ट, रमित ढुंगाना, जीवन लुइँटेल र नीरज बराल निकै चर्चित र व्यस्त थिए ।

भुवन केसी, शिव श्रेष्ठ, राजेश हमाल, दिलीप रायमाझी, सुशील क्षेत्री र रमेश उप्रेतीपछिको पुस्तामा एकाएक चर्चा र सफलता हासिल गर्न सफल हिरोमा पर्थे निखिल, राजबल्लभ, आर्यन, विराज, रमित, जीवन र नीरज । यिनीहरूले भुवन, शिन, राजेशहरूको जस्तो स्टारडम भने बनाउन सकेनन् । 

पिँजडा फिल्मबाट स्टन्ट हिरोका रूपमा उदाएका निखिलले त्यसपछि धेरै वर्ष पछाडि फर्र्किएर हेर्नुपरेन । जोखिमयुक्त एक्सनका दृश्य पनि आफैँ गर्ने गरेका निखिललाई अभिनय र नृत्यमा कमजोर हुँदाहँुदै पनि दर्शक, फिल्मकर्मीले एक्सनका कारण मनपराइरहे । उनी अभिनीत अधिकांश फिल्मले निर्मातालाई मुनाफा दिए पनि । तर, जब उनी दोस्रो बिहेको चक्करमा लागे, त्यसपछि उनको करिअर धर्मरायो । अभिनेत्री सञ्चिता लुइँटेलसँग बिहे गरेर केही समय मुम्बई बसेका निखिलले बलिउडका फिल्ममा अभिनय गर्ने भरमग्दुर प्रयास गरे । तर, उनले मौका नै पाएनन् । अन्ततः चरी कहाँ फर्कियो, गुँडमा भनेझैँ उनी काठमाडांै फर्किए । अरूका फिल्मबाट अफर आउने सम्भावना न्यून देखेपछि भारतीय नागिरक रतन दारुवालालाई निर्माता बनाएर आफ्नै प्रमुख अभिनय र निर्देशनमा भैरव फिल्म निर्माण गरे । भैरवले उनको करिअर पुनस्र्थापित गर्न केही सहयोग भने गर्‍यो । तर, त्यसपछिका उनले अभिनय गरेका लुटेरा, रुद्र, संरक्षण, निर्भय, राधे, भिलेनलगायत कुनै फिल्मले पनि नाफामूलक व्यापार गरेनन् । उनको पहिलाको जस्तो क्रेज पनि रहेन ।

अभिनयमै चल्दै गर्दा नै उनले सावधान र निशाना नामक फिल्म निर्माण गरेका थिए । त्यसकारण उनी आफँैले फिल्म निर्माण गर्नु नौलो कुरा थिएन । तर, जब उनले भैरव निर्देशन गरे, त्यसपछि भने उनको निर्देशनको दम देखियो । अभिनय, नृत्यमा झैँ उनी निर्देशनमा समेत कमजोर साबित भए । त्यसपछि उनले भारतीय लगानीकर्ताकै सहायतामा कमिटमेन्ट ६० आवर निर्माण सुरु गरे । तर, त्यो फिल्म बीचमै अड्किएको छ । जानीफकारहरू उनको त्यो फिल्म पूरा नहुने दाबी गर्छन् । आफू अभिनीत पछिल्ला सबै फिल्म फ्लप भएपछि निखिल अचेल फुर्सदमा छन् ।

चक्लेटी हिरोको अभावलाई केही हदसम्म पूर्ति गर्ने प्रयास गरे, राजबल्लभले । पर्खी बसेँ फिल्मबाट लभर ब्वाईका रूपमा उदाएका उनले त्यसपछि थुप्रै फिल्ममा अभिनय गरे । तर, पहिलो फिल्मको जस्तो सफलता उनका अन्य फिल्मले पाएनन् । अन्ततः, छ एकान छ फिल्ममा भिलेन खेल्न पनि उनी पछि परेनन् । अंग्रेजी फिल्म हाइवे टु धम्पुसको सुटिङका क्रममा अमेरिका आउजाउ गरेका उनले आफ्नो कर्मथलो उतै बनाए । अमेरिकामै सेटल भएका उनी पुनः नेपाली फिल्ममा देखिन भने समय लाग्छ । तर, त्यो धेरै ढिला हुने देखिन्छ । उनले अमेरिकामै रहँदा अभिनय गरेको राघव नामक फिल्म हलमा आएन, सीधै युट्युबमा रिलिज गरियो ।

निखिलको व्यस्ततामा उदाएका विराज पनि एक समय एक्सन हिरोको रूपमा निकै चर्चित थिए । उनले आफू चल्दाचल्दै भोजपुरी फिल्म अभिनयमा दत्तचित्त भए । जब भोजपुरीमा उनको मार्केट खस्कियो, फेरि नेपाली फिल्म अभिनयमा व्यस्त हुने कोसिस गरे । उनलाई रोज राणाले जय पर्शुराम फिल्मबाट ‘कमब्याक’ त गराए । तर, फिल्मले व्यावसायिक सफलता हासिल गरेन । जसकारण विराज अचेल अब आफैँ फिल्म बनाउने ध्याउन्नमा लागेका छन् । उनले साङ्लो नामक फिल्म बनाउने तयारी गरेका छन् । तर, उनको फिल्म दर्शकमाझ कहिले आउँछ, त्यो भने यकिन छैन । 

होम प्रोडक्सनको माया नमार फिल्मबाट हिरोका रूपमा डेब्यु गरेका रमित ढुंगाना त्यसपछि केही वर्ष निकै चले । उनका अधिकांश फिल्म सफल भए । तर, उनको सफलताको स्वाद लामो समय रहेन । अन्ततः रमितका फिल्म लगातार फ्लप हुँदै गए । करिअर धर्मराएपछि उनी लागे, अमेरिकातिर । केही वर्ष अमेरिकामा हराएता पनि उनले बुद्ध बर्न इन नेपाल नामक फिल्म निर्माण गरेर च्यारिटी गर्दै हिँडेका छन् । वेलावेलामा नेपाल आउने गरेका रमितलाई नेपाली फिल्म उद्योगले कुशल अभिनेताका रूपमा स्मरण गर्ने गर्दछ । 

लभरब्वाई हिरोको आवश्यकता महसुस भइरहेको वेलामा छविराज ओझाले किस्मत फिल्मबाट आर्यन सिग्देललाई हिरोको रूपमा डेब्यु गराए । यद्यपि, उनले त्यसअघि केही टेलिसिरियल तथा भिडियो फिल्ममा अभिनय गरिसकेका थिए । आर्यनको ‘इन्ट्री’ धमाकेदार नै भयो भन्नुपर्छ । किस्मत सफल भयो । त्यसपछि उनलाई आफ्नो फिल्ममा लिन निर्माता, निर्देशक लालायित देखिए । किस्मतपछि हिफाजत, मेरो एउटा साथी छ, कोही मेरो, कसले चो¥यो मेरो मन, फ्ल्यासब्याक, सपनालगायत फिल्ममा आर्यनलाई राम्रै मन पराइयो । तर, जब उनले आफ्नै ब्यानर र लगानीमा फिल्म बनाउन थाले, त्यसपछि भने उनको स्टारडम खस्किएको देखिन्छ । उनले सुवास गिरीसँग मिलेर नोभेम्बर रेन र क्लासिक फिल्म निर्माण गरे । अधिक लगानीका कारण ती दुवै फिल्मले मुनाफा भने दिलाएनन् । त्यसकारण आर्यन निराश हुँदै गए । त्यसपछि उनी अभिनीत नाइके, माला, सुश्री, अलबिदा, आबेग र रुद्रप्रिया फिल्म फ्लप भए । गत वर्ष कायरा निर्माण गरेका आर्यनलाई सो फिल्मले पनि मुनाफा दिएन । 

नोभेम्बर रेनपछि उप्रान्त बाहिरी ब्यानरका फिल्म नगर्ने घोषणा गरेका आर्यन आफ्नो अडानमा लामो समय टिक्नै सकेनन् । उनी हाल विकास आचार्यको निर्देशनमा निर्माणाधीन हजार जुनीसम्म फिल्ममा अभिनयरत छन् । त्यसपछि उनी साम्तेन भुटियाको एक फिल्ममा अभिनय गर्ने तयारीमा छन् । 

आर्यनझैँ जीवन लुइँटेललाई पनि फिल्म उद्योगमा लभरब्वाई हिरोको रूपमा हेरियो । सन् २००२ का मिस्टर नेपाल जीवनले सानो संसार फिल्ममा छोटो भूमिका निर्वाह गरे । त्यसपछि उनी हिरोको रूपमा दीपशिखा फिल्ममा देखिए । जीवन अभिनीत नाइँ नभन्नू ल, रिदम, अन्दाज फिल्म मात्र सफल मानिन्छन् । फिल्मी करिअर धरमराउँदै गएपछि जीवनले अमेरिका पलायनको बाटो रोजे । परिवारसहित अमेरिका बस्ने गरेका जीवन पुनः अभिनयमा फर्किने सम्भावना न्यूनै देखिन्छ । किनभने उनी अभिनीत पछिल्ला फिल्म लगालग फ्लप भए । 

नीरज बराललाई पनि कुशल अभिनेताका रूपमा हेरिएको थियो । कुसुमे रुमाल–२ बाट हिरो बनेका नीरजले त्यसपछि ब्रेकफेल, थ्री लभर्स, स्टार, लभ फरएभरलगायत फिल्ममा अभिनय गरे । आफ्नै लगानीमा स्टुपिड मन नामक फिल्म पनि निर्माण गरे । तर, अन्ततः उनले पनि अमेरिकाको बाटो रोजे । आफ्नो समयमा चर्चा र सफलता कमाएका अधिकांश कलाकारले कालान्तरमा विदेश नै ताक्ने गरेको देखिन्छ । रमेश उप्रेती झन्डै एक दशक अमेरिका बसेर अहिले स्वदेशमै छन् । आफूले निर्माण गरेको ऐश्वर्य फिल्मले नाफा नदिएकाले उनी चिन्तित छन् । त्यसैगरी, दिलीप रायमाझी कहिलेकाहीँ स्वेदश आई फिल्म खेल्ने गरेका छन् । सुशील क्षेत्री अमेरिका उडेको पनि धेरै भयो । अमेरिकामा सेटल भएका हिरोइनमा कृष्टि मैनाली, जल शाह, यमुना उप्रेती, ऋचा घिमिरे, अरुणिमा लम्साललगायत पर्छन् ।