१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
जिम ओनिल
२०७५ माघ ६ आइतबार ०९:२१:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

कहाँ छन् चिनियाँ उपभोक्ता ?

Read Time : > 3 मिनेट
जिम ओनिल
२०७५ माघ ६ आइतबार ०९:२१:००

विश्व अर्थ :

विगतको दशकमा चीनको बढ्दो मध्यमवर्गीयको खर्च गर्ने क्षमता  वृद्धिले विश्व अर्थतन्त्र बढाउन इन्धनको काम गरेको छ । सन् २००८ को विश्वव्यापी वित्तीय संकटपछि चीन र अमेरिकाले आ–आफ्नो स्थान बदल्नुपथ्र्यो भन्ने मेरो तर्क छ । अमेरिकाले बचत धेरै र उपभोग कम गर्ने तथा चीनले भने यसको ठ्याक्कै उल्टो गर्ने । र, गत वर्षसम्म यही नै भइरहेको थियो । तर, अब परिस्थिति बेग्लै छ ।

गत हप्ता अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले आफ्ना सेयरधनीहरूलाई यो वर्ष पहिलो त्रैमासका आम्दानी प्रक्षेपण घटाइएको जानकारी समावेश गर्दै एक पत्र लेख्यो । एप्पलको आइफोन, आइम्याक र आइप्याडजस्ता उत्पादनको बिक्रीको सबैभन्दा महत्वपूर्ण बजार चीनको आर्थिक वृद्घिमा आएको सुस्तीका कारण आम्दानी प्रक्षेपण घटाइएको विवरण पत्रमा उल्लेख थियो । कम्पनीको आन्तरिक कारणले पो यस्तो परिवर्तन गरिएको हो कि भन्ने प्राविधिक औद्योगिक विश्लेषणहरूको तर्क रहेको थियो । यद्यपि, कम्पनीको नयाँ निर्देशिकाले पनि चिनियाँ उपभोग सुस्ताइरहेको प्रमाणलाई नै बल दिएको छ ।  

चीनको उपभोगमा आइरहेको कमी जारी रहनु हालको अमेरिका–चीन युद्धभन्दा पनि चिन्ताजनक विषय बनेको हो । चीनको आन्तरिक खर्चमा अमेरिकी व्यापार नीति र अन्य बाह्य तत्वहरूले खासै प्रभाव नपार्ने हुँदा उसको आर्थिक मोडलमा नै समस्या रहेको हुन सक्छ । 

अहिले के कुरा जोखिमयुक्त छ भन्ने कुरा बुझ्न, विगत दशकमा भएका सम्पूर्ण परिवर्तनलाई एकपटक हेर्न सकिन्छ । सन् २०१० को अन्त्यतिर चीनको घरेलु उपभोगले कुल गार्हस्थ उत्पादन (जिडिपी)को ३५ दशमलव ६ प्रतिशत हिस्सा ओगटेको चिनियाँ सरकारी तथ्यांकले देखाएको छ । यो अन्य अधिकांश अर्थतन्त्रको तुलनामा कम थियो । त्यतिवेला अमेरिकी उपभोगले जिडिपीको ७० प्रतिशत हिस्सा ओगटेको थियो । डलरमा आधारित रहेर भन्ने हो भने चीनको घरेलु उपभोग अमेरिका (१० दशमलव ५ ट्रिलियन डलर)को भन्दा झन्डै ५ गुणा कम अर्थात् २ दशमलव २ ट्रिलियन डलरमा समेटिएको थियो । 

तैपनि, चीनको समग्र वृद्धिदर उच्च नै रहनुको अर्थ के हो भने बिएमडब्ल्यू, बर्बरी, फोर्ड, एप्पललगायतका विश्वव्यापी ब्रान्डहरूलाई लाभ दिँदै चिनियाँ उपभोक्ताले अझै ठूलो भूमिका निर्वाह गर्न सक्ने सम्भावना छ । सन् २०१७ को कुरा गर्ने हो भने जिडिपीमा चिनियाँ उपभोगको हिस्सा ३९ दशमलव १ प्रतिशतमा उक्लिएको थियो । डलरका आधारमा यसको मूल्य ५ ट्रिलियन डलर हुन्छ । यो ७ वर्षको अवधिमा झन्डै ३ ट्रिलियन डलरबराबरको वृृद्घि हो । चिनियाँ उपभोक्ताको खर्च अमेरिकाको तुलनामा (सन् २०१७ मा १३ दशमलव ५ ट्रिलियन डलर) निकै पछाडि रहेको भए पनि अन्तर भने साँघुरिएको छ ।

यही आधारमा चीनको उपभोक्ता खर्च वृद्घि जारी रहने हो भने सन् २०२० सम्म खर्च अर्को २ ट्रिलियन डलरले बढ्छ । यो अमेरिकाको तुलनामा आधा मात्रै कम हो । त्यतिवेला चिनियाँ उपभोक्ता (अमेरिकीबाहेक) अन्य अरू उपभोक्ताभन्दा निकै महत्वपूर्ण हुन्छन् । 

सन् २०२१ देखि २०३० सम्मको अवधिलाई हेरौँ, वार्षिक ८ प्रतिशत वृद्धिदर (विगतको दशकमा १० प्रतिशत थियो) र जिडिपीमा उपभोगको हिस्सा थोरै बढेर ५० प्रतिशत पुग्छ भन्ने मान्ने हो भने चिनियाँ उपभोक्ताले सन् २०३० सम्म वार्षिक १८ दशमलव ४ ट्रिलियन डलरबराबरको खर्च गर्छन् । यस्तो परिप्रेक्ष्यमा चिनियाँ उपभोगले डलरका आधारमा अमेरिकालाई पनि उछिन्छ । 

तर, सन् २०१९ को सुरुवातमा रहेका हाम्रा लागि यदि यो परिदृश्यले काम गरेन भने विश्व अर्थतन्त्रमा यसले के अर्थ राख्छ त भन्नेचाहिँ महत्वपूर्ण प्रश्न हो । यदि एप्पलले हालै गरेको चिनियाँ उपभोग घट्छ भन्ने दृष्टिकोणलाई मान्दा, त्यसो भए के अमेरिकी उपभोक्ता अर्को दशकसम्म विश्व अर्थतन्त्रको एक्लो चालकका रूपमा रहन सक्लान् त ? यदि सक्दैनन् भने अन्य कुनै राष्ट्रले आधा मात्रै भए पनि यो भूमिका निभाउन सक्छ त ?

विगत ४० वर्षमा मैले अमेरिकाबारे कहिल्यै केही नलेखौँ भन्ने कुरा सिकेको छु । अमेरिकी उपभोक्ताहरू एक–अर्को तरिकाबाट अलग्गै रहन्छन् । मुद्रास्फीति, उच्च ऋणको लागत र अमेरिकी बचतमाथिको बढ्दो दबाबजस्ता केही तत्वका लागि उपभोक्ता खर्च संवेदनशील छ । यसबाहेक अमेरिकी उपभोक्तामाथि चाहिनेभन्दा बढी विश्वास गर्नु जोखिमयुक्त छ भन्ने कुरा अहिल्यै नै बुझ्नु राम्रो हुन्छ । नत्र सन् २००८ मा हामीले देखेकोजस्तो अवस्था आउन बेर लाग्दैन । त्यसवेला हाच्छिउँ अमेरिकाले मात्रै गरेको थियो, तर रुघा बाँकी सम्पूर्ण विश्वलाई लागेको थियो ।

कम्तीमा पनि अर्को दशकसम्म कुनै पनि राष्ट्र उपभोग बढाउनतिर लाग्छजस्तो देखिँदैन । ठूला विकसित अर्थतन्त्रको वृद्धि सुस्ताउँदै गइरहेको छ र उनीहरूको उपभोक्ता खर्चले अन्य राष्ट्रलाई कुनै पनि आधारमा मतलबको विषय बनेको छैन । 

भारत, इन्डोनेसिया र नाइजेरियाजस्ता उदीयमान अर्थतन्त्रहरूले पक्कै पनि आजको २० वर्षमा अमेरिका र चिनियाँ उपभोगमा आएको कमीलाई भरपाई गर्न सक्छन् । तर, आज र पक्कै पनि अर्को दशकसम्म चिनियाँ उपभोगसँग मेल खाने स्तरमा भने कोही पनि छैन । उता भारतको कुरा गर्ने हो भने सन् २०२० सम्म भारतको जिडिपी ३ ट्रिलियन डलर नाघ्दै विश्वको पाँचौँ ठूलो अर्थतन्त्र बन्छ । तर, चिनियाँ समकक्षीको खर्च गर्ने शक्तिको स्तरसम्म पुग्न भारतीय उपभोक्तालाई निकै समय लाग्छ । 

के चिनियाँ उपभोक्तालाई ब्युँताउन सकिन्छ ? म यसमा आशावादी छु । चिनियाँ नीति–निर्माताहरूले थप प्रत्यक्ष वित्तीय सहयोग दिनेबारे विचार गर्नुपर्छ । साथै हाल राष्ट्रको ग्रामीण क्षेत्रका कामदारलाई अधिकार दिन अस्वीकार गरेको होकुन (घर दर्ता) प्रणालीलाई सुधार गर्न आवश्यक छ । 

थप आर्थिक सुरक्षाको प्रत्याभूतिसहित राष्ट्रिय जनसंख्याको यो महत्वपूर्ण समूहले बढीभन्दा बढी बचत र कम उपभोग गर्न सक्छन् । पक्कै पनि यस्ता नीतिले चिनियाँ नेतृत्वमा अतिरिक्त माग थप्छ । तर, यिनीहरूविना भने हाम्रो अवस्था झनै खराब हुन्छ ।


गोल्डम्यान स्याक्स एसेट म्यानेजमेन्टका पूर्वअध्यक्ष र बेलायतका पूर्वअर्थमन्त्री जिम ओनिल चाथम हाउसका अध्यक्ष हुन् ।
कपिराइट : प्रोजेक्ट सिन्डिकेट, २०१९
(नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा)
www.project-syndicate.org